‘मनमनै मन्त्रालय’ नाटकमा मन, समाज र सत्ताको विसङ्गत संवाद
लक्ष्मी राई । काठमाडौं, साउन २४ । वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाको निर्देशन तथा सौभाग्यसिंह. राईको लेखन रहेको विसङ्गति नाटक ‘मनमनै मन्त्रालय’ काठमाडौंस्तिथ नेपाल नाट्यशालामा २०८३ साल साउन २४ गते मञ्चन भएको छ । नेपाल थिएटर हाउस र नेपाल मातृगृह नेपालको संयुक्त प्रस्तुतिमा मञ्चन गरिएको नाटकले समकालीन समाजका मनोवैज्ञानिक, सामाजिक तथा राजनीतिक विसङ्गतिलाई मानिसको आन्तरिक संसारसँग जोडेर प्रस्तुत गरेको छ ।
नाट्य बुनौट :
नाटकको मूल कथ्य समाजलाई बाहिरबाट नियाल्नु मात्रै नभएर मानिसको मनभित्र प्रवेश गर्ने प्रयासमा केन्द्रित छ । नाटककार सौभाग्यसिंह राईका अनुसार ‘मनमनै मन्त्रालय’ लेख्नुको प्रेरणा समाजको अध्ययन मात्र नभई मानव मनको अन्वेषण गर्नु हो । उनका अनुसार हरेक अर्थपूर्ण परिवर्तनको सुरुआत मानिसको अन्तर्मनबाट हुन्छ । शान्ति र द्वन्द्व, करुणा र हिंसा तथा आशा र निराशा एउटै आन्तरिक संसारबाट जन्मिने भएकाले समाज परिवर्तन हुनुअघि त्यसलाई निर्माण गर्ने मानिसको मन परिवर्तन हुनुपर्ने विचार नाटकको वैचारिक आधार बनेको छ ।
यही अवधारणालाई नाटकले ‘मनमनै मन्त्रालय’को रूपकमार्फत विस्तार गरेको छ । मानिसका विचार, भावना र व्यवहारलाई निर्देशित गर्ने अदृश्य शक्तिलाई ‘मन्त्रालय’को प्रतीकसँग जोड्दै नाटकले दर्शकलाई आफ्नै अन्तर्मनतर्फ फर्किन प्रेरित गर्छ । दोषारोपणभन्दा आत्मसंवादलाई प्राथमिकता दिँदै अन्तरात्मा, सहानुभूति र नैतिक उत्तरदायित्वलाई व्यक्तिगत तथा सामाजिक रूपान्तरणका आधारका रूपमा अघि सारिएको छ ।
कथामा एक्लोपन, पारिवारिक विखण्डन, डिजिटल निर्भरता, बेरोजगारी, विभेद र सामाजिक अन्यायजस्ता समकालीन समस्या एकअर्कासँग गाँसिएका छन् । प्रधानमन्त्रीको प्रवेशसँगै व्यक्तिगत द्वन्द्व राजनीतिक उत्तरदायित्व, नैतिक चेतना र सामूहिक विवेकसँग जोडिन्छ । यसरी नाटकले व्यक्ति, समाज र राज्यबीचको सम्बन्धमाथि प्रश्न उठाउँदै राजनीतिक समस्यालाई समेत मानिसको चेतना र नैतिकतासँग जोडेर हेर्ने प्रयास गरेको छ ।
निर्देशकीय दृष्टिकोण :
निर्देशक प्रवीण पुमाले नाटकलाई आफ्नो मौलिक रङ्गमञ्चीय अवधारणा ‘सह–अस्तित्ववाद’ मा आधारित रहेर निर्देशन गरेका छन् । पुमाको अवधारणामा रङ्गमञ्च निर्देशकको एकल नियन्त्रणमा निर्माण हुने प्रक्रिया नभई नाटककार, कलाकार, डिजाइनर, प्राविधिक तथा निर्देशकको साझा सिर्जनात्मक सहभागिताबाट विकसित हुने प्रक्रिया हो ।
कार्यशालामूलक रिहर्सलमार्फत दृश्यहरू खोज, प्रयोग, इम्प्रोभाइजेसन, संवाद र सामूहिक चिन्तनबाट विकसित गरिएको निर्देशकको भनाइ छ । यस प्रक्रियाले कलाकारलाई आफ्ना पात्रको मनोवैज्ञानिक गहिराइ आफैँ खोज्न अवसर दिएको थियो । यसमा निर्देशकको एकल आधिपत्यभन्दा सिर्जनशीलता, पारस्परिक विश्वास र साझा कलात्मक उत्तरदायित्वलाई प्राथमिकता दिइएको छ ।
पुमाले नाटकको दृश्य संरचनामा समेत आफ्नो निर्देशकीय अवधारणा प्रयोग गरेका छन् । उनका अनुसार नाटकको ब्लकिङ मुन्दुमी दर्शनलाई आधार बनाएर सृजना गरिएको थियो । यसले समकालीन विसङ्गति कथ्यलाई नेपाली मौलिक सांस्कृतिक तथा दार्शनिक चेतनासँग जोड्ने प्रयास गरेको छ ।
दृश्यात्मक रङ्गमञ्चीय भाषा :
‘मनमनै मन्त्रालय’को उल्लेखनीय पक्ष यसको प्राविधिक तथा दृश्यात्मक प्रस्तुति पनि हो । ब्लकिङ, प्रकाश, ध्वनि, कोरियोग्राफी, मल्टिमिडिया तथा स्मोकिङ इफेक्टलाई कथ्यसँग समन्वय गरी प्रयोग गरिएको छ । यस स्मोकिङ इफेक्टले नाटकको दृश्य आकर्षक बनाएको छ भने पात्रहरूको मनोवैज्ञानिक अवस्था, दृश्यको वातावरण र नाटकको वैचारिक तह अभिव्यक्त गर्ने रङ्गभाषाका रूपमा देखिन्छन् ।
मुन्दुमी दर्शनमा आधारित ब्लकिङले कलाकारहरूको स्थान, गति र सामूहिक आवागमनलाई अर्थपूर्ण बनाएको थियो । कलाकारहरूको शारीरिक गति र स्थान परिवर्तनले व्यक्तिगत मनोदशालाई सामूहिक मनोविज्ञानसँग जोडेको देखिन्थ्यो ।
नाटकमा हरेक दृश्य परिवर्तनलाई स्मोकिङ इफेक्टले जोडिएको थियो । स्मोकिङ इफेक्टले दृश्यबीचको संक्रमणलाई सहज बनाउनुका साथै एक दृश्यबाट अर्को दृश्यमा पुग्दा मनोवैज्ञानिक तथा वातावरणीय निरन्तरता कायम गरेको थियो । प्रकाश र धुवाँको संयोजनले दृश्य परिवर्तनलाई प्राविधिक प्रक्रियामा नौलापन थपेको थियो भने नाटककै रङ्गभाषाको हिस्सा बनाएको थियो । यस नाटकको सेट डिजाइन पञ्चतत्वमा आधारित मुन्दुमी रङमा निमार्ण गरिएको थियो ।
प्रकाश र ध्वनि डिजाइनले दृश्यको भाव, तनाव र मनोवैज्ञानिक अवस्थालाई प्रभावकारी बनाउन योगदान गरेका थिए । प्रकाशको तीव्रता तथा परिवर्तनले दृश्यअनुसार वातावरण निर्माण गरेको थियो भने ध्वनि संरचनाले दृश्यको तनाव, गति र भावनात्मक प्रभावलाई विस्तार गरेको थियो ।
त्यस्तै, मल्टिमिडिया प्रयोगले मञ्चलाई थप बहुआयामिक बनाएको थियो । प्रत्यक्ष अभिनयसँग प्रक्षेपित दृश्यको संयोजनले वास्तविकता र मानसिक संसारबीचको सीमालाई धुमिल बनाउँदै ‘मन’ केन्द्रित अवधारणालाई दृश्यात्मक रूपमा विस्तार गरेको देखिन्थ्यो । धुवाँ प्रभावले प्रकाशसँगको संयोजनमा मञ्चमा गहिराइ, रहस्य र वातावरणीय प्रभाव थपेको थियो ।
कोरियोग्राफीले कलाकारहरूको सामूहिक गति, शारीरिक अभिव्यक्ति र स्थान परिवर्तनमार्फत संवादले व्यक्त गर्न नसक्ने मनोवैज्ञानिक तथा सामूहिक अवस्थालाई दृश्यात्मक बनाएको थियो । यसरी प्रकाश, ध्वनि, मल्टिमिडिया, धुवाँ, कोरियोग्राफी र ब्लकिङको संयोजनले नाटकलाई बहुआयामिक रङ्गभाषा प्रदान गरेको देखिन्थ्यो ।
समस्याबाट सम्पन्नतातर्फ :
कथात्मक संरचनाका दृष्टिले नाटक समस्याबाट सम्पन्नतातर्फको यात्राका रूपमा विकसित हुन्छ । प्रारम्भमा तनाव, अभाव, एक्लोपन, पारिवारिक विखण्डन, बेरोजगारी, सामाजिक विभेद र आन्तरिक द्वन्द्वजस्ता समस्या प्रस्तुत गरिए पनि कथाको विकाससँगै पात्रहरू आशा, आत्मचेतना, सहानुभूति र मानवीय सम्बन्धतर्फ उन्मुख हुन्छन् ।
यस नाटकमा ‘सम्पन्नता’लाई आर्थिक वा भौतिक अवस्थाका रूपमा मात्रै हेरिएको छैन, यस नाटकमा मानसिक, भावनात्मक र मानवीय सम्पन्नताका रूपमा बुझ्न सकिन्छ । समस्याबाट सम्भावनातर्फको यो यात्रा नाटकको मूल वैचारिक धारणा, परिवर्तनको सुरुआत मानिसको मनबाट हुन्छ भन्नेसँग जोडिएको देखिन्छ ।
जीवन्त अभिनय :
नाटकमा प्रवीण पुमा, जे.बी. डी.सी., सौभाग्य सिंह राई, रिता थापा, दिपमाला परियार, सानु पाण्डे, कविता खड्का, निर्मल साउद, आयन थापा, तृप्ती श्रेष्ठ, खुशी तामाङ, महेन्द्र थापालगायत कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरूको अभिनय जीवन्त र प्रभावशाली थियो । पात्रहरूको मनोवैज्ञानिक द्वन्द्व, आन्तरिक तनाव र भावनात्मक उतारचढावलाई संवाद, आवाज, शारीरिक हाउभाउ तथा गतिशील अभिनयमार्फत प्रस्तुत गरिएको थियो ।
विसङ्गति कथ्यले सिर्जना गर्ने असामान्य परिस्थिति र मनोवैज्ञानिक जटिलतालाई कलाकारहरूले प्रभावकारी रूपमा आत्मसात् गरेका थिए । सामूहिक दृश्यमा कलाकारहरूको तालमेलले नाटकको लय र दृश्यात्मक प्रभावलाई थप सशक्त बनाएको थियो ।
नाटकको लेखन तथा कला निर्देशन सौभाग्यसिंह राईले गरेका छन् । उनले आवरण, वेशभूषा, मञ्च सामग्री तथा ध्वनि डिजाइनसँगै व्यवस्थापनको जिम्मेवारीसमेत सम्हालेका छन् । सेट डिजाइन प्रवीण पुमा, प्रकाश डिजाइन परशुराम राई, प्रकाश सञ्चालन अजय घलान, ध्वनि सञ्चालन सुदीप रौन्टेल तथा पात्र छनोट निर्देशन जे.बी. डी.सी.ले गरेका छन् ।
ब्याकस्टेजमा सम्झना श्रेष्ठ, सुस्मा बोम्जन, अञ्जु बराल, नवीन महरा, जोगा धामी र मुकेश महराले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।
बौद्धिक दर्शकको उपस्थितिमा सिर्जनात्मक समालोचना :
नाटक प्रस्तुतिले दर्शकीय रूपमा पनि उल्लेखनीय प्रतिक्रिया पाएको थियो । नाटक हाउसफुल भएको थियो । साहित्य, कला, रङ्गमञ्च तथा प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको प्रस्तुतिमा वरिष्ठ नाट्यकर्मी राजेन्द्र रिमाल, वरिष्ठ समालोचक लीला लुईटेल, डा. शोभा ढुङगना, डा. हरि सिलवाल, डा. नेत्र एटम, डा. बिन्दु शर्मा, डा. कोमल फुयाँल, प्राज्ञ हिशन समाल, प्राज्ञ विजय विस्फोट, प्राज्ञ यासेली योङहाङ, प्राज्ञ श्रीकृष्ण महर्जन, नाट्यकर्मी सङ्गीता थापालगायत सयौँ बौद्धिक दर्शक उपस्थित थिए ।
मञ्चनपछि आयोजित सिर्जनात्मक समालोचनामा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा. डा. ध्रुवप्रसाद भट्टराई, डा. यज्ञेश्वर निरौला तथा प्राज्ञ पुरुषोत्तम लम्सालले ‘मनमनै मन्त्रालय’ले आजको समाजमा विद्यमान विभिन्न विसङ्गति, मनोवैज्ञानिक समस्या र सामाजिक विकृतिलाई स्पष्ट रूपमा उजागर गरेको धारणा व्यक्त गरेका थिए । उनीहरूका अनुसार नाटकले समकालीन समाजका समस्या प्रस्तुत मात्र नगरी तिनका कारण र मानवीय तथा सामाजिक प्रभावबारे दर्शकलाई सोच्न बाध्य बनाएको थियो ।
त्यस्तै, माननीय शरण राई तथा संविधानसभा सदस्य रामकुमार राईले नाटकले उठाएका सामाजिक विसङ्गति र समस्यालाई नीति निर्माणको तहमा समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै भविष्यमा नीति निर्माण गर्दा यस्ता सामाजिक यथार्थलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसले नाटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक चेतना, सार्वजनिक विमर्श र नीतिगत बहससँग जोडेको देखिन्छ ।
निष्कर्ष :
अन्तयमा, यस ‘मनमनै मन्त्रालय’ नाटकले समकालीन सामाजिक विसङ्गतिलाई मात्रै होइन, बाह्य संरचनाको समस्याका रूपमा प्रस्तुत नगरी त्यसको जरो मानिसको मन, चेतना र नैतिकतासम्म पु¥याउने प्रयास गरेको छ । नाटककारको मानव मनको अन्वेषण गर्ने लेखकीय दृष्टि र निर्देशकको सह–अस्तित्ववादी सामूहिक सिर्जना तथा मुन्दुमी दर्शनमा आधारित रङ्गभाषाबीचको संयोजन यसको प्रमुख विशेषता देखिन्छ ।
मुन्दुमी दर्शन र समकालीन विसङ्गति कथ्यलाई एउटै रङ्गमञ्चीय संरचनामा जोड्ने प्रयासले नाटकलाई सामाजिक व्यङ्ग्य वा राजनीतिक टिप्पणीमा मात्र सीमित हुन दिएको छैन । यसले मानिसको आन्तरिक द्वन्द्व, सामाजिक सम्बन्ध, सत्ता र सामूहिक चेतनाबीचको सम्बन्धमाथि प्रश्न उठाएको छ । अन्ततः ‘मनमनै मन्त्रालय’ले समाज परिवर्तनको प्रश्नभन्दा पहिले मानिसको मन परिवर्तनको प्रश्नलाई केन्द्रमा राख्दै आत्मचेतना, सहानुभूति र नैतिक जिम्मेवारीलाई रूपान्तरणका आधारका रूपमा प्रस्तुत गरेको छ ।






