कसंम कलाघर जुम्लाका लागि सहयोग आह्वान
जुम्ला, ४ भदौ २०८३ । कर्णाली खस संस्कृति संरक्षण मञ्च (कसंम), जुम्लाको पहलमा निर्माण भइरहेको ‘कसंम कलाघर’ सम्पन्न गर्न सहयोगको आह्वान गरिएको छ।
कर्णालीको मौलिक कला, संस्कृति, परम्परा तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको कलाधर ६०० वर्गमिटर क्षेत्रफलमा निर्माण हुँदैछ। निर्माण सम्पन्न भएपछि करिब ३०० जना दर्शक अट्ने क्षमता रहने मञ्चले जनाएको छ।
मञ्चका अध्यक्ष भानुप्रसाद उपाध्याय र सचिव दिपेन्द्र उपाध्यायका अनुसार कलाधर निर्माणका लागि करिब रु. ६० लाख अनुमानित बजेट आवश्यक पर्नेछ। निर्माणका क्रममा विभिन्न निकायबाट सहयोग प्राप्त हुँदै आएको र थप स्रोत जुटाएर संरचनालाई पूर्णता दिने प्रयास भइरहेको उनीहरूले बताएका छन्।
उपलब्ध विवरणअनुसार आ.व. २०८२/८३ मा सामाजिक विकास कार्यालय, जुम्लाबाट रु. १५ लाख तथा कनकासुन्दरी गाउँपालिकाबाट रु. ३ लाख सहयोग प्राप्त भएको छ। आगामी चरणको निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न मञ्चले स्थानीय तह, सरकारी निकाय, संघसंस्था तथा सहयोगी व्यक्ति र समुदायसँग सहकार्यको अपेक्षा गरेको छ।
कलाघर निर्माण सम्पन्न भएपछि जुम्लामा स्थानीय तथा कर्णाली क्षेत्रका मौलिक कला, संस्कृति र परम्परासँग सम्बन्धित कार्यक्रम, प्रस्तुति, प्रशिक्षण तथा सांस्कृतिक गतिविधिका लागि स्थायी संरचना तयार हुने अपेक्षा गरिएको छ।
मञ्चले निर्माण अभियानमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई उपलब्ध गराइएको क्यूआर कोड तथा बैंक खातामार्फत आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
मञ्चले “एकले थपी सक्ने, सबैले थपी सक्ने नदी” भन्ने नारासहित सहयोग अभियान अघि बढाउँदै कर्णालीको सांस्कृतिक सम्पदा संरक्षणमा सबैको सहभागिताका लागि अपिल गरेको छ।






