सेगेग फूल -नरेन्द्र खापुङ “संयम”
ओ! सेगेग फूल
तिमी तुसारो जितेर
अमापन भीरमा फूल्छौ
हिउँ जितेर पहरामा फूल्छौ
कयौ उचाइमा फूलिरहन्छौ
तिमीसँग लुप्त,सुषुप्त
जिवन्त सुवास छ
जीवन्त सौन्दर्यता छ
तै पनि तिमी
बार्दलीहरूमा सजिन
योग्य भएनौ
गमलाहरूमा सजिन
योग्य भएनौ
आगनको फूलबारीहरूमा
फक्रिन योग्य भएनौ
फूलपातीको रूपमा
मन्दिर जानपनि
योग्य भएनौ
तरपनि
केही मान्छेहरू
खोजी-खोजी तिमीलाई
मुन्धुममा सारिक गराउछन्
मुन्धुमको अमरत्तामा
तिम्रो नाम उच्चरण गर्छन्
निर्दयी रूपमा
भाचेर तिमीलाई
दलिनमा सिउरन्छन्
तिमी वर्षौ रहन्छौ
अनि
आवश्यक पर्दा मान्छेहरू
खस्रक्क झारेर प्रयोग गर्छन्
तर सेगेग फूल
आजभोलि
तिमी स्वतन्त्र फूल्ने
भीर पखेराहरूपनि
रूखो उजाडे झारले
क्षाप्पै छोपिसकेको छ
तिमी फूल्ने पहरापनि
सेतो बनमाराले
क्षाप्पै छोपिसकेको छ
सेगेग फूल?
तिमी युगौ पुरानो
यो धरती
अस्तित्वमा आएसगै
फूल्न सुरू गर्ने फूल
त्यसैले
तिमी धेरै उचाइमा छौ
तिमीसँग जिवन्त ध्वनि छ
तिमीसँग अमरत्व छ
कि तिम्रो पाउ झारले छुदैन
सेतो बनमाराले
तिम्रो उचाइ छुदैन
सेगेग फूल तिमी
मनोरम भीरमा फूल्छौ
अग्लो पहरामा फूल्छौ
तिमी हिउँ जितेर फूल्छौ
तुसारो जितेर फूल्छौ
तिमीसँग लुप्त सुषुप्त
जिवन्त सुवास छ
र
जिवन्त ध्वनि,सौन्दर्यता छ
तिमी सेगेग फूल हौ
– मेन्छ्यायेम -६ तेह्रथुम।