लेखनले सत्य, अनुभव र संवेदनालाई पाठकसम्म पुर्याउनु पर्दछ – साहित्यकार सङ्केत

सामान्य परिचय

१) नाम : केदार सुनुवार ‘सङ्केत’

२) जन्म मिति : माघ २०२६

३) जन्म स्थान : रस्नालु, रामेछाप

४) माता : नरमाया सुनुवार

५) पिता : चन्द्र सुनुवार

साहित्यकार केदार सुनुवार ‘सङ्केत’


६) परिवारमा आफू कुन सन्तान : माइलो

७) हालको ठेगाना : फ्रान्ब्रो, ह्याम्पसाएर, बेलायत

८) साहित्य लेखनको थालनी (वर्ष): २०४०

९) प्रकाशित पहिलो रचना, वर्ष र प्रत्रिका :पर्वते पत्रीका होङकोङ्, मधुपर्क

१०) शिक्षा : IA (राजनीति शास्त्र) & MBA

प्रकाशित कृति:

११) लेखन विधाहरू : कविता, हाइकु, यात्रा, आख्यान

१२) लेखन बाहेकको पेशाब्यवसाय : भूपू गोर्खाली, बेलायती सेना

१३) आबद्ध सङ्घ-संस्था-

.पूर्वमहासचिव : विश्व नेपाली साहित्य महासङ्घ

१. आफ्‌नो सैनिक जीवनको अनुभव, अनुभूतिहरू बताई दिनुहोस

मेरो जीवनको अत्यन्तै महत्त्वपूर्ण अध्याय हो ब्रिटिस आर्मीमा बिताएको समय । त्यो केवल एउटा पेसा मात्र थिएन, बरु अनुशासन, आत्म परिवर्तन, आर्थिक टेवा र जीवनलाई गहिरो रूपमा बुझ्ने एउटा कठोर विद्यालय थियो ।

सैनिक जीवनकै क्रममा म बोस्निया र अफगानिस्तानको युद्धमा समेत परेँ । विशेष गरी काबुल क्याम्पमा भएको आक्रमणको बेला हामीले करिब पाँच घण्टासम्म निरन्तर लडाइँ गर्‍यौँ । त्यो समय जीवनकै सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील क्षणहरू मध्ये एक थियो । हरेक सेकेन्ड अनिश्चितताले भरिएको थियो—जहाँ आफ्नो र साथीहरूको ज्यान जोगाउनु नै प्रमुख कर्तव्य थियो । त्यही क्रममा हामीले करिब ५०० जना अमेरिकी गैर-नागरिकहरूको ज्यान जोगाउन सफल भयौँ । त्यो अनुभवले मेरो मनमा साहस, जिम्मेवारी र मानवताको गहिरो अर्थ सदाको लागि अङ्कित गरिदियो ।

त्यसै गरी, म दुई पटक बोस्निया पनि गएको थिएँ । त्यहाँको युद्धपछिको अवस्थालाई नजिकबाट देख्दा विनाश, पीडा र पुनर्निर्माणको गहिरो अनुभूति भयो । ती दृश्यहरूले मनमा गहिरो छाप छोडे

र मानवताको संवेदनशील पक्षलाई अझ नजिकबाट महसुस गरायो त्यसैको कारन्ले मैले मेरो कथा सङ्ग्रह “अन्तिम साँझ” पनि प्रकासन् मा ल्याए ।
विदेशी भूमिमा विभिन्न मानिसहरूसँग काम गर्दा मैले मानवताको साझा स्वरूप बुझ्ने अवसर पाएँ । सैनिक जीवनले मलाई अनुशासन, धैर्यता र कठिन परिस्थितिमा पनि अडिग रहन सिकायो ।

यिनै अनुभवहरू नै पछि मेरो लेखनको मूल आधार बने । युद्ध, एक्लोपन, सम्झना र सङ्घर्षका ती पलहरू आज पनि मेरा सिर्जनामा प्रतिध्वनि भइरहेका छन् । लेख्न अझै बाँकी नै छ ।

२. साहित्यमा कहिले देखि कलम चलाउन थाल्नु भएको हो ?

साहित्यप्रतिको मेरो रुचि बाल्यकालदेखि नै सुरु भएको हो । म जिरीमा अध्ययन गरिरहेको समयदेखि नै शब्दहरूसँग खेल्न, साना–साना रचना लेख्न रुचि राख्थेँ । त्यो बेला लेखन केवल एक भावनात्मक अभिव्यक्ति जस्तो थियो—मनमा जे उठ्थ्यो, त्यसलाई कागजमा उतार्ने प्रयास गर्थेँ । खिम्तिखोलाको किनारमा सेतो बगर देख्दा मैले पहिलो कविता लेखेको हुँ ।

पछि कलेजमा आएपछि मैले साहित्यलाई नै अध्ययनको विषयको रूपमा रोजेँ । त्यसले मेरो लेखनलाई अझ दिशा, गहिराइ र परिपक्वता दियो । साहित्यलाई औपचारिक रूपमा पढ्दा भाषा, शैली, संरचना र भाव प्रवाहप्रति बुझाइ फराकिलो हुँदै गयो, जसले मेरो सिर्जनात्मक यात्रालाई अझ मजबुत बनायो ।

यसरी हेर्दा, जिरीमा पढ्दै गर्दा सुरु भएको मेरो लेखन यात्रा कलेजसम्म आइपुग्दा एक सचेत र प्रतिबद्ध साहित्यिक यात्रामा रूपान्तरण भयो । पछि भर्ती भई सकेपछि पल्टन घरमा पुगेर अझै कविता लेखनमा बढी कलम चलाए । ब्रिगेड अफ् गोर्खाजमा निस्कने ‘पर्वते’ नामक पत्रिकामा अरू धेरै लेखे ।

३. नेपाली साहित्य तथा सुनुवारी साहित्यमा प्रकाशित तपाईको कृतिहरू कुन कुन हुन ?

मेरो लेखन यात्रा विविध विधामा फैलिएको छ । नेपाली साहित्यतर्फ मैले विशेष गरी कथा, उपन्यास र कवितामा कलम चलाएको छु । मेरो प्रमुख कृतिहरूमध्ये “एथेन्सको झरी” र “अफगान रणमैदान : आत्मपरक उपन्यास” विशेष रूपमा उल्लेखनीय छ, जुन मेरो आफ्नै सैनिक जीवन र युद्धका अनुभवमा आधारित छ । यस कृतिले युद्ध, मानवता र जीवनसंघर्षका यथार्थ पक्षहरूलाई उजागर गर्ने प्रयास गरेको छ भने एथेन्सको झरीले, मेरो यात्रा अनुभवलाई उजागर गरेको छ।

त्यसै गरी, मैले विभिन्न कथा, कविता र संस्मरणहरू पनि लेख्दै आएको छु, जसमा आप्रवासी जीवन, पहिचान, संस्कृति र भावनात्मक द्वन्द्व प्रमुख विषयका रूपमा आएका छन् ।

सुनुवारी साहित्यतर्फ पनि मेरो चासो उत्तिकै रहेको छ । आफ्नो मातृभाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मैले कोइँच सुनुवार समुदायसँग सम्बन्धित कथा, मिथक, सांस्कृतिक पक्षहरूलाई लेखनमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु । यो क्षेत्रमा मेरा केही रचनाहरू प्रकाशित भएका छन् र केही अनुसन्धानमूलक सामग्रीहरू सङ्कलन गर्ने काम पनि जारी छ ।
समग्रमा, मेरो लेखन नेपाली भाषा र सुनुवारी पहिचान दुवैलाई जोड्ने एउटा सेतु बन्ने प्रयास हो ।

‘ताँ गो तेकेरे नुङ’ – कोइँच भाषाको कविता सङ्ग्रह वि.स २०७३ प्रकाशित कृति हो ।

४. साहित्यकारको हैसियतले सुनुवारी भाषा तथा साहित्यको विकास गर्नको लागि के के गर्न आवश्यक छ?

सुनुवारी भाषा र साहित्य हाम्रो मौलिक पहिचानसँग गहिरो रूपमा जोडिएको विषय हो । व्यक्तिगत रूपमा म यस भाषालाई बुझ्न सक्छु, तर धाराप्रवाह रूपमा बोल्न भने अझै सिक्दै छु । यही कारणले पनि मलाई आफ्नो भाषा र संस्कृतिप्रति अझ जिम्मेवार बन्ने प्रेरणा मिलिरहेको छ ।

भाषा जोगाउने सबैभन्दा प्रभावकारी माध्यम भनेको त्यसलाई प्रयोगमा ल्याउनु र नयाँ पुस्तासम्म पुर्‍याउनु हो भन्ने मलाई लाग्छ । त्यसैले, सिक्ने प्रक्रियासँगै म सुनुवारी भाषा र साहित्यलाई लेखनमार्फत जोगाउन र प्रवर्द्धन गर्न सानो प्रयास गरिरहेको छु ।

आगामी दिनहरूमा यस भाषामा अझ दक्षता हासिल गर्दै, सुनुवारी साहित्यलाई समृद्ध बनाउने दिशामा निरन्तर योगदान दिने मेरो प्रतिबद्धता रहनेछ । अहिले म लगायत अरु धेरै कोइँच सुनुवारहरू बेलायतमा हुँदा पनि उत्तिकै लागि परेका छौँ । भर्खरै प्लेँ:काश भन्ने स्मारिका पनि प्रकाशित गर्‍यौ जहाँ तपाईँको पनि लेख समावेश छदै छ ।

५. सुनुवार जातिको भाषा, साहित्य, कलामा संरक्षण गर्नको लागि नयाँ पिँडीलाई केही सल्लाह दिनु हुन्छ कि ?

सुनुवार भाषा र साहित्यलाई जोगाउनका लागि केही महत्त्वपूर्ण कदम चाल्नुपर्छ । पहिलो, भाषा र संस्कृतिसँग सम्बन्धित कृतिहरू सङ्कलन गरी प्रकाशित गर्नु पर्छ । आधुनिक युगका आवश्यकता अनुसार मोबाइल एप्स, डिजिटल प्लेटफर्म र अन्य प्रविधिहरूको उपयोग गरेर भाषा सिकाउने र प्रचार गर्ने उपाय गर्न जरुरी छ । मुख्य कुरा त हाम्रो राम्रो लिखित इतिहास छैन त्यो पनि लेख्नु पर्ने देखेको छु ।

विदेशमा बसोबास गर्ने सुनुवारहरूलाई पनि आफ्नै भाषा र संस्कृतिसँग जोड्ने प्रयास गर्नु पर्छ । साथै, यसका लागि अभियान र कार्यक्रमहरू चलाउनुपर्छ, जसले समुदायलाई सक्रिय बनाउँछ ।

नयाँ पुस्तालाई म सल्लाह दिन चाहन्छु कि उनीहरूले सुनुवार भाषा र साहित्यमा सक्रिय रूपमा लाग्नुपर्छ । यो केवल परम्पराको संरक्षण मात्र नभएर आफ्नै पहिचानको मजबुरी पनि हो । नयाँ पुस्ताले योगदान दिनु आवश्यक छ, किनभने भाषा र संस्कृति मरेको होइन, जोगाउने हामी युवा पुस्ता हौँ । सुरुवात घरकै अभिवाकले सिकाउनु जरुरी छ ।

६. अब प्रकाशित हुने क्रममा केही छ कि ?

• “कम्पनी” नामक युद्ध महाकाव्य सैनिक जीवन र युद्धका अनुभवमा आधारित महाकाव्य ।

• बेलायतमा नेपालीहरूको जीवन र संघर्षसम्बन्धी उपन्यास – जुन ब्रिटिस आर्मी अनुभव र आप्रवासी जीवनको कथा समेटिएको ।

साथै, नयाँ कृति पनि तयार हुँदै छ र यत्रा (संस्मरण वा यात्रा सम्बन्धी रचना) छिट्टै प्रकाशित हुने क्रममा छ । यसले मेरो अनुभव, संस्कृति र मानवता सम्बन्धी सोचलाई पाठकसम्म पुर्‍याउने लक्ष राखेको छ ।

७. तपाईँका प्रकाशित कृतिहरू के के हुन अनि पाएका पुरस्कार र सम्मान पनि बताई दिनु हुन्छ कि ?

मेरो लेखन यात्रा कवितादेखि उपन्यास, हाइकु, यात्रा संस्मरण र आत्मपरक आख्यानसम्म फैलिएको छ । प्रमुख प्रकाशित कृतिहरू यस प्रकार छन्:

प्रकाशित कृतिहरू:

1. आफैँ जलेको देश – कविता सङ्ग्रह (वि ।स । २०६४ सन् २००८)

2. एथेन्सको झरी – नियात्रा (वि ।स । २०६७ सन् २०१०)

3. पैयुँका फूलहरू – हाइकु सङ्ग्रह (वि ।स । २०६८)

4. सङ्केतका कविताहरू – कविता सङ्ग्रह (वि ।स । २०६८ सन् २०११)

5. अफिम फुल्ने देशमा – खण्डकाव्य (वि ।स । २०७० सुपृम पुरस्कार सन् २०१३)

6. ताँ गो तेकेरे नुङ – कोइँच भाषाको कविता सङ्ग्रह (वि ।स । २०७३ सन् २०१६)

7. बुद्ध ल्यान्ड टु स्विजरल्यान्ड – यात्रा संस्मरण (वि ।स । २०७५ सन् २०१६)

8. यात्रा स्पर्श – (सम्पादन, वि ।स । २०६९ सन् २०१२)

9. अफगानी रणमैदान – आत्मपरक आख्यान (वि.स. २०७८ सन् २०२१)

10. अन्तिम साँझ – कथा सङ्ग्रह (वि ।स । २०८२ सन् २०२५)

शैक्षिक अनुसन्धानमा समावेश:

• एथेन्सको झरी – बिएड कोर्स, विश्व मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत

• पैयुँका फूलहरू – MA थेसिसशोधपत्र, २०११

प्राप्त पुरस्कार र सम्मानहरू:

१. एथेन्सको झरी – सर्वोत्कृष्ट जनकपुर अञ्चल पुस्तक (अनेसास स् ठाकुर प्रसाद रेग्मी पुरस्कार, उस, २०१२)

२. यात्रा स्पर्श – जैमली साहित्य डायस्पोरा पुरस्कार, नेपाल, २०१२

३. अफिम फुल्ने देशमा – सुपृम पुरस्कार, UK, २०१८

४. रजत वर्ष अभिनन्दन पत्र तथा पदक, नेपाली साहित्य परिषद्, UK, २०२०

५. वनिता विशेष वसु श्री–मधु पुरस्कार, नेपाल, २०२०

६. युद्ध साहित्य पुरस्कार, अफगानी रणमैदानका आख्यानका लागि, २०२२

आगामी कृतिहरू:

• कम्पनी माला – महाकाव्य

• अङ्ग्रेजीमा कविताहरू

साथै, म २०१० देखि यात्रा साहित्य र प्रवर्द्धनको अभियान “यात्रा स्पर्श” मार्फत निरन्तर सक्रिय छु ।

८. मैले सोध्न भूलेको केही भए बताउनु हुन्छ कि ?

साहित्यमा जति लाग्न सक्छु, त्यति नै लाग्ने प्रयास गर्छु । भाषा र लेखनमा पनि उस्तै—जसमा मेरो अनुभव र जागर भरिएको छ, त्यसैमा कलम चलाउँछु । जानकार छैन वा अनभिज्ञ छु भन्ने कुरामा कहिल्यै अड्किन चाहन्न; जान्ने कुरा मात्र लेख्छु, अनि अझ नजान्ने वा सिक्न बाँकी कुरालाई बुझाउन प्रयास गर्छु ।

मेरो मूल उद्देश्य यही हो कि लेखनले सत्य, अनुभव र संवेदनालाई पाठकसम्म पुर्‍याओस् ।

अन्तर्वार्ता दिने अवसर दिनुभएकोमा तपाइलाई हार्दिक धन्यवाद । पाठकसम्म मेरो अनुभव, भाषा र साहित्यको सन्देश पुर्‍याउने यो अवसरको लागि म अत्यन्तै कृतज्ञ छु ।

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *