सुम्निमा–पारुहाङ: मिथकीय नाटक​​​​ प्रा. चूडामणि बन्धु (पिएच.डी.)

मिथकको उत्पत्तिका विषयमा चर्चा गर्दै यस विषयमा विभिन्न विचार व्यक्त गरेको पाइन्छ । प्राकृतिक वस्तु र घटनाको रूपकीकरण गरेर मिथकहरू बनेका हुन् भन्ने एक थरीको विचार छ । अर्का थरी विद्वान् अनुष्ठान सिद्धान्तका आधारमा मिथकहरूलाई अनुष्ठानबाट विकसित भएको मान्दछन् ।

मिथकसँग पवित्रता, धार्मिकता, आस्था र अनुष्ठान जोडिएका हुन्छन् । मिथकसँग किंवदन्तीको नजिकको साइनो हुन्छ । कतिपय अवस्थामा यिनलाई छुट्याउन सकिन्न । किंवदन्तीहरू नै कालान्तरमा मिथकका रूपमा परिवर्तित भएका पनि पाइन्छन् । समाजका मूल्य र मान्यता तथा विधिनिषेधहरूसँग जोडिएका किवदन्तीहरू मिथक जस्तै भए पनि तिनले ऐतिहासिकता पनि ग्रहण गरेका हुन्छन् । समाजका निम्ति यी केही पवित्र र केही श्रद्धापूर्ण पनि हुन्छन् । सामान्य बोलीचालीमा मिथकलाई यथार्थभन्दा भिन्न काल्पनिक पनि भनिन्छ ।

मिथकहरू आस्थामूलक, धार्मिक अनुष्ठानसँग जोडिएकाले यिनको प्रस्तुति वर्णनात्मक वा अभिनयात्मक रूपमा हुन सक्छ । वर्णनात्मक प्रस्तुति पनि गद्य वा पद्यमा अथवा दुवैको मिश्रण भएको चम्पू शैलीमा हुन सक्छ । समाजमा मिथकहरूको अत्यन्त महŒवपूर्ण स्थान रहन्छ । जोसेफ क्याम्पबेलका अनुसार मिथकका आध्यात्मिक, ब्रह्माण्डीय, सामाजिक र शैक्षणिक जस्ता चार प्रकार्य छन् । किरात संस्कृतिमा पछिल्ला दुई प्रकार्य प्रबल छन् । प्राकृतिक शक्तिमा आस्था राख्दै तिनको मानवीकरण गर्ने काम पुराकथामा हुन्छ । मिथकलाई प्राग्ऐतिहासिक मानव समाजको सामूहिक स्वप्नका रूपमा पनि लिइन्छ । मौखिक परम्परामा यी प्रतीकात्मक रूपमा हस्तान्तरित हुन्छन् । यी पूरा कथाहरूको उत्पत्ति र विकास समाजलाई व्यवस्थित रूपमा निरन्तरता दिने क्रममा भएको मानिन्छ ।

प्रवीण पुमाले सुम्निमा–पारुहाङको मिथकमा आधारित यो नाटक २०४९मा नै तयार गरी प्रदर्शन गरेका थिए । उनको उद्देश्य किरात संस्कृतिअनुसारको सृष्टि र मानव विकासको अभिनयात्मक प्रदर्शन गर्नु थियो । प्रदर्शनका लागि तयार गर्दा यसलाई तत्काल बुझिने भाषामा सरल बनाउनु प¥यो । खम्बु जातिको संस्कृतिमा आधारित भएकाले यसको लेखनमा मुन्दुमका नामहरूको प्रयोग गरेको, केही स्थानीय भाषिकाको प्रयोग भएको, केही मानक व्याकरणसँग सङ्गति नमिलेको पनि पाइएला । तर उद्देश्य चाहिँ श्रोतामा आÇनो गौरवपूर्ण पहिचानको जानकारी दिनु थियो । नाटककार पुमाले बितेका वर्षहरूमा यसको कथ्य र प्रस्तुतिमा केही परिष्कार पनि गरे । यो नाटक मुन्दुममा आधारित भएकाले विभिन्न किरात भाषाहरूमा विविधता हुने हुँदा अर्को मुन्दुममा यो केही भिन्न रूपमा देखा पर्नु स्वाभाविक हो । यो मौखिक परम्पराको एउटा मुख्य विशेषता पनि हो । तर मुन्दुम सामान्य मौखिक परम्परा मात्र होइन, यो आफैँमा एउटा महाकाव्य हो, पवित्र मन्त्रहरूको सङ्कलन हो र समाजलाई सञ्चालन गर्ने विधि–नियमहरूको आधार हो । यो प्राग्ऐतिहासिक कालदेखि यस हिमाली क्षेत्रमा विकसित हुँदै आएको गौरवशाली अमूर्त सांस्कृतिक सम्पदा हो ।

यस सुम्निमा–पारुहाङ शीर्षक सृष्टिसम्बन्धी मिथकलाई नाट्यशालामा अभिनित गरी अहिले पुस्तकका रूपमा प्रकाशित गरेर नाटककार प्रवीण पुमाले प्रशंसनीय काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *