नेपाली शब्दको तीनखम्बे आयाम र उन्मुक्ति विद्रोह – विश्वास दपि तिगेला
(विश्व भुटानी साहित्यिक संगठन र भुटानी समाज न्यूजिल्याण्डद्धारा आयोजित चौथो बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान २१, २२ र २३ डिसेम्बर २०१९, पामिस्टन नर्थ, न्यूजिल्याण्डमा प्रस्तुत गर्न विश्वास दीप तिगेलाद्धारा तयार पारिएको कार्यपत्र)
नेपाली शब्द हामी नेपालीहरुको निम्ति गौरवको शब्द हो भने यहि नेपाली शब्द कसैको निम्ति काँडाले झै बिझाउने शब्द पनि हो । यो कुरा धेरै नेपालीले ख्याल नगरेको हुन सक्दछ । गुलाबको फूललाई कसैले आह सुन्दर फूल भन्लान, त्यहि फूललाई कसैले काँडा भएको राक्षस फूल मान्लान । फूलकै बारेमा त यस्तो बेग्लाबेग्लै परिभाषा हुन्छ भने ‘नेपाली’ शब्दको परिभाषा, परिचय, परिदृष्य र आयामहरु अनेक अवश्य छन् । यहि नेपाली शब्दले गर्दा पीडित भएकाहरुको दुःख ब्यथा सबैले सुन्नैपर्ने र यो समस्याको समाधान पत्ता लगाउनै पर्ने खाँचो खड्किएको छ ।
नेपालमा जन्मेकाहरुको लागि नेपाली शब्द राष्ट्रियता, भारत, भुटान, म्यानमार लगायतको नयाँ मुलुकहरुमा जन्मेकाहरुको निम्ति नेपाली शब्द जाति जनाउने शब्द हो अर्थात जात हो । र, भुटानमा जन्मिएर, भुटान र नेपालको पहिचान बोकेर दुबै भूमि गुमाउनेहरुको निम्ति नेपाली शब्द आत्मा हो, मुटु हो । जसले सबैभन्दा धेरै माया गर्दछ विडम्बना दुई पहिचान बोकेर पनि आफ्नो निक्र्यौल पहिचान स्थापित हुन नदिनु दुर्भाग्य नै थियो तर चुनौती संगै अवसर पनि आउछ भने झै अब कस्मोपोलिपटन विश्वमा सिमित परिधीमा राखेर रमाउनेहरुले आफ्नो राष्ट्रियता भन्ने र आफ्नो जाति भन्नेहरुले भन्दा बढि नेपाली शब्दलाई मनमुटु मान्नेहरुबाट धेरै विस्तार र विकास भएको जगजाहेरै छ । उनीहरुको विश्व स्थानान्तरण संगै नेपालीत्व पनि विश्वब्यापी भएको छ ।
नेपाली शब्दलाई राष्ट्रियता मान्नेहरुले सजिलै नेपाली भाषा, साहित्य र संस्कृति विर्षदै गएका छन् तर नेपाली शब्दलाई मनमुटु मान्नेहरुले सबैभन्दा बढि मायाका साथ जगेर्णा गर्दै विश्वब्यापी बनाईरहेका छन् । भनिन्छ अचानोको पीडा खुकुरीलाई थाह हुदैन । पीडा हुनेलाई पो चेतना हुन्छ, पीडै नहुनेलाई के चेतना हुन्छ ? हुन त कुनै समय बस्नेको टुंगो थिएन, आफ्नो राज्य थिएन र धेरै प्रतापीड हुन परयो यहुदीहरु र केही समयको अन्तरालमा विश्वकै सर्वोउत्कृष्ट बैज्ञानिक यहुदीहरु बने, अहिले पनि अमेरिकाको सबैभन्दा उच्चतम बैज्ञानिक केन्द्र नासामा यहुदीहरुकै बर्चश्व छ । त्यस्तै अब आफ्नो ज्यान भन्दा बढि आफ्नो भाषा, संस्कृति र पहिचानलाई माया गर्ने भुटनीजहरुको प्रगति यत्रतत्र विश्वका विभिन्न ठाँउहरुमा देखिन शुरु भएको छ । त्यसैको एक उद्धाहरण हो विश्व भुटानी साहित्यिक संगठनको आयोजनामा न्यूजिल्याण्डको पामिस्टन नर्थ स्थित २०१९ मा सम्पन्न चौथो बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान ।
पूनर्वासित भुटनीज दाजुभाई दिदीबहिनीहरुको भाषा र बंशजको आधारमा पहिचान नेपाली हो । त्यसैले नेपाली पहिचान र प्रतिष्ठाको निम्ति ब्यापक राष्ट्रिय भावनाले ओतप्रोत मनमुटु भुटनीजहरुमा रहेको प्रमाणित हुन्छ । यो संमग्र नेपाली साहित्यको लागि सौभाग्यको कुरा पनि मान्न सकिन्छ । भुटनीज कला तथा साहित्य नहुनु त यस्ता अनुष्ठानहरु हुने थिएनन । भुटनीज सभ्यतामा नेपाली भाषा साहित्य तथा संस्कार, संस्कृतिको उल्लेख्य भूमिका र प्रभाव भए झै नेपाली साहित्य, संस्कृति र कलामा पनि भुटनीजहरुको ठूलो योगदान र प्रभाव छ । हुन त वास्तविक डायस्पोरा भुटनीजलाई मान्न सकिन्छ किन की उनीहरु बाँध्यताले विदेशिएका छन् । फर्केर भुटान जान सक्दैनन्, नेपाली पहिचान भएपनि अन्य मुलुकमा भएका भुटनीजहरु नेपाल फर्केर बस्न सक्दैनन, उक्त अधिकार छैन, उनीहरु संग नेपाली नागरिकता छैन । जो नेपाली नागरिक हुन उनीहरु आफूखुसि, लोभले विदेशिएका हुन उनीहरु जुनसुकै बेला नेपाल फर्किएर बस्न सक्छन त्यसैले उनीहरु डायस्पोरा हुन या होइन्न छलफलको विषय बन्न सक्दछ ।
नेपाली पहिचानको शब्दले सबैभन्दा धेरै प्रतापीड र पीडित भारतीय नेपाली र भुटनीज नेपालीहरु छन् । जो संग नेपाली नागरिकता छैन, आदिम काल देखि उनीहरु नेपाली नागरिक होइनन् । उनीहरु भारतीय नागरिक हुन, भुटनीज नागरिक हुन र उनीहरुलाई सम्बन्धित मुलुकहरुमा नेपाली जातिको रुपमा चिन्दछन र मान्दछन् । सिर्फ उनीहरुले बोल्ने भाषाको नाम नेपाली राखिनु, भनिनुले नेपाली भाषी जति सबैलाई नेपालबाटै गएका नेपाली नागरिक हुन भन्ने संकेत गर्ने भएकोले भारत र भुटानमा रहेका नेपालीहरुमा त्यहाका स्थानीयले हेयको भावले हेर्ने गरेको समस्या विकराल छ भन्ने कुरा हेक्का हुनुपर्दछ । त्यस्तैगरि नेपालका नेपालीहरुमा पनि भारत भुटानमा रहेका नेपाली भाषा बोल्नेहरु सबै नेपालबाटै गएका हुन भन्ने बुझाई गलत छ । आंशिक रुपमा केही नेपालीहरु भारतका दार्जिलिंग, सिक्किम, आसाम, नागाल्याड, भुटान लगायतका ठाँउहरुमा गए होलान तर धेरैभन्दा धेरै नेपाली भाषीहरु आदिम कालदेखि त्यहिको थातथलोमा बस्दै आएका हुन जुन बेला नेपाल पनि भनिएको थिएन, भारत पनि भनिएको थिएन र भुटान पनि भनिएको थिएन । उनीहरु त्यहाकै रैथाने मुलवासी हुन । भारतका विभिन्न भागमा बसोबास गर्नेहरु अधिकांश भारतकै दार्जिलिङ, सिक्किम, कुमाउ, गढवाल, देहरादुन र गोरखपुरबाट बसाईसरेका पनि हुन । उनीहरु केवल नेपाली भाषा बोल्ने भएकोले नेपाली अर्थात नेपालबाट आएका नेपाली बुझ्ने संस्कारले साच्चै नै उनीहरु पीडित बनेका छन् ।
(यो कार्यपत्रलाई पढेर भिजुलाइजमा राख्दै प्रस्तोता तिगेला र टिप्पणी ज्ञानबहादुर क्षेत्री आसामबाट)
भारत र भुटानको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा रोजगारी अवसरको माहोल संग नेपालले पनि परोक्ष सम्बन्ध राख्ने भएकोले हामी बीच लामो समय देखि केही त्वातिक समस्या झेल्दै आएका छौ । जुन कुरा म्यानमारको सवालमा कमि छ किन की हाम्रा धेरै कुरा म्यानमार संग मिल्दैन र भौगोलिक रुपबाट पनि टाढा छ । वास्तवमा हामीले बोल्ने भाषाको कारण भारत र भुटानमा बसोवास गर्ने नेपाली पहिचान बोकेकाहरुको यर्थाथ परिचय नै ओझेलमा पर्न गएको छ । हुन त त्यसो हुनुमा केही न केही नेपालबाट पछिल्लो समय भारत र भुटान गएका नेपालीहरु पनि कारक हुन तर त्यो संख्याको बाहुल्यता छैन ।
वास्तवमा समस्याको जड् चाहि अहिले हामीले बोलीरहेको भाषाको नाम नेपाली राखिनुमा छ । सबैलाई थाह छ हामीले बोलिरहेको यो भाषाको शुरुवात खसान सभ्यताबाट भएको हो । यसलाई खस भाषा पनि भन्ने गरिन्थ्यो र खस भाषा भित्र ३ प्रशाखा र कसैले ११ प्रशाखा भएको दावी गर्ने गरेका छन् । ती प्रशाखाहरु मध्ये जुम्ली भाषा चाहि अहिले हामीले बोल्ने भाषा संग सबैभन्दा नजिक भेटिन्छ । र, शुरुवातको खस भाषा स्वयं चाहि संरक्षण गर्नुपर्ने अवस्थामा रहेको छ । त्यसैले हामीले बोल्ने नेपाली भाषालाई खसजुम्ली भाषा नामाकरण गरिएको खण्डमा विशेषतः भारत तथा भुटानमा बसोवास गर्नेहरु खसजुम्ली भाषी कहलाउनेछन् र उनीहरुलाई नेपालबाटै गएका, नेपाली नै हुन भन्ने टयांग हटने थियो वा कमी हुनेथियो । नेपाल र नेपालीहरु संगको भाषा र वंशको नाता त यथावत हुने नै छ । देशको नाममै इकार जोडेर भाषाको नामाकरण नगर्ने विश्व परम्परा पनि छ । देशको नाम भारत हो भने भारतीय भाषा त भनिन्दैन । त्यहा हिन्दी, मराठी अनेकन छन् ।
विडम्बना भनौ नेपालको आर्थिक तथा सामाजिक स्तर निम्नहुनु भारतमा चौकीदार, भाँडा माझ्ने कामका लागि नेपालीहरु भारतमा जानु, भुटानमा अलैची टिप्न र अन्य ससाना काम गर्न जानुले त्यहाका स्थानीयहरुको नेपाली र नेपाली भाषीहरु प्रति हेर्ने दृष्टिकोण खराब हुनु हो । आपत्तिको कुरा चाहि भारत र भुटानकै नागरिकलाई पनि नेपालबाट गएकै जस्तो देख्नु र ब्यवहार गर्नुले उनीहरु साच्चै नै पीडित छन यो कुरा नेपालका नेपाली नागरिक र सरोकारवालाले पनि ख्याल गर्नुपर्ने बेला आएको छ । हुन त आर्थिक र सामाजिक स्तर सधै एकै हुदैन । भोली नेपाल अति समुन्नत र संमृद्ध भएको खण्डमा आज पीडा भोगीरहेकाहरुले भोली प्रतिष्ठाको आनन्द पनि स्वतः लिन पाउनेछन । विगत डेढदुई दशक अघि नेपालबाट जतिधेरै सिलाङ, आसाम तिर कामको खोजीमा जान्थे, पछिल्लो समय जादैन्न बरु मलेशिया र गल्फ मुलुक लगायतमा गईरहेका छन भने नेपाल मुलुक स्वयंले पनि संमृद्धिको गति लिईरहेको छ । त्यसैले पनि नेपाली पहिचानलाई हेयको भावले हेर्ने अवस्था कम हुदै गएको छ । सन्दर्भ सुहाउदो एक तितो तथा रोचक घटना छ जुनचाहि २४ जुन २०१७ का दिन एक दार्जिलिङकी युवती सिमा सुवेदीले युट्युवमा भारतमा आई भाँडा माझ्ने नेपालीले गर्दा हामी नेपाली भाषी भारतीयलाई पनि भाँडा माझ्ने जातिकै रुपमा बुझ्ने गरेको पीडा पोखिन (चितवनग्यालरी, २०१७, युट्युव) । उक्त युट्युव भिडियोको नेपालीहरुबाट निक्कै आलोचना पनि भएको थियो । यो आलोचनाको विषय भन्दा पनि नेपालीहरुले बुझ्नु पर्ने महत्वपूर्ण विषयबस्तु हो । नेपालीहरुले भारत भन्ने बित्तिकै पराई मुलुक सोच्नु पर्ने । भारतको विरोध गर्नेलाई ठूलो राष्ट्रवादी मान्नुपर्ने, भारत र भुटानका नेपाली पहिचान बोकेका देख्ने वित्तिकै नेपालबाटै गएका हुन भन्ने बुझ्ने परपरागत गलत प्रवृत्तिबाट उन्मुक्ति लिने बेला भएको छ । यहा भारतको प्रसंग जोड्नुको अर्थ हो भुटान र भारतवासी नेपालीहरुमा हुने समस्या एकै खाले भएकोले हो ।
नेपाली भाषा भन्ने शब्दको प्रयोग सर्वप्रथम जे. ए. एटन द्धारा लिखित ए ग्रामण अफ नेपाली ल्यागेज (सन् १८२०ः १८७७) मा नाम राख्यो र दार्जिलिङकाहरुले नेपाली भन्न थाले र सन् १८८९ मा नेपालले पनि नेपाली भाषा भनी नाम राख्यो । युग पाठकले माङ्गेना पुस्तकमा लेखेका छन्ः सन् १९२० को दशक देखि नै नेपाली भाषाको प्रचार गर्नेमा दार्जिलिङबाट सुधपा (सूर्य विक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) प्रमुख थिए । सुधपाकै दबाबमा सन् १९३२ मे महिनामा कलकत्ता विश्वविद्यालयले पढाई गराउने विषयको नाम ‘नेपाली पहाडिया खसकुरा’ लाई ‘नेपाली’ शब्दले विस्थापित गरयो । (पाठक, २०७४, पृ४४) त्यहि सेरोफेरोमा खसजुम्ली नजिकको भाषालाई नेपाली भाषा भन्न शुरु भएको भेटिन्छ । माङ्गेना पुस्तककै पृष्ठ ५३ मा भनिएको छः ‘देशकै नाममा इकार जोडेर शासकीय भाषालाई जब नेपाली बनाईयो तब अरु भाषा र संस्कृतिहरु स्वतः बहिष्कृत भए ।’ त्यति मात्र होइन छिमेकी मुलुकमा रहने नेपाली भाषीहरुले त्यति नै अपमान सहनु परेको छ ।
यो तथ्य संगै हामी स्वस्थ बहस गर्न सक्छौ । खसजुम्ली भाषालाई नेपाली भाषा नामाकरण गर्नु सहि थियो या गलत? के नाफा र के घाटा भयो ?
खसजुम्ली भाषालाई विभिन्न कालखण्डमा विभिन्न नामले पुकारिन्थ्यो । ‘नेपाली भाषाको काल विभाजन ऐतिहासिक घटनाक्रम भाषिक पुरातनको आधारमाः सिंजाली भाषा वि.स. ११५०–१४५० सम्म, पर्वते भाषा वि.स. १४५०–१८५० सम्म, गोर्खाली भाषा वि.स. १८५०–१९९० सम्म र राष्ट्र भाषा नेपाली भनेर वि.स. १९९० पछि भएको उल्लेख छ ।’ (आचार्य, शोधपत्र पृ २३) भनिएको छ ।
उसो त भारत र भुटानमा आदिम कालदेखि बसोबास गर्नेहरु त्यहिका निवासी हुन नेपालबाट गएका होइनन तसर्थ उनीहरु नेपाली डायस्पोरा होइन्न तर नेपाली साहित्य र श्रीबृद्धि भाषाको माध्यमहुदै नेपालबाटै गएको मान्ने हो भने साहित्यको हकमा डायस्पोरा मान्न सकिन्छ । पछिल्लो समय संसारका १९५ वटै मुलुकहरुमा लगभग नेपालीहरु पुग्नुले नेपाली भाषा साहित्य पनि पुगेको छ र भाषा, साहित्यको विकास हुदै जानुलाई चाहि निशंन्देश डायस्पोरा, अर्थात प्रवासी नेपाली साहित्य मान्न सकिन्छ ।
भाषा संगै आउने अर्को कुरा हो लिपी । हामीले चलाउने देवनागरी लिपी भारतको देवनगर काशीबाट शुरु भएकोले नागरी लिपी र पछिबाट देव थपेर देवनागरी भनिएको हो । यस नागरी लिपीलाई विभिन्न ९ वटा भन्दा बढि भाषाहरुले आफ्नो लिपीको रुपमा प्रयोग गर्दछन । संस्कृत, हिन्दी, मराठी, कोंकणी, शिन्धी, काश्मीरी, डोगरी, नेपाली, बोडो, मैथिली लगायत भाषाहरुले यो लिपी प्रयोग गर्दछन् । यसको विकास ब्राम्ही लिपीबाट भएको हो । (वामनकार, २०१८, भिमिसाहित्यडटकम) । उसो त अंग्रेजीको ल्याटिन लिपीलाई विश्वका १३० भाषाले आफ्नो लिपीको रुपमा प्रयोग गर्दछन त्यस्तै मायान लिपीलाई विश्वका अन्य ३२ भाषाले प्रयोग गर्दछन भन्नुको अर्थ भाषा ठूलो कुरा हो । भाषाको ध्वनी संकेत गर्न प्रयोग गरिने लिपीको सवालमा भुटानमा रहेका नेपालीहरुले आफ्नो भाषा त्यहाको जोकाँ लिपीमै पनि लेखेर प्रचलनमा ल्याउन सक्दछन् । यो सवाल यहा किन उठाईएको हो भने ठाँउ परिवेश अनुसार परिचयको स्यात्तता पनि दिइनु पर्दछ । सबैलाई डायस्पोरा मान्ने, नेपालबाटै गएको देख्ने, केन्द्रीकृत सोचलाई त्याग्नु पर्दछ अन्यथा हामी प्रविधि, प्रतिष्ठाको बदलिन्दो विश्वबाट यथावत साँघुरिएर बसिरहने छौ । परिचय र प्रतिष्ठा स्वायत्तताको निम्ति जारी दमनकारी यस्ता संस्कृति विरुद्ध उन्मुक्तिको लागि विद्रोह आवश्यक छ । उसो त भारतमा रहेकाहरुले विद्रोह स्वरुप नै अहिले नेपाली नभई गोर्खा जाति, गोर्खा भाषी भन्न शुरु गरेका छन् । यदि भाषाको नाम खसजुम्ली भएको भए खसजुम्ली भाषी भन्नेथिए सायद । भाषाको नाम नेपाली हुनुले कुनैपनि आन्दोलन अगाडि बढाउन उनीहरुलाई अप्ठयाराहरु आईरहने गरेका छन । तथापी भारतको संविधानमा नेपाली भाषालाई मान्यता प्राप्त भईसकेको छ ।
हामी हाम्रो भाषा उनन्यको कुरा गरिरहेका छौ, कर्म गरिरहेका छौ । भाषा अध्ययनअध्यापन, पहिचान र प्रतिष्ठाको विषयलाई नै लिएर सरकार संग भएको द्धन्द्धले सन् १९९१ मा भुटानबाट नेपालको पूर्वी भागमा एक लाख ८ हजार भुटनीजहरु नेपालमा पूर्नवासित भए । उनीहरु तिमाई, शनिश्चरे, वेलडाँगी, गोलधाप र खुदुनावारी क्याम्पमा रहेका थिए र अझै केही बाँकी छन् । अहिलेपनि उनीहरुको स्वदेश फर्कन पाउनुपर्ने भनी आन्दोलन जारी छ । अन्तर्राष्ट्रिय शरणार्थी संगठनको पहलमा धेरै भुटनीजहरु अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, युके र अमेरिकामा पुनः पूर्नवासित हुनुसंगै भएको प्रगति र स्थायित्व प्रसंसनीय छ । भुटनीज नेपलिजहरुको कथामा देश खोज्दै जादा नामक एक मार्मिक फिल्म पनि बनेको छ । धेरै दबाब पछि भुटानले फर्काउने सहमति जनाएको तर संख्या भुटानले तोक्यो । त्यो संख्या र शरणार्थी क्याम्पमा रहेका मंगोलबर्णको संख्या संग मिलेकोले भुटान सरकार समावेसि नभएको आरोप पनि लाग्यो र फर्कने वातावरण अझै बनेको छैन । तसर्थ भुटनीजहरुको निम्ति भाषा साहित्य मुटु हो । भाषाको श्रीबृद्धिको काम सबैभन्दा महत्वपूर्ण र प्रिय छ । भुटनीजहरु भाषा विस्तारकै कारण पूनर्वासित हुनुपरेको कारण नेपाली (खसजुम्ली) भाषा साहित्यको चर्चामा भुटनीजहरुको आन्दोलन र योगदानलाई शिर्षस्थ स्थानमा राख्नु पर्दछ ।
अन्तमा, भाषाको नाम नेपाली भएकै कारण उत्पीडनमा परेकाहरुको उन्मुक्तिको निमित्त भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यता अहिले झनै तड्कारो बन्दै गएको छ । हिजोको सिमाना सहितको मुलुक सोच्ने जमानालाई सिमाहीन अर्थात सिमारहित कस्मोपोलिटन जमानाले खारेज गर्न शुरुभईसकेको छ । त्यसैले समय र परिवेश अनुसार परिवर्तन र सुधार गर्दै जाऔं । नेपाली साहित्यको प्रस्तावित परिभाषाः ‘नेपाल भित्र बोलिने सबै भाषाहरुको साहित्य तथा विभिन्न भूगोलमा रहेका, नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले खसजुम्ली वा आफ्नो मातृभाषामा लेखेको साहित्य नेपाली साहित्य हो ।’ भनी पूर्नपरिभाषित गर्न हामी ढिला नगरौ । नेपाली भाषाको सट्टामा ‘खजजुम्ली’ भाषा भनौ । नेपाल भित्र र नेपाली पहिचानमा गर्व गर्नेले लेख्ने साहित्यलाई ‘नेपालिय साहित्य’ भनौ तब हामीमा राष्ट्रियता र भाषा साहित्यमा भएका दुविधाहरु सधैको निम्ति हटनेछ र सबैको कल्याण हुनेछ ।
————————————————————————-
लेखकः विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समिति पूर्व अध्यक्ष तथा हाल क्यान्टवरी विश्वविद्यालय युकेबाट राजनीतिशास्त्रमा माष्टर डिग्री अध्ययनरत विद्यार्थी हुन ।
Bibliography:
Acharya, O. (2018) Sinjali vasika ra manak Nepali vasako bayeteriki aadhayan, p23, Theses, TU
Khas language in problem in Karnali, Available at: https://www.kantipurdaily.com/news/2018/05/09/152582978626061044.html?author=1 (Accessed: 24 August 2018)
Kuwar, N. (2015) Samalochana Nepali Vasha tatha Byakeranko utpati Bikash ra Manikekeran: Samasya ra Sambhawana. Available at: http://www.mirmireonline.com/2016/09/archives/40057 (Accessed: 15 Jan 2019)
K khas vasha lopunmukh cha? http://www.durbinnepal.com/arch
ives/14712 (Accessed: 13 Jan 2019)
Pathak, Y. (2017) Mangena, Fine Print Books, Kathmandu
Wamankar, M. (2018) Debnagari lipiko sanchiptya parichaya. Available at: https://vimisahitya.wordpress.com/2008/09/02/dewan
aagaree_parichay/(Accessed: 24 August 2018)
YouTube. (2017). Seema subedi insulting Gorkhas. [online] Available at: https://www.youtube.com/watch?v=JhidQe2Doj0 [Accessed 23 Dec 2019].