घोटाला …-कविता वाहिङ युम्पी
यो आतंकित सडकमा,
अलपत्र जुत्त्ता,
नाङ्गो शरीर,
एक्लो वस्त्र…..
तितरवितर रगत,
छरपस्ट शरीर,
देह छाडी उड्दै सास म,
“आमा, अब अन्याय सहने दिन गयो,
दमन अब अन्त्य हुन्छ बुवा,
छ नि, अब हाम्रो कुनै पुस्ता अनागरिक हुनु पर्दैन”
बाचामा ‘विजय भव:’, आशिस थापि हिडेका म,
अब कसरि भनु?,
अब कसरि भनु?‘कतिबेला घर फर्कन्छ नानी ?’ बाटो हेरिरहेको मेरा आमालाई,
‘स्याबास’ धाप मार्न तत्पर मेरो बुवालाई,
म भन्दा अघि मेरो ‘मृत्यु-खबर’ बुझेका मेरा परिवारलाई,
म फर्कन्न भनेर,
नपर्खिनुस् है भनेर,
मन दह्रो गर्नु भनेर ?
कसरि भनु?
म खुल्ला आकासमुनि,
लम्पसार छु,
ची…सो छु,
निस्वास छु,
अनि साक्षि बनिरहेको छु …
रक्त-नदीमा नुहाएको यो रापिलो सडकको,
मुखदर्शक निहत्था न्यायको,
अभिभावकत्व गुमाएका जनताको,
साक्षि बनिरहेछु मलाइनै गिज्याउदै ति
तानाशाहका उद्दण्ड नाचहरुको,
अवसरवादीका निर्लज्ज खेलहरुको,
मेरो लासमा टेकेर गरिएका घिन लाग्दो राजनीतिको,
हिजोझै आज पनि,
मेरो अस्तित्व तिलान्नजली चढाई,
मेरै अस्तित्व कुल्ची,
मेरै अस्तित्व दाउ राखी, गरिएको कु- शासनको,
जहाँ म मासिएको छु, नासिएको छु,
मेरो जित हार भएको छ,
अनि मेरै आरोप मै माथि लागेको छ,
कसरि भनौ,
चिहानबाट उठेको म, सबुत बन्दैछु,
खुलेयाम मेरो अस्तित्व-बिक्रीको सस्तो बजारको,
अन्तिक्रमित मेरो जीवन- बलिदानको,
मेरो लासमा गरिएको ऐतिहासिक कुठाराघातको
कसरि भनौ
अन्यायको कट्घरामा उभियर पराधि करार बन्दैछु,
मेरै रगतले म पात्र लेखिदैछ – दासी, दोसी, अपराधी…
मेरो अनुहारमा मेरै रगतले पोतीदैछ- अयोग्य – अनागरिक
सफाई पाईरहेछन उनीहरु, अनि तिनकै हुदैछ सत्ता राज,
अनि फेरी
अनि फेरी कोरिदैछ-
एक जात, एज धर्म, एक सम्प्रदायको इतिहास,
एक लिङ्ग, एक वर्ग, एक सत्यको इतिहास,
मेरो हार उसको जितको इतिहास….
कसरी भनौ मेरो आमा, यो आतंकित सडकमा,
म साच्चै एक्लो अलपत्र छु






