विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन
काठमाडौँ, ३० असोज २०८० । प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो ।
कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले कृतिकार याख्खालाई बधाईसहित शुभकामना व्यक्त गरे । संख्यात्मक भन्दा गुणात्मक कृति लेख्न र यो कृति भन्दा अर्को उत्कृष्ठ बनाउन पनि श्रेष्ठले सुझाव दिए ।
कृतिमाथि समीक्षा गर्दै लघुकथाकार दीव्य गिरीले कृतिमा समेटिएका लघुकथाहरु उत्कृष्ठ रहेको बताए । कृतिमा समावेश लघुकथा वाचन गर्दै उनले याख्खाको विषयवस्तुको चयन, लेखन र प्रस्तुतिकरण उत्कृष्ठ रहेको भन्दै प्रशंसा गरे । कथामा सामाजिक, राजनीतिक, आर्थिक व्यङ्ग्य पनि रहेको उनले सुनाए ।
कृतिकार याख्खालाई शुभकामना दिँदै नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यस्ता पुस्तकले हामीलाई बाँच्ने प्रेरणा दिने बताए । उनले यो कृतिले नेपाली लघुकथा समाजमा एउटा इँटाको काम गरेको बताए ।
कार्यक्रममा लघुकथाकार ध्रुव मधिकर्मीले कृतिकार याख्खालाई बधाई तथा शुभकामना दिँदै कृति प्रकाशन लेखकको परिचय व्यवस्थित गर्ने काम भएको बताए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समाजको कोशी प्रदेश अध्यक्ष ममता मृदुलले सामाजिक सञ्जालबाट चिनेका याख्खाको आग्रहमा यो कार्यक्रम आयोजना गर्न सफल भएको बताइन् ।
सीमित साहित्यकार तथा लघुकथाकारहरुको उपस्थितिमा आयोजित कार्यक्रमलाई लघुकथा समाजका उपाध्यक्ष तुलसीहरी कोइरालाले सञ्चालन गरेका थिए ।