विश्वास – उपेन्द्र सुब्बा
देउरालीमा सिन्दूरले रातै पोतिएर
फूलपातीले छुयाप्पै छोपिएर
एउटा ढुंगा देउता भएर बसेको छ
देउता ढुंगा पनि हुन सक्छ
ढुंगा देउता पनि हुन सक्छ
मात्र विश्वासमा
त्यहि विश्वासमा
निर्बलहरु बल माग्दै ढुंगासामु माथा टेक्छन्
गरिबहरु धन माग्दै रिण गरि बोका काट्छन
दुःखीहरु सुख माग्दै रोईकराई भाकल गर्छन
विश्वास यति घाती छ कि
नाथे एउटा ढुंगाले पनि
यसरी मान्छेको शोषण गर्छ ।
(सुब्बाको हालै प्रकाशित कवितासंग्रह ‘खोलाको गीत’ बाट)