ऐतराज केरुङ स्मृति गजल पुरस्कार मुकुमलाई


२७ अगष्ट २०२२ । पाँचथर गजल मञ्चले बर्सेनि वितरण गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कारबाट ताप्लेजुङका गजलकार लेकाली कान्छा मुकुम पुरस्कृत हुनुभएको छ ।

एक सय ५७औँ मोतीजयन्तीको अवसर पारेर आज पाँचथरको फिदिममा मञ्चले आयोजना गरेको कार्यक्रममा आठौँ ऐतराज केरुङ स्मृति गजल पुरस्कारबाट लक्ष्मीप्रसाद मादेन (लेकाली कान्छा मुकुम)लाई पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार प्रेम ओझाले मादेनलाई सम्मानपत्र तथा पुरस्कारका संस्थापक मधुराज केरुङले नगद राशिले पुरस्कृत गर्नुभयो । पुरस्कारको राशि रु आठ हजार आठ रहेको छ ।

ताप्लेजुङको फुङ्लिङ घर भएका मादेन विसं २०५८ बाट लेखनमा सक्रिय हुनुहुन्छ । उहाँका प्रिय प्रयास, एक झट्टी हवाई, ऐना, सङ्घीय झिल्कालगायत कृति प्रकाशित छन् । श्रष्टा सागर केरुङ, मधुराज केरुङलगायतको परिवारले ऐतराज केरुङ स्मृति गजल पुरस्कार स्थापना गरी पाँचथर गजल मञ्चमार्फत देशैभरका गजलकारलाई बर्सेनि पुरस्कृत गरिँदै आएको छ ।

उक्त पुरस्कारबाट हालसम्म गजलकार मदन मुच्र्छना, सुन्दर कुरुप, सुमित्रा वाङदेल चेली, प्रकट पङ्गेनी शिवललिजन रावल, रावत र प्रेम ओझा पुरस्कृत भएको पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर मञ्चले १२औँ शब्द शृङ्खलासमेत सञ्चालन गरेको थियो । कार्यक्रममा राज दिलाञ्जली, पूर्ण परिचित जबेगू, नरेन्द्र केरुङ अन्यौल, मणि आँसु चापागाईँ, कुवेर मृदुल आङ्बो, समीर पारखी बेघा र जुनु खतिवडाले गजल वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *