मैले उनको हत्या गरेँ – मुकेश राई
मैले एउटा कथा लेख्ने जमर्को गरेको निकै समय भयो आधा, अपुरो छ, मेरो कथाकी नायिका र नायक जसलाई मैले भरपूर प्रेमप्रितको बन्धनमा बाँधेको थिएँ, नायक विश्वासघाती बन्यो, नायिका विव्हल। ति दुई बिच म दुई को मध्यस्थकर्ता थिएँ। यो मेरो जीवनमा घटित एउटा सत्य घटना हो, यसैले जब यो कथा लेख्न बस्छु अलिकति लेख्ने बित्तिकै दिमाग घुम्छ, यो कथाको सत्यता उजागर गरुँ कि नगरुँ? म यो घटनाको कारण पश्चातापमा जलेको धेरै भयो।
जुनको पहिलो दिन, आइतबार धेरै समयको योजना पश्चात सेमन्त भाई, रिता बहिनी, भरत सर अनि मीरा बहिनी सुशिला र मेरो आतिथ्यतालाई स्वीकारेर बिहान एघार बजेतिर आइपुग्नु भयो। सिर्जनात्मक साइनोले निकटता दिएको मेरो प्रिय मित्रद्वय भरत लोहोरुंग जी अनि सेमन्त राई, समयानुकुल बन्दा हामी साहित्यिक गफमा गफिन्छौ, हाम्रो गफ प्राय: गीत, संगीत र सिर्जनात्मक कुराहरुमा केन्द्रित रहन्छ। गत बर्ष समरमा हामी तिन जोडी ग्लोब थिएटर लण्डन भ्रमण पनि गइसकेका छौ। यस बर्षको हाम्रो पहिलो प्रत्यक्ष भेट मेरै घरमा, साहित्यिक र पारिवारिक कुराकानीको गजबै माहौल बनियो, साथमा भरत जी र सेमन्त जीको बाँसुरीको सुमधुर धून अत्यन्तै रमाईलो भयो। कुरैकुरामा फेरी मैले कथा लेख्दैछु भनिटोपलें र मनमनै अठोट गरेँ, अब जसरी पनि एउटा कथा त लेखिसक्छु। वास्तवमा कथाको थिम थुप्रै जन्मिरहन्छ दिमागमा तर लेख्छु भनेर बसेपछि कलम चल्न हिच्किचाउँछ, शायद यसैलाई भनिन्छ कि मुड नचलेको? जे होस निकै सोचेर मेरो अधुरो कथा पुर्ण गर्ने निर्णय गरेँ ताकि मेरो मित्रहरुलाई दिएको बचन पनि पुरा होस् अनि पाठकहरुसँग शेयर गरेर मन हल्का पनि गरुँ। जुन घटना यसरी शुरु हुन्छ।
म जन्मेर, हुर्किएको जन्मथलो ईलामको पशुपतिनगर, जुन नेपाल कै पहाडी सिमानामा रहेको एउटा मुख्य ब्यापारिक केन्द्र अनि भारतको दार्जीलिङतिर जाने आउने प्रमुख द्वार पनि हो। १७, १८ बर्षे अल्लारे बैशंको बेला घटित एउटा सत्य घटना पाठक समक्ष प्रस्तुत गर्दैछु, तर यही सामान्य घटनाले गर्दा मलाई एकप्रकारको अपराधबोधको भारले सधै थिचिरहेको भान हुन्छ। मेरो एकजना साथी, जसको नाम सविन थियो, उमेरले म भन्दा केहि जेठो भए पनि हामी मित्रवत ब्यवहारमा ज्यादा घुलमिल थियौं। हामी फुर्सदको समयमा सँगसँगै हुन्थ्यौ। ब्रिटिश आर्मीमा भर्ती जाने भन्ने हाम्रो इच्छाले पनि निकट बन्नुमा ठुलै भूमिका खेलेको थियो। एकदिन सबिनहरुको कुलपित्र गर्ने बिजुवा कोपालाई बोलाउन सल्लेरीसम्म साथी गएको थिएँ। झण्डै एकाध घन्टामा हामी कोपाको घरमा पुग्यौ।
त्यहाँ चिया खाजा खाए पछि कोपाले साउनमा पूजा गर्नु नहुने र भदौ लागे पछि आउने निधो दिनुभए पछि हामी बाटो लाग्यौ। तीन बुलाक, मेची गाउँ छब्बिसे हुँदै तेर्सै तेर्सो हिंड्दा वरपर देखिने अलौकिक प्राकृतिक सुन्दरतालाई धुम्मले ढाक्दै थियो। नेपाल र भारत सिमाना अर्थात दश गजामा नै पर्ने सानो गाउँ छब्बिसेबाट नेपाल भारत छुट्याउने रेखा झैं भारतीय मूलसडकै सडक हिंडेर दम्साईलो उकालो हाम्रो गाउँ पशुपतिनगर तर्फ लाग्दा दाहिने तिर दार्जिलिङको कमानहरु चामोङ, सेलेम्बोङ, नागरी हुँदै पारी सुनादह, खर्साङ् झिलिमिली अनि तल खोँच परेको गहिराईबाट बग्दै गएको राङभाङ खोला, दक्षिण तिर तराईको धुमिल समथर भुभाग अनि अन्तुको शिखरसगैँ नेपाल पट्टिका गाउँहरु गोरख, छिविटार, कन्याम आदिको दृष्य यदि दिन सफा हुनु हो भने साँचै नै मनोरम देखिन्छ तर बर्खामास प्राय यहाँको मौसम धुम्मिएकै हुन्छ। हामी छब्बिसे आईपुगेपछि नेपाल पट्टिको छोटो घोडेटो बाटो छोडेर अलि लामो भए पनि त्यही दशगजाको सड्क बाटै हिड्दै हिले आईपुग्यौ। त्यहाँबाट फेरी हामी नेपाल पट्टिको छोटो बाटो तर्फ लागेको केहीबेरमा अर्थेटार आईपुग्दा पानी पर्न शुरु भयो। हामी केहीबेर भिज्दै दगुरे पछि कान्ला माथि एउटा घर देखियो।
हामी ओत लाग्न तेतातिर लाग्यौ, अचानक एउटा हेर्दै डरलाग्दो टाटेपाङ्रे कुकुरले झम्टिएर सातो लियो, धन्य साङ्लोले बाधिएको रहेछ ।
हामी डराउँदै त्यो घरको सिकुवामा ओतियौं। त्यही बेला ढोका अलिकती खोलियो। हामीले सोच्यौ ठुलो मान्छे होला तर सानो झन्डै १०, ११ बर्ष जतिकी केटी रहिछ। हामीलाई नौलो देखेर होला यति लामो जिब्रो निकालेर लजाउँदै भित्रै पसी। लगत्तै अर्की तरुनी केटीले ढोकाबाट मुस्कुराउँदै सोधी, ए तपाईंहरु ओत लाग्नु भएको हो? सविनले जवाफमा हो, भनिनसक्दै “ए ठिकै छ नि भित्रै बस्नु भए पनि हुन्छ नि” खै कस्तो आत्मियता वा दयालु भावले आग्रह गरिन। हामी केहि संकोच मात्रै भित्र पस्यौं। एकैछिनमा उनले चियाको ट्रे सानो टेबलमा राख्दै सोधिन तपाइहरुको घर नि? म बोलेँ पशुपति, अनि तपाइको नाम नि? उनले सानो स्वरमा बोलिन “सुमनलता” अहा कस्तो युनिक नाम रैछ। सबिनले यसो भन्दा सुमनलता अलि लजाएर बहिनीतिर देखाउँदै बोलिन उसको चै संजना अनि तपाइहरुको चै? हामीले चै चियाको कप टिप्दै मैले सबिनको नाम भनिदिएँ, सविनले चै मेरो नाम। केहीबेरमा पानी रोकियो हामी बिदा भएर बाटो लाग्यौ।
स्कुले जीवनमा मेरा केही साथीहरु मलाई उनीहरुको पत्र लेखिदिने आग्रह गर्थे। पत्र चै कहिलेकाही स्कुलमा अनुपस्थिती भएको बिषयमा कारण जनाएर लेख्नु पर्ने हुन्थ्यो भने प्राय: प्रेमपत्र लेखिमाग्थे। अल्लारे बैंश र त्योबेला पढिने बिशेष प्रेमिल उपन्यासहरु अनि भर्खर गाउँमा भित्रिएका टिभिमा हेरिने रोमाण्टिक फिल्महरुको प्रभावले दिमागमा राम्रै प्रभाव पारेको थियो। उबेला पत्रमा रोमाण्टिक गीतका अंश लेखें चलन थियो अनि मेरो ह्याण्डराइटिङ्ग पनि निकै सफा र राम्रो भएको र उनीहरुले लेखिमागे जस्तै आसयका पत्र झर्को नमानी लेखिदिने भएको कारण पनि होला म उनीहरुको प्रिय थिएँ। यस्तै सबिन पनि ब्रिटिश गोर्खाका छोरा फेमिली टुर सकेर नेपाल फर्किएको धेरै भएको पनि थिएन। यसैले उसले पनि अचानक एकदिन आग्रह गर्यो उही पानी परेको दिन ओत लागेको घरको युवती अर्थात सुमनलतालाई प्रथम प्रेमपत्र लेखिदिने।
हुन त अहिलेको बिध्युतिय संसारको डिजिटल युगमा यो कुरो नयाँ पिढीलाई अपत्यारिलो लाग्छ तर २५, ३० बर्ष अगाडी यस्तै चलन थियो। आँखा जुधेकै भरमा माया प्रिती बस्ने जमाना अनि मनमा उठने माया ज्वारभाटा र भावनाहरु प्रेमपत्रमा छल्काउनु पर्ने जसले धेरै अनि मिठो मिठो मायालु भावना ब्यक्त गर्नु सक्यो उही सच्चा प्रेमी। यसरी मैले उनीहरुको प्रेमपत्र लेखिदिनु पर्ने गजबको काम थियो। सबिन र मैले उसको भावना अनुसार पत्र लेखी सिध्यायौं, सबिनले त्यो चिट्ठी सुमनलताको हातसम्म पुर्याउने काम मलाई नै सुम्पियो। मैले आइडिया लाएँ, अर्थेटारबाट स्कुल आउने साथी निमाको हातमा पठाउने, पहिले त उ अलि हच्कियो तर फ़काइफ़ुलाइ मनाएँ, निकै अप्ठ्यारो मान्दै चिट्ठी समायो। चिट्ठीको जवाफ आयो भने क्रमस पत्राचारको निम्ति म उनीहरुको झनै प्यारो बन्थें। मलाई निमाले पत्र दियो कि दिएन भन्ने शंका थियो, धन्न दिएछ यसैले झन्डै एकहप्ता पछि जवाफ आयो सबिन खुशीले उफ्र्यो।
समय बित्दै गयो उनीहरुको प्रेम मौलाउँदै गयो, उनीहरुको भेट हरेक पशुपतिनगरको सोमबारे हटियाको दिन हुन्थ्यो, ति दुई प्राय: भिडियो हलमा दिउँसोको शो हेर्न पस्थे। अचम्म कै प्रेम कथा पत्र मैले लेखिदिनु पर्ने पिरती उनीहरु लाउने। जति भावनात्मक कुराहरु सुमनलताले लेख्थिन तिनिहरु प्रति सबिनको खासै प्रतिकृया झल्कदैनथ्यो। हरेक पल्ट उ जवाफ चाँही मिलाएर लेख है भनेर भन्ने गर्थ्यो। म लेखिदिन्थे सुमनलताको हरेक प्रश्न र उत्सुकताहरु केलाएर उनको भावनासगँ सन्दर्भ मिलाएर। यो क्रम झन्डै एक बर्ष चलिरह्यो। पछि सुमनलता नर्स ट्रेनिङको निम्ती सिलिगुडी जाने भईन। उनीहरुको चिट्ठी आवतजावतको क्रम सबिनको आग्रहमा जारी राखिदिएँ। गाउँकै चिने जानेकै हुलाकी दाई भएकोले हामीले घरमा नदिनु है दाई भनेर उनको हातबाटै सोझै लिन्थ्यौ।
हामी एकै दवाँले साथीहरु गोर्खा भर्तिको तयारीमा थियौ तर सबै एकैचोटी पास हुन्छ भन्ने पनि छैन, यस्तै भयो सबिन् भर्ती लागेर गयो। सुमनलतालाई सबिन भर्ति कोशिस गर्दैछ भन्ने त थाहा थियो तर धरानबाट सोझै पास भएर गईहाल्छ भन्ने चै थाहा थिएन। मैले पत्र लेखिरहने भएकोले सबिनले लेख्ने कुरो पनि भएन। सुमनलताको पत्र पठाउने क्रम यथावत थियो एक दुई पल्ट् त मैले जवाफ लेखिदिएँ कारण सबिनले हङकङ पुगेर मलाई पनि चिट्ठी लेख्ला अनि एउटा अर्थै गरुँला भन्ने लागेको थियो तर उसले हामी सबैलाई बिर्स्यो। मैले पनि सुमनलतालाई जवाफ लेख्नै छाडी दिएँ। मलाई अप्ठ्यारो पनि लाग्न थाल्यो अनि फेरी सबिनको नाम गरेर म उनलाई कति आशाको त्यान्द्रोमा बाधिरहुँ। न म उनलाई म नै सबिनको नाममा पत्र लेख्ने मान्छे हो भनेर सत्य कुरो नै भन्न् सक्थेँ। यसै क्रममा धेरै चोटि सुमनलताले पत्रहरु पठाई जसमा प्रेम वियोग र अन्योल मिश्रित कुराहरु र पहिले गरिएका प्रेम प्रणयका वाचाबन्धनका कुराहरु जनाईेएका हुन्थे।
हो अर्को पक्षबाट कुनै प्रतिकृया नै नपाए पछि उनी आजित भईन क्यारे। सम्भवत: अन्तिम पत्र हुलाकी दाईले मेरो हातमा थमायो, पत्रको सार यसप्रकारको थियो।
“… जो मुटु माझ सजाईन्छ, त्यो कहिल्यै नओईलिने चोखो प्रितको फूल हो, जो मन मन्दिरमा बसेको देवतालाई अर्पण गरिएको हुन्छ भलै त्यो पवित्र प्रेमलाई आफुले मानेको देवताले स्वीकरोस या ठुकराओस, कुनै भक्तको आरधनामा बरदान देओस या श्राप। मैले पनि यही अजम्बरी प्रितको फूल तपाईंलाई आफ्नो मन मुटुमा सजाएर अर्पण गरेको थिएँ। यति हो त्यही फूल आज तिम्रो घातले सदा मुटुमा बिझिरहने काँडा बनेको छ मेरो निम्ती …”
“…म ति प्रितीको अनुभूतिलाई तपाईंले लेख्नु भएको प्रत्येक् शब्द र ति हरफहरुमा गरिएका वाचा बन्धन, ति मायाका झुटो तर मोहक बयान कदापी भुल्न सक्ने छुईन, जो बसन्त बहार पछि मुर्झाएका छन, बाँकी छन त कठयाङ्रिएर जिङ्रिंगै परेका नाँगो रुखहरु र काँडा बनेर घोचिरहने यादका लस्करहरु …”
“…तर तपाईंले आफ्नो मनबाट यस्तरी निकालेर फ्याँक्नु भयो कि मैले भनकसम्म पाउन सकिन। तपाईंको बाध्यता या धोका मैले बुझ्नै सकिन यसैले मलाई लाग्छ या मेरो दिवानापनको आग्रह, तपाईंको जीवनमा कहिल्यै पनि मेरो यादले दु:ख नदेओस किनकी मलाई थाहा छ छोडी जानेले माया मारेपछि त्यो दुखाईको पीडा कस्तो हुन्छ। म तपाईंसगँको त्यो भेटहरु अनि ति चिट्ठी भरी पोख्नु भएको मिठा मिठा प्रेमिल आभासहरु बोकेर अर्कै संसारमा पदार्पण गर्दैछु। यो मेरो बाध्यता हो मैले सधैं अर्काको खुशीलाई आत्मसात गरे भनेँ अहिले आएर मेरो आमा बुवाको खुशीको खातिर आज मेरो खुशी समर्पित गर्दैछु। किनकी तपाईंको अत्तो पत्तो नभएपछि मैले तपाईंलाई पर्खिरहनुको मुल्य नै देखिन। आमा बुवाले मेरो बिहे कालिम्पोंगको केटासङ्ग गरिदिने भएको छ, म उनैलाई आफ्नो भाग्य सम्झेर स्वीकार्दैछु। तपाईलाई कुनै दिन तपाईंलाई मेरो सम्झना मात्रै आयो भने पनि यो संसार छोडेर गएको अभागीनी सम्झिदिनु जो अब यस् भौतिक संसारमा छैन…अलबिदा।
जो माया लाउने मान्छे सबिन, भर्ती लागेर गए पछि सबै भुल्यो। उनको आमा मनसरा देमालाई मैले कतिचोटि सोधेँ कहिले काही मात्रै चिट्ठी लेख्छ नानी रेक्रुट ट्रेनिङ गाह्रै नै हुन्छ तेही भएर होला। मैले देमालाई उसको ठेगाना मागेर चिट्ठी पठाएँ तर जवाफ लेखेन। यथार्थमा भन्दा उसले म मार्फत सुमनलतालाई हावाको सपना मात्रै देखायो। सबिनको माया स्वार्थी भयो, ऊ खाली सुमनको रुपमा मोहित थियो तर पत्रको आशय बुझेर लेख्ने म पो अप्रत्यक्ष नै भावनाको गहिराईमा पुगेर जवाफ लेखिदिन्थे। हरेक पल्ट सुमनलताको पत्र पढदा सबिन सकरात्मक जवाफको मात्रै अपेक्षा गर्थ्यो अनि त्यति मै सिमित रहन्थ्यो। कुनै प्रकारको सहयोग र दु:खको बेलामा उचित सुझावको जरुरत पर्थ्यो भने ऊ मलाई भन्थ्यो, मिलाएर लेखी देन ल। म हुन्छ भन्थे अनि उनको लागी मैले घोरिनु पर्थ्यो। कति कुरा सान्तवना कै निम्ती पनि लेखिदिनु पर्थ्यो। यसैले मलाई लाग्छ सुमलताको निम्ती सबिन भन्दा धोकेवाज त म पो हुँ त। जानी अन्जानी मैले पो उनको कलिलो भावनासगँ खेलवाड गरेको हुँ। अहिले आएर यो अवस्थामा न म प्रायश्चित गर्ने ठाउँ पाउँछु न म कसैलाई सुनाउन सक्छु। त्यो पत्र पढेर मलाई भान भयो, थुक्क पहिल्यै त्यो सबिनेले लेखिदे भन्दा नै शुरु नगरिदिएको भए। कसैको कलिलो हृदयमा आघात त पर्ने थिएन।
अर्को साल त म पनि सबिन जस्तै गोर्खा भर्ती लागेर हङकङ पुगेँ। रेक्रुट ट्रेनिङ साँचै नै मनसरा देमाले भने झैं ब्यस्त नै भईन्दो रहेछ। रेक्रुट ट्रेनिंगको बेला एकदिन आइतबार सविन मलाई भेटनु आएको थियो, योबेला खासै कसैसँग भेटघाट गर्न दिदैंन थियो, दिए पनि गुरुजीको निगरानीमा जेलको कैदीलाई जस्तो एकछिन मात्र भेट्न दिन्थे। यसरी एकैछिन भेटने समय पाए पछि हाम्रो सामान्य भलाकुसारी भयो, ट्रेनिङ्गको बिषय अनि गाउँघरको बारे केहि कुराकानी भए पछि सबिनले सुमनलताको बारेमा सोध्यो, मलाई एकप्रकारले उ प्रति रिस पनि उठेको थियो कारण पत्र लेख्ने भार मलाई बोकाएर उ यत्तिकै रमाइलो मान्थ्यो तर भावनात्मक पिडा मैले भोगेको थिएँ। सुमनको पछिल्लो समयका पत्रहरुले मलाई धेरै नमिठो लागेको थियो, उनले लेखेको अन्तिम पत्रको हरफ … यो संसार छोडेर गएको अभागीनी सम्झिदिनु जो अब यस् भौतिक संसारमा छैन…अलबिदा। अनायसै सम्झे अनि भनिदिएँ उ अब यो संसारमा छैन हौ। मेरो कुरोले सबिनलाई खासै केहि असर परे जस्तो थिएन, उ बरु ठट्ट्यौली गर्दै बोल्यो ए अब छुट्टी गएर उसलाई बिहे गरुँ भनेको त, बिचरी। के भएर बित्यो?
खै कसरी मेरो मुखबाट फुत्त निस्कियो “बच्चा जन्मने बेला कम्लिकेसन भएर अरे, मैले पनि सुनेको मात्रै।” तर मनमा सुमनको बारे असत्य बोलेकोमा मलाई अति नै नमिठो लाग्यो। मलाई सत्य कुरो भनुँ कि जस्तो लाग्यो तर यहीबेला गुरुजीले तिमेरुको भेट्ने समय सकियो है भनेर चिच्यायो, यसैले मैले यत्तिमै कुरो टुङ्ग्याए। सबिन बिदा भएर गयो।
सबिन गए पछि पनि मलाई सुमनलाई ज्यूँदै मारेकोमा अत्यन्तै पश्चातात लागिरह्यो। केहि दिन यो कुरोले डिस्ट्रब भए पनि ट्रेनिंगको चटारोले बिर्सिएँ। ट्रेनिङ्ग सकेपछि म अर्कै पल्टनमा परें, सबिन गोर्खा इन्जिनियरमा थियो, त्यै माथि उ एडभान्स ट्रेनिंगको निम्ति युके गयो, खासै भेट भएन र एकदुई पटकको भेटमा सुमनको कुरै निस्केन। ३ बर्ष पछि छुट्टी गएको बेला सुनेँ सुमनलता त साँच्चै नै बिहे भएको बर्ष दिन नबित्दै नै नानी जन्माउन नसकेर मरिन रे। ओह माइ गड, यो बेला छाँगाबाट खसें लाग्यो, म उनको निम्ति पनौती हुँ, उ ज्यूँदै छँदा मैले उनलाइ मारेको थिएँ, उफ्फ़ सबिनसँग भेट हुँदा कसरी मेरो मुखबाट त्यो अलच्छिना वाक्य निस्कियो होला? म उसको हत्यारा हुँ, यो पश्चातापको भारले मलाई बर्षौं भयो थिचेको। जब, जब यो घटना सम्झछु, मलाई साँच्चै नै एकप्रकारको पिडा हुन्छ, कस्तो समयमा मैले त्यस्तो अपसकुन बोलेन हुँला?
सबिन र सुमनलताको अधुरो प्रेमकथालाई जोडेर मैले मेरो कथा पूर्ण गरेँ। ऋतु परिवर्तन जस्तै जीवनको भोगाइका अनुभूतिहरुमा रङहरु भरिन्छन। भनिन्छ विगतका गल्तीहरुका भार बोकेर हिड्नु हुदैँन, जे भयो, सक्यो, हरेकको वर्तमानमा आफ्नै एउटा सुन्दर संसारको निर्माण हुन्छ, हामी त्यसैमा रमाएर बाँच्नु पर्छ किनकी सृष्टिको नियम अनुसार संसार चल्नै पर्छ, जीवनमा मृत्यु निश्चित छ यसैले दुख पिर बिर्सेर वर्तमानमा भरपुर ज्युने प्रयत्न गर्नु पर्छ। हो, यो सत्य कथामा पनि मैले नाम परिवर्तन गरेर पूर्ण गरेको मुख्य पात्र सबिन पनि आज यो संसारबाट अलविदा भनेर गईसकेको छ।
उ हंगकंगमा नै बिहे गरेर स्थापित भएको थियो, कोरोनाको समयमा उनको निधन भएको दुखद खबर मात्रै सुन्न पाएँ। हाम्रो प्रत्यक्ष भेट अन्तिम पटक सन् १९९७ साल कोल्चेस्टरमा भएको थियो। त्यसपछि उ आर्मी नै छोडेर हंगकंगवासी भएको थियो। मनमनै सोचे सुमनलता र उसको सायद वैकुण्ठमा आत्मिक मिलन भयो होला, उनीहरुको मिलन भए त म पनि दोषमुक्त हुन्थेँ सायद। जे होस उनीहरु दुवैको चिर आत्मा शान्तिको कामना अनि हार्दिक श्रद्धाञ्जली छ।







