नेपालले नेतृत्व लिनु पर्छ ।- प्रा. डा. माधव प्रसाद पोखरेल
भोटेकोसीको बाढी हामीलाई बज्रेको एउटा र अन्तिम आपत्ति होइन। यसलाई चोर पल्केका रूपमा बुझ्नु पर्छ।
औद्योगिक देशहरुले उत्सर्जन गरेका कार्बनका यौगिकहरुले गर्दा भूमण्डलको तापक्रम विश्वव्यापी रूपमा बढी रहेको छ र बढ्दो सहरीकरणले रुख कटान व्यापक रूपमा भई रहेको छ। यसरी पर्यावरणको वैश्विक विनाशले हिउँका पहाडहरु चर्किने र हिमनदीहरु पग्लिने प्रक्रियाले विश्वव्यापी डरलाग्दो भविष्य तिर औँल्याई रहेको छ। अनियमित वर्षा, असन्तुलित खोलानाला र अनियन्त्रित बाढी तथा पहिरो हामीले नभोगी धर नपाउने हाम्रो निकट भविष्य हो।
चीनको सिछ्वानबाट आठनौ महिना अघाडि काठमाडौँ आउँदा मैले पनि हिमालका टाकुरा र ओरिपरि भयावह दृश्य देखेँ : हिउँ पग्लेर खालि अग्ला टाकुराहरुले मात्रै हिउँको टोपी लगाएका रहेछन्, धेरैजसो हिमाल त नाङ्गा पहाड र फाँटहरुले भरिएको रहेछ। व्यापक रूपमा पग्लेको पानीले भरिएका खाल्डाखुल्डीहरुमा थुप्रै नयाँ तालहरु बनेका रहेछन्।
रक्सी खाने एउटा, मुटु फुट्ने अर्काको! पर्यावरण बिगार्ने चाहिँ धनी र ‘विकसित’ देशहरु, बाढीपहिराको सास्ती भोग्ने चाहिँ हामी गरिब र अविकसित! मार्क्स भन्थे, लबस्तरा, फटाहा र आफुलाई मालिक ठान्नेहरु कुटिल ढङ्गले आफ्नो अपराध लुकाउन कसरी जान्दछन् भने, ठगिने र लुटिनेहरु आफ्नै गल्ती र दुर्भाग्यले आफुलाई विपत्ति आएको ठान्दछन्। हामीलाई बिपत परेका वेलामा पनि अपराधीहरु लाज पचाएर उदार हृदय भएका दाता भएर मुठीचामल लिएर आई रहेका छन्!
मौका यही हो। अब नेपालले वैश्विक चौताराहरुमा अपराधीहरूलाई अर्मल तिराउन, फटाइँ रोक्न, वैश्विक पर्यावरण जोगाउन, कार्बनको उत्सर्जन र प्रदूषण घटाउन, पर्यावरणलाई पुनर्जीवन गर्न विश्वभरका पीडित राष्ट्रहरुलाई गोलबद्ध गर्न अनि नागरिकहरुलाई कर्तव्य बोध गराउन अग्रता लिनु पर्छ। झन्डै १४-१५ ओटा सर्वोच्च हिमाली टाकुराहरुको धनी देश भएकाले भविष्यमा नेपालले जति पर्यावरणीय विपत्ति विश्वको अरु कुनै देशले पनि भोग्नु पर्दैन।
हामीले उच्च पर्वतीय र उच्च हिमाली पर्यावरण पुनर्जीवन गर्न विश्वभरका देशहरुले गर्नु पर्ने सतर्कता र कर्तव्यमा अनुसन्धान, पठनपाठन, तालिम, अभ्यास र कार्यान्वयन गर्ने उच्च हिमाली पर्यावरण विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्नु पर्छ, विश्वभरका अनुसन्धाता र गुरुहरुबाट विश्वभरका विद्यार्थी आकर्षित गरेर यसै वर्षदेखि पढाइ सुरु गरी हाल्ने तयारी गर्नु पर्छ अनि हिमाली र उच्च पर्वतीय क्षेत्रको पर्यावरणलाई पुनर्जीवित गर्न अनि विश्वभरका पर्यावरण पीडितहरुको हितका लागि विश्वसँग हातेमालो गर्न नेपालले अग्रता लिनु पर्छ। यो नेपालकै कर्तव्य र हक पनि हो।
वयं राष्ट्रे जाग्र्यामः (हामी राष्ट्रिय हितका लागि जागौँ)!!






