एभिएसन-अर्जुन दुङ्मेन
जतिनै तन बुढो भएपनि मन बुढो नहुने । बल र बैँस आउँछ, जान्छ । खहरेको भेल जस्तो । जब सागरमा पुगेर थुरिन्छ । सायद जीवनको अन्त्य त्यसैगरी हुन्छ । जवानीको सबै भोगाइ सम्झन्छु । देशविदेशको यात्रा सम्झनाका पानास्वरूप पल्टन्छन् । अन्ततः बुढेसकालको बेला एकपटक बैङ्कक भ्रमण गर्न सोचेँ ।
हप्तादिनको भ्रमण गरेर फर्कँदै थिएँ । बेलुकी आफ्नो बिरानो नचिन्ने बेला थियो । सूर्यले डाँडा काट्दै थियो । कसरी चाँडो घर पुगूँला भन्ने धावा थियो मलाई ।, ‘बस आइपुग्ला । त्यसपछि चढ्छु । दुईचार पाइला अगाडि हिँड्दै गर्नुपर्ला ।’ यही साँेच्दै टुकुटुकु पैदल हिँडिरहेको थिएँ । काठमाण्डु रिङरोडको बाटो । एयरपोर्टदेखि तिनकुने बिचको । मैले पुग्नुपर्ने गन्तव्य ललितपुरको खरिबोटसम्म ।
पछाडिबाट सुनौलो रङको मारुती कार आयो । मेरो छेउमा टक्क अडियो । कार भित्रबाट एक युवकले सोध्यो,‘अङ्कल, हजुर आज बैङ्ककबाट थाई एयरवेजमा नेपाल आउनु भा’हो ?’ अङ्कल भनि सम्मानित शब्द सम्बोधनले मलाई मख्ख तुल्यायो ।आजाज सुन्ने बित्तिकै म टक्क अडिएँ । हेरेँ र भनेँ, ‘हजुर, हो बाबु ! अँ, तर म त बुढो मान्छे । बाबुलाई मैले राम्ररी चित्र सकिनँ !’ मेरो प्रश्नको प्रतिउत्तर दिदैं युवकले भन्यो, ‘अङ्कल, म अहिलेको ठिटो । हजुर बुढो मान्छे । चित्र पनि कसरी ! हजुर सवार हुनु भएकै विमानको चालक थिएँ । विमान चालक हुँ । मैले त्यही विमान भित्र हजुर सवार हुनु भएको पत्तो पाएकोे थिएँ । रात परिसक्यो । लौ बरु बस्नुस् । कहाँसम्म पुग्नुपर्ने हो ? म पु¥याइदिन्छु ।’
मारुतीमा चढेँ । मलाई खुल्दुली लाग्यो । सोधेँ, ‘बाबुको घर चाहिँ कहाँ हो त ?’ यो प्रश्नले गर्दा ऊ अलमल्ल प¥यो । मारुती ड्राइभर युवकको मनमा यसै भनूँ भन्ने झट्ट उत्तर आएन । एकछिन पुलुक्क हे¥यो र भन्यो, ‘मेरो घर कोटेश्वर । महादेवस्थान मन्दिर नजिकै । त्यही बाटो जाऔँ न त ! हुन्छ अङ्कल ? हाम्रो घरमा एकछिन बसौँ । अनि म हजुरलाई पु¥याइदिन्छु ।’
मलाई लाग्यो, ‘यो कलियुगमा पनि को हो यस्तो मान्छे ! सहयोगी भावनाको युवक रहेछ । नत्र अहिलेका लाठेहरूले म जस्तो बुढोलाई कहाँ गन्छन् र ! त्यही पनि ठूलो विमान चालक । ठिकै छ उसको घरको बाटो जानुपर्ला । घर हेरेर पनि जान्छु भन्ने सोँच आयो । सहमति जनाएँ,‘हुन्छ, हवस् बाबु ।’
एकैछिनमा घर पुगेर मारुती पार्किङ् ग¥यो । आउनुस् अङ्कल भन्दै अघिअघि हिँड्यो । म पछिपछि हिँडे । घरको दोस्रो तलामा पु¥याएर पाहुना कोठामा बस्न भनी अनुरोध ग¥यो । भित्र कोठाबाट एकजना वृद्ध महिला निस्किइन् ।
अहो ! मनकुमार दाइ ! नमस्कार है । प्रणाम गरिन् । मैल पनि झट्ट याद गरिहालेँ । उनी त आरती हुन् ।
आरती नजिकैको सोफामा टुसुक्क बसिन् । निकै चाख लिएर मेरो बारेमा सोधिन् । ‘अन्दाजी तिन दशक जति लामो समयपछाडि भेट भयो । हालखबर सुनाउनुस् न त ।’
जवाफमा भनेँ,‘आरती बहिनी, मलेसियामा ठूलो समूहमा नेपालीहरूको बसोबास छ । जहाँ नेपालीहरू परापूर्वकालदेखि गोर्खाली भनेर मलायाको भर्ती हुने गर्थे । उनीहरूलाई हामी मलायाको लाहुरे भन्ने गर्छौँ । मैले नेपाल छाडेको सुन्नुभएकै होला । धेरै पहिले सबै परिवार लिएर म पनि त्यही मलायातिर बसाई सरेको थिएँ । ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसि ।’ जहाँ गएपनि आफ्नो जन्मभूमि र जन्मदिने आमा कर्णप्रिय हुँदो रहेछ । उमेर हुञ्जेल ठिकै लाग्थ्यो । जबजब उमेरले डाँडा काट्दै गयो । मन पनि फिटिक्कै अडिएन । हाल फेरी नेपाल आएको डेढवर्ष जति हुँदैछ ।’
‘तपाईंको छोरो एभिएसन ? अहिले कता छ ऊ? के गर्दैछ ? मैले पनि एकैपटक सोधेँ ।’आरतीले भनिन्, ‘अहिले तपाईलाई ल्याउने उही हो त, अभिएसन !’
म झसङ्गै भएँ । यही युवक पो रहेछ– एभिएसन ! भगवान्ले पनि जो कसैलाई कुनैबेला चोटदिन्छ । कुनैबेला दया र धर्म पनि गर्दोरहेछ । आरोग्यले आफ्नो सुम्निमा जस्ती श्रीमतीलाई यो दुनियाँबाट सदाको लागि छाडेर गयो । जुनबेला खाऊँखाऊँ, लाऊँलाऊँ भत्रे उमेर थियो । त्यो बेलामा यही एभिएसन निर्दोष बालक थियो । च्याँच्याँ रोइरहेथ्यो । अहिले स्वर्गमा रहेको उसको बाबा आरोग्यको पनि सपना पूरा भएछ ।
आरतीले केही थप कुरा भनिन्, ‘एभिएसनको बाबासँग हामीले चाहना गरेका थियौँ । कल्पना गरेका थियाँै । एभिएसनलाई पाइलट बनाउनुपर्छ । त्यतिखेर एभिएसन गर्भमा मात्र थियो । आज त्यो सपना पूरा भयो । हाम्रो पवित्र प्रेम पूरा गर्नको लागि मैले छोरालाई कुनै हालतमा पाइलट बनाएरै छाड्नु थियो ।’
मेरो हर्षले सीमा नाघ्यो । मलाई सुरुदेखिको कहानी एभिएसनलाई सुनाउन मन लाग्यो । आरतीले छोरा एभिएसनलाई त्यही पाहुना कोठामा बोलाइन् । सम्झना रहेसम्मका कथा यसरी सुनाएँ—
कुरा लगभग तिसवर्ष अगाडिको हो । साँझ पर्दै थियो । घाम अस्ताउन केही समय मात्रै बाँकी थियो । त्यो बेलुकी आरोग्यसँग हामीले भेट गर्ने कुरा दिउँसै पक्का गरेका थियौँ । हामी अत्यन्तै मिल्ने साथी–साथी । म मेरो व्यक्तिगत कामहरूले भरदिन पुरै व्यस्त भएँ । बेलुकीपख भाडाको गाडी चढेर नयाँ बानेश्वर चोकमा पुगँे । त्यही चोकमा भेट गर्ने निर्णय गरेका थियौँ । आरोग्यले मलाई पर्खिरहेको थियो। मेरो उपस्थितिले आरोग्य साह्रै खुसी भयो र म पनि । पाँचदश मिनेट जति सँगै उभिएर गफ ग¥यौँ । आरोग्य पहिल्यैदेखि अली जङ्गी स्वभावको मान्छे । ज्यान पनि परेको । अझै ऊ इराकी लाहुरे । भत्राले, बाह्रपन्ध्र दिन मात्रै भएको थियो । तिनवर्ष जति इराकमा काम गरेर नेपाल फर्केको । अफिसभित्रै इन्डोर वर्कर भएको हुनाले निकै गोरो भाथ्यो । हाँसेर मात्रै आफ्ना कुराहरू अघि बढाउने । बेला बेलामा दिल्लगी गर्ने उसको बानी मज्जाको । मनमा पाप हुँदैनथ्यो ऊसँग । सबैकुरा, आफ्नो सुखदुःखको भोगाइहरू दिल खोलेर गफ गरिरहेको थियो । हामीलाई दिनले बिदाइगर्दै रातले स्वागत गरिरहेथ्यो । समयचक्रलाई पनि ध्यानदिएर हामी बसोबास कोठातर्फ लाग्यौँ । काठमाण्डु प्रायः जसो उद्धेश्य प्राप्तिको निम्ति हाम्रो कर्मथलो जस्तो मात्र हो । हामी जन्मेको, हुर्केको ठाउँ काठमाण्डु होइन । हाम्रो घर पूर्वी पहाडी जिल्ला खोटांङ । नेपाली भूभागको पहाडी जिल्ला मध्येको एक सुन्दर ठाउँ । ग्रामीण इलाका भएपनि तिनवटा हवाईमार्ग भएको जिल्ला हो । जुन हाम्रो मातृजिल्ला । उत्तिखेर मैले पनि वैदेसिक जीवन निकै लामो समय बिताएर नेपाल फेर्केको थिएँ । आरोग्यले पनि । घर बसेको केही महिना भएको थियो । म गाउँबाट शहर काठमाण्डु पसेको ५÷६ महिना मात्र भएको थियो ।
कुरैकुरामा एकदिन आरोग्यले दिल्लगी गर्दै भन्यो, ‘मलाई घरमा पनि बिहे गर् भनेर औधी कर गरिरहनु भा’छ । अब त उमेरले पनि डाँडा काट्दैछ । के गर्ने होला? कोसँग बिहे गर्ने ? कोही व्यावहारिक र परिपक्व केटी हे¥या छैनौ ?’
मैले यसो सम्झेँ । जुन अफिसमा मेरो आफ्नै काम लिएर बेला बेलामा जाने गर्थेँ । सोही अफिसमा कार्यरत थिइन् एक मिजासिली युवती । पढेलेखेकी पनि छन् । रूपरङ र बानी व्यवहारमा पनि उपयुक्त छन् । उनीहरूको जोडी पक्कै पनि सुहाउँदिलो हुन्छ । यिनै कुराहरूलाई मनमा खेलाउँदै आरोग्यलाई भनेँ, ‘आरोग्य ! तिमी साँच्चै बिहे गर्छौ त ? साँच्चै कुरा गरेका हौ भने, मैले चिनेको एकजना साथी छन् । उनीसँग आजै भेटघाट गराइदिन्छु । आ–आफ्ना कुराहरू प्रत्यक्ष राखेर भविष्यको बारेमा निर्णय तिमीहरूले नै गर्नू ! हुन्छ ?’
तुरुन्तै आरोग्यले सोध्यो, ‘उनको घर कहाँ हो त ! नाम के हो ?’
मैले भनँे, ‘उनको घर पल्लो किराँत क्षेत्र । सुन्दर पहाडी जिल्लामा पर्छ । नाम ‘आरती’ ।’
यति कुरा गरेपछि आरोग्यलाई कामकुरा अगाडि बढाआँै जस्तो लाग्यो । उसको हाउभाउ र क्रियाकलापले त्यस्तै बताइरहेथ्यो ।यसपछि मैले आरोग्यलाई आरतीको अफिसमा नै पु¥याएर दुबैजनालाई चिनजान गराएँ । मनमनै आरोग्य र आरतीको जीवन सुरुवातको कामना गरेँ । त्यसपछि दुबैसँग बिदा लिएर आफ्नो बाटो लागेँ ।
केही दिनपछि मेरो ज्याकेटको गोजीमा मोबाइल फोनको घण्टी बज्यो । आरोग्यले सम्पर्क गर्न खोजिरहेको थियो । मैले फोन उठाएँ ।
‘हेल्लो मनकुमार, तिमी कहाँ छौ ? तिमीसँग मेरो महङ्खवपूर्ण कार्यमा सहयोगको आशा राखेको छु । एकछिन मेरो कोठामा आऊ न ल ?’ फोनमा यसैगरी अनुरोधात्मक कुरा ग¥यो ।
जुँघा चल्यो कुरा बुझ्यो भनेभैmँ कुरा त उही होला भन्ठानेँ । म आरोग्यको कोठा पुगँे । आरोग्य र आरती दुबैले आफ्ना कुराहरू आपसमा मिलाएछन् । के गर्ने भन्ने सोँचमा दुबैजना घोरिरहेका थिए । पुरुष जातिभन्दा महिला जाति स्वभावैले लजालु हुन्छन् यो अर्थमा । आरती निकै लजाइन् ।
‘के भयो त आरोग्य ? के छ विचार तिमीहरूको ?मैले अब के सहयोग गर्नुपर्ने भयो ?’, मैले नै सोधेँ ।
आरोग्यले भन्यो, ‘मनकुमार ! हाम्रो सबै विचारमा सहमत भइसक्यो । आरतीले उनको घरमा हामीबिच भएको सबै कुरा राख्नेछन् । मेरोबारे घरमा म सबै कुराहरूको बन्दोबस्त मिलाउनेछु । तर मनकुमार,, यहाँ केही अप्ठ्यारो परिस्थितिहरू खडा भए । पहिले पुरानो युगमा बुढापाकाले हेरिदिएको केटा वा केटीसँग विवाह गर्नुपथ्र्यो । आमा बुवाकै रोजाइमा बिहे गर्नुपथ्र्याे । आरती र मैले पुरानो मान्यतालाई तोड्दै आफ्नै रोजाइमा बिहे गर्ने सोच बनायौँ । बिहे हामीले हाम्रो जीवन बिताउनको लागि गर्ने हाँै । बुढापाका, आमाबुवा वा अरु कसैको लागि होइन । हामीले उहाँहरूको करमा बिहे गर्दा हाम्रो जिन्दगी सफल नहुन पनि सक्छ । तर घरपरिवार, आमाबुवा र गाउँ समाजको मान्यतालाई पनि कदर गर्नु छ । हामी दुबैजना किराँती समुदायका युवायुवती भएतापनि आरती लिम्बू समुदायकी चेली रहिछन् र म किराँत राई । अहिलेसम्म राई र लिम्बूको मागी बिहेको चलन बाहिर आइसकेको छैन । हामी दुबैजना औपचारिक बिहे नै गर्न चाहन्छौँ । त्यसैले अब, कन्याको हात माग्न कलिया जाने र बुढापाकाको भूमिका तिमीले नै निभाइदिनुपर्छ मनकुमार !’
यति भन्दै भावुक भएर साथी आरोग्यले मलाई सहयोगको बिन्ती चढायो । मैले पनि हुन्न, म सक्दिनँ त कहाँ भन्न सक्थँेर ! आरतीले पनि मधुर मुसुमुसु हाँसोको साथमा जिस्किँदै अनुरोध गरिन्, ‘मनकुमार दाइ ! यो काम गर्न हामीलाई सहयोग गर्नुस् । म पनि तपाईको बिहेमा जाँड छान्न सघाउन आउछु नि !’
दुबैजनाको वचनलाई काट्न नसकेर मैले त्यो जिम्मेवारी पूरा गरेँ । विवाह हर्षोल्लासमय तरिकाले सुसम्पन्न भयो । आरोग्य र आरतीको नयाँ जीवन सुरु भयो । दुबैको जोडीमा कसैले खोट लगाउने ठाउँ नै थिएन । रूपरङ, पढाइलेखाइ उस्तैउस्तै । दुबैशारीरिक र मानसिक रूपमा परिपक्व थिए । दुबैजनाको मायालाई कसैले सोच्नसम्म सकिँदैनथ्यो । त्यति धेरै गहिराइमा डुबेर एकअर्कालाई माया गरागर गर्थे ।
जति नै मनमा मायाप्रेम भएतापनि के गर्ने ? हाम्रो मुलुकमा बेरोजगारीको समस्या सत्य युगदेखि नै थियो होला सायद । महङ्गी बढी आकासिएर गएको थियो । वैदेसिक रोजगारको सिलसिलामा आरोग्य आफ्नो केही समय नबित्दै फेरि युद्धग्रष्त देश अफगानिस्तानतिर हान्निएछ । पहिले पनि इराक गएर फर्केको थियो । त्यहाँ हुने बम बिष्फोटनको कुरा डरलाग्दो गरी सुनाउँथ्यो । फेरि त्यस्तै ठाउँ गएछ । निक्कै पहिले कहीँकतै आकाशतिर ठोक्किन लागेका घरहरू देखिन्थे । यो कसको घर होला भनी सोध्दा, ‘बेलायती सेनाको घर हो ।’ भनेर भन्थे । त्यतिखेर कहीँकतै सोध्दा, ‘इराकी लाहुरेको या त अफगानी लाहुरेको हो ।’, भन्ने चलन थपिएको थियो । कमाइको हिसाबले अन्य मुलुकको तुलनामा इराक र अफगानिस्तानमा राम्रै हुँदोरहेछ । हुन त कतिपयलाई लोभले लाभ र लाभले विलाप पनि बनाएको थियो । जेहोस्, जस्तो जेजे आइपरे पनि भोग्नैपर्ने हामी मान्छेले । आरोग्य यसरी रोजगारीको सिलसिलामा विदेशतिर लागेछ । यति मिलनसार साथीसँगभेट नभएको लगभग १८÷२० महिना जति भइसकेको थियो ! आरोग्य कता गयो, के गर्दैहोला ! घरजम गरेपछि घरायसी कामकुरामा नै व्यस्त होला भन्ने सोचेको थिएँ । अकस्मात् एकदिन एउटा ईमेल–पत्र मेरो ‘इनबक्स’मा आएको देखेँ । करिब डेढ महिना अगाडितिर नै पठाएको रहेछ । हतार–हतार खोलेर हेरिहाल्न मन लाग्यो । सरसर्ती पढेँ—
From : स्आरोग्य
To: स्मनकुमार
Subject : स्धेरै–धेरै सम्झना !
मित्र मनकुमार,
गुड्मर्निङ । सेवा, सेवारो ।
विशेष आराम रही सोही कामना ।
समयको गतिसँगै हामीले हाम्रो जिन्दगीको गति अगाडि बढाउनुपर्ने रहेछ । त्यसैले होला सायद तिम्रो र मेरो भेट नभएको पनि यति लामो समय भइसक्यो । तिमीले गरेको सहयोग र सद्भावलाई कहिल्यै भुल्ने छुइनँ । हाल म गिन्दगीलाई जिउने आधार तयार गर्ने क्रममा सङ्घर्ष गर्दै अफगानिस्तानको दक्षिणी अमेरिकी वेसक्याम्पमा छु । युद्धरत देश हो । खतरा भने धेरै नै छ । केहीदिन अघि मात्रै अफगानिस्तान र पाकिस्तानको सिमावर्ती क्षेत्रमा अपरेसनमा रहेको अमेरिकी सैनिकको हेलिकोप्टरलाई तालिवानीहरूले आक्रमण गर्दा ठाउँको ठाउँ खसाइदिए । जुन हेलिकोप्टरमा एकतिस जनाको ज्यान गएको थियो । जसमध्ये नौजना हाम्रा नेपाली साथीहरूले पनि जीवन गुमाउनुप¥यो । हिजो पनि मैले काम गर्ने अफिसभन्दा करिब पाँच सय मिटर जति टाढा रहेको एउटा ब्लकमा लञ्चर खस्दा चारजना नेपालीसहित सयौँको सङ्ख्यामा युरोपियन र अमेरिकन मरे । यस्तै घटनाहरू घटिरहन्छ ।
यस्तो दुःखका कुराहरू मात्रै कति गरिरहनू ! तिमीसँग धेरै खुसीका कुराहरू पनि गर्नु छ । मनकुमार ! थाहा छ तिमीलाई, मेरो छोरा पनि अब त ताते गर्ने बेला भइसक्यो रे । हरेक बाबा आमाले आफ्नो सन्तान जन्माउनुभन्दा पूर्वयोजना गर्नुपर्ने हुन्छ । आरती र मैलेपनि चाहे छोरा होस्, चाहे छोरी । तर, एकजना मात्रै सन्तान जन्माउने । छोरी भए डाक्टर बनाउने र छोरा भए पाइलट बनाउने । यो हाम्रो पूर्वयोजनामा जन्माएको छोरा हो । उसको नाम ‘एभिएसन’ । आरती र मेरो मायाको चिनोस्वरूप पाएको हाम्रो मायाको उपहार हो, एभिएसन । त्यो उपहारलाई सहिरूपमा ग्रहणगर्न बच्चा आरतीको गर्भमा रहनुभन्दा पहिले गरेको हाम्रो चाहना पूरा गर्नु छ । त्यसैले कुनै हालतमा एभिएसनलाई पाइलट बनाउनु छ । त्यो सफलतामा तिमी पनि कति खुसी हुन्छौ होला हगि ? हामीले यो उपहार पाउनमा तिम्रो नै महङ्खवपूर्णयोगदान रहेको छ मनकुमार । अहो ! म त भावनामा बहँदै निकै गहिराइमा पुगिसकँेछु । अरु मेरो हालखबर ठिकैछ । तिम्रो हालखबर के कसो छ, सबै प्रतिउत्तरमा लेखी पठाउनू है ? तिम्रो जवाफको पर्खाइमा रहनेछु ।
उही तिम्रो परदेशी मित्र,
आरोग्य
लेदरनेक फर्वाड अपरेटिङ वेस, अफ्गानिस्तान ।
यति पढिसक्ने बित्तिकै मलाई महसुस भयो,‘अहा ! आरोग्य र आरतीको जीवनमा त्यति धेरै परिवर्तन आइसकेछ । सानो अनि सुखी परिवारको निर्माण भइसकेछ ।’
एभिएसन जन्मेकोे खबर त्यही बेला थाहा पाएँ । अब यो खुसीमा म पनि आरती र एभिएसनलाई भेटेर आउँछु भनेर आरोग्यको घर आएको थिएँ । आरती सेतो कपडाको पहिरनमा थिइन् । फुस्रो अनुहार लिएर टुप्लुक्क घर भित्रबाट बाहिर निस्किइन् । गलामा केही थिएन । हातको चुरा सबै फुटाएर नाडी ठुट्टै थिए । बिहेको समयताका गुलाब फक्रेको जस्तो लाली जोवन थियो । पछि बेमौसममा ओइलिएर खसेको पातसरी रूपरङ र उस्तै लवाइ देखियो । म झसङ्गै भएँ । के भयो होला भनेर सोधिहाल्न पनि सकिनँ । आरतीले पनि कसरी यस्तो कुरा मसँग व्यक्त गर्न सक्थिन् र ! मात्रै यति भत्र सकिन्, ‘मनकुमार दाइ ! कसरी लामो समयपछि तपाई यहाँ ? हुनसक्छ,सबै कुरा सुनेरै आउनुभयो होला, हैन ?’ यति भन्दै ग्वाँग्वाँ रुन लागिन् ।
‘हैन, आरती बहिनी, के भयो र त्यस्तो ? अहँ मलाई त केही थाहा भएन त !’, मैले अचम्मित हुँदै सोधेँ । मलाई देखेर आरतीको बोल्न सक्ने स्थिति थिएन ।
केहीबेरपछि आफूलाई बिस्तारै सम्हाल्दै भनिन्, ‘जो कोहीश्रीमतीको लागि दुनियाँको प्रिय आफ्नो पतिदेव नै हुन्छ ।’
यो धरतीबाट सधैँको लागि आरतीले आफ्नो पतिदेवलाई बिदाई गर्नुपर्ने परिस्थिति खेप्नु परेको कुरा बताइन् । ठ्याक्कै एक महिनाअगाडि अफगानिस्तानको अमेरिकी सैनिक वेसक्याम्पमा तालिवानीहरूले आक्रमण गरेर अनगिन्ती आणविक बमहरू विस्फोटन गराएका थिए अरे । उही काण्डमा परी आरोग्यले पनि आफ्नो ज्यान अर्काको भूमिमा अन्त्य गर्नुपरेछ ।
आरतीको मुखबाट यस्तो कुराहरू सुन्दा मलाई सपना जस्तै भयो । उही पत्रमा पढेको थिएँ छोरा, एभिएसन । सानो अबोध बालक च्याँच्याँ रोइरहेको देखेँ । आरतीको सिउँदोको सिन्दुर पुछिएको थियो । मेरो लागि पनि यो ठूलो शोकको दिन आइप¥यो । आरतीको जीवनमा पीडाको बज्रपात नै भएको थियो । म केही बोल्न सकिनँ । मैले धेरै कुरा गरेर बसिरहँदा बिगतको स्मरणले सताउने भयो । आरतीको निको हुँदै गरेको घाउको खाटो झनै कोट्याइदिए जस्तो लाग्यो मलाई । केही सहानुभूति दिएर दुःखद कुरा मनभरी खेलाउँदै घर फर्किएँ ।
लेखन मितिः ३१ अगष्ट, २०१०,बिहीबार, लेदरनेक फर्वाड अपरेटिङ् वेस, अफघानिस्तान






