‘मनमनै मन्त्रालय’ नाटक साउन २४ गते नेपाल नाट्यशालामा मञ्चन हुँदै
काठमाडौं, साउन २०। वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाको निर्देशन तथा सौभाग्य सिंह राईको लेखन रहेको विसङ्गतिवादी सामाजिक नाटक ‘मनमनै मन्त्रालय’ आगामी साउन २४ गते (आइतबार) दिउँसो १:०० बजे नेपाल नाट्यशाला, काठमाडौंमा मञ्चन हुने भएको छ। नाटक नेपाल थिएटर हाउस र नेपाल मातृगृह नेपालको संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको हो।
समकालीन समाजका मनोवैज्ञानिक तथा सामाजिक यथार्थलाई रूपकात्मक शैलीमा प्रस्तुत गरिएको यस नाटकले एक्लोपन, पारिवारिक विखण्डन, डिजिटल निर्भरता, बेरोजगारी, विभेद तथा सामाजिक अन्यायजस्ता विषयलाई केन्द्रमा राखेको छ। कथामा प्रधानमन्त्रीको प्रवेशसँगै व्यक्तिगत द्वन्द्वहरू राजनीतिक उत्तरदायित्व, नैतिक चेतना र सामूहिक विवेकसँग गाँसिँदै समाज र व्यक्तिबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाइन्छ। नाटकले सहानुभूति, आत्मचेतना र मानवीय सम्बन्धको महत्त्वलाई स्थापित गर्दै साँचो परिवर्तनको सुरुआत मानिसको मनबाट हुने सन्देश दिन्छ। अन्त्यमा, समाज र मानव चेतनाको रूपान्तरणसम्बन्धी दार्शनिक प्रश्न प्रस्तुत गर्दै नाटकको समापन गरिएको छ।
यस नाटकमा प्रवीण पुमा, जे.बी. डी.सी., सौभाग्य सिंह राई, रिता थापा, दिपमाला परियार, सानु पाण्डे, कविता खडका, निर्मल साउद, आयन थापा, तृप्ती श्रेष्ठ, खुशी तामाङ, महेन्द्र थापालगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ भने ब्याक स्टेज आर्टिस्टरुमा सम्झना श्रेष्ठ, सुस्मा बोम्जन ,अञ्जु बरल, नविन महरा, जोगा धामी, मुकेश महरा रहेका छन् ।
नाटकको लेखन तथा कला निर्देशन सौभाग्य एस. राई (शोभा)ले गर्नुभएको हो। उहाँले आवरण (कभर) डिजाइन, वेशभूषा डिजाइन, मञ्च सामग्री (प्रप) डिजाइन, ध्वनि डिजाइन तथा व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ। सेट डिजाइन प्रवीण पुमा, प्रकाश डिजाइन परशुराम राई, प्रकाश सञ्चालन अजय घलान, ध्वनि सञ्चालन सुदीप रौन्टेल तथा पात्र छनोट निर्देशन जे.बी. डी.सी.ले गर्नुभएको छ। नाटकका मिडिया साझेदार ITV र NepaliLiterature.com रहेका छन्।
करिब एक घण्टा अवधिको यस नाटकको प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ।






