अन्तिम नाच (कथा) -प्रा.डा. विष्णु राई
वनेम्माको अनुहारमा अचानक अनौंठो चित्र कोरियो । मैले कहिल्यै उनमा यस्तो देखेको थिइनँ । उनीे वृद्ध भरियालाई एक दृष्टिमा हेरिरहेकी थिइन् । आँखा मिच्दै फेरि हेर्ने कोशिश गरिन् । तर वृद्ध भरिया सगरमाथा जत्रो भारी बोकेर पल्लो कुइनेटो नाघिसकेको थियो । त्यसैबेला सडकमा बत्ती बल्यो । जीवनेम्माका आँखा तिरमिराए । राम्ररी ठमाउन सकिनन् । पहिले पनि उनलाई आँखाले धोका नदिएको होइन । आज धेरैै निरास देखिइन् । त्यो भरिया कहीं देखेजस्ता,े कहीं चिनेजस्तो लाग्यो । जीवनेम्मा मौन उभिरहिन् । उनको आँखाभित्र ठूलो सामुद्रिक आँधी चल्यो । मनभित्र ज्वारभाटा आयो । ओठ चल्न खोज्यो । अनुहार हतास देखियो ।
“के भयो जीवनेम्मा ?” मैले सोधेँ ।
तर उनी निःशब्द पर हेरिरहिन् ।
जीवनेम्मा अतीतको बादलभित्र हराइन् । त्यो धमिलो आकृतिभित्र उभिरहिन् । उनको पछाडि अनौठा दृश्यहरू छन् । म हेरिरहेछु ।
जेठको मसान्त छ । भोलि भन्ज्याङ्मा वार्षिक साकेला बजार छ । त्यहाँ टाढाबाट सयौं काम छोडेर किरातीहरू नाच्न आउँछन् । आफन्तहरूलाई भेट्न आउँछन् । भेट्छन्, जान्छन् । आवश्यक वस्तुहरू किन्छन् पनि । बजार जानलाई गाउँभरिका प्रायः सबै मानिसहरू उत्सुक छन् । सुम्निमालाई पनि बजार जान पर्वजस्तो भएको छ । गाउँ नै उल्लासमय छ । सुम्निमालाई ताहुती छ । भोलिको लागि आजै गोठमा पूरा घाँस काट्नु छ । वर्षभरि बाकसमा राखेको लुगा ढुसी प¥यो होला ? घाममा सुकाउनुछ । इन्द्रकमल फूल र लिम्चुङ् फूल टिप्न बाँकी नै छ । भोलि फूलहरू चौबन्दीको तुनामा बाँधेर झुण्ड्याउँने मन छ । सिरमा फूल सिउँरेर बजार जाने औधि धोको छ । हतारले आज सुम्निमालाई फुर्सद छैन । हर्षले जीउ फूल भएको छ । भोलिको रमाइलो दिन सम्झेर रातैभर निदाउँन सकिनन् उनी ।
भाले बास्यो । विस्तारै पूर्व उज्यालो भयो । सुम्निमा उठेर खाजा पकाउन थालिन् । त्यसपछि पँधेराबाट पानी भरेर ल्याइन् । तासकुचीनको चौबन्दी चोलीले सुम्निमाको जीउ टम्म मिलेको छ । छिटको फरियाले झन् खुलेकी देखिन्छन् । गलामा रेज्जीको हारी लगाइन् । बिनायो चौबन्दीको तुनामा झुण्ड्याइन् । त्यति गर्दागर्दै गाउँमा छ्याङ्गै उज्यालो भयो ।
‘‘आमा ! म साकेला गएँ है । ’’
‘‘ल, छिट्टै आउनू । छोरीचेलीले होसियारसाथ हिड्नुपर्छ ।” भित्रबाट आमाको आवाज आयो ।
माथि मूलबाटोमा साकेला जानेहरू जाँदैछन् । टोलका मानिसहरू माथिल्लो ठाँंटीमा जम्मा हुँदैछन् । गाउँका मानिसहरू ढोल झ्याम्टा बजाउँदै हतारहतार निस्कदैछन् । साकेलाले युवा पाका सबै मानिसलाई उत्साह उमङ्ग थपेको छ । प्रायः सबै युवतीहरू सुम्निमालेझंै फूल सिरमा सिउरेका छन् । वर्षदिनको चाडले सबै पुुलकित छन् । कोही ढोलको तालमा नाच्दैछन् । कोही साथीहरूसँग जिस्किरहेछन् । बजारमा नाच्नमात्र होइन, भेट नभएका टाढाका नातागोताहरूलाई पनि भेट्ने छन् । सबैले दुःख बिर्सेर साकेलामा हराउनेछन् ।
वर्षायाम प्रारम्भ हँुदै छ । सिमसिम पानी पर्दै छ । डाँडाहरू भुईकुहिरोले छपक्क छोपेका छन् । सबैको शरीरमा चिसो मौसमले उमङ्ग थप्यो । गफ गर्नेहरू गफिदै हिड्दै छन् । गीत गाउँदै कोही हिंड्दैछन् । देउराली पुगेपछि सबैले अग्लो ढुङ्गामा फूल राख्दै ढोगे । शुभदिनको लागि भाकल गरे । अनुरोध गरे । यसबेला दिनको दस बजेको हँुदो हो । बजार भव्यसाथ लागेको छ । विभिन्न ठाउँबाट किरातीहरू वर्ष दिनको सांस्कृति पर्व मान्न आएका छन् । अन्य जातजातिका समुदायहरू पनि बजार हेर्न आएका छन् । पाखाभरि पसल खोलिएका छन् । मानिसहरूको चहलपहल छ । नाचगान सञ्चालन भैरहेछ । वारिपारि पाखा–पर्वतहरू ढोल र नाचको ध्वनिले थर्किरहेछन् । युवायुवतीहरूको समूह ठूलाठूला खण्डको विभक्त भएर ढोलको तालमा गीत गाउँदै नाचिरहेछन् । सुम्निमाका दौंतरी साथीहरू उनीसँगै हाँस्दै नाचिरहेछन् । चार–पाँचसय मानिसहरूको नाचले धर्ती नै उत्सवमय छ । हजारौं मानिसहरू बजारमा उपस्थित भएका छन् ।
लाग्छ, किरातीहरू यो पर्वमा नाचेर थाक्दैनन् । गीत गाएर गला सुक्दैन उनीहरूको । संगीतको तालमा जीउ हात लयबद्ध हल्लाउँदै छन् । कम्मर लच्काउँदै छन् । यस्तो देखिन्छ । यो स्वर्गका परीहरूको नाच हो । हरेकका अधरमा खुसीको मुस्कान छ । बैंसको उमङ्ग छ । ढुुङ्गाले घोचोस्, खिलै उठोस् जीउ नै थिलथिलो होस् उनीहरूलाई मतलब छैन । लगाएको बहुमूल्य गहना हराउन सक्छ । ज्वरो आउनसक्छ । खल्खली पसिना बग्छ, तर उनीहरूलाई पर्वाह छैन । लयबद्ध नाचको शैली परिवर्तन गर्दै नाचिरहेका छन् । प्रत्येकको हातमा इन्द्रकमल फूल छ । सिरमा लिम्चुङ् फूल छ । गुराँसको फूल छ । बजारै फूलमय छ । हरेक महिला पुरुष एउटै समूहमा नाचिरहेछन् । हर्ष उमङ्गले फुलेका छन् । दिन ढल्दै गयो । नाच पातलिदै आयो । बजार बिस्तारै उठ्नथाल्यो ।
सुम्निमा र साथीहरू नाचबाट निस्किए । त्यही पल एक हूल युवाहरू पनि सँगै नाचबाट बाहिरिए । एक युवकले मधुर शब्दमा सोध्यो, ‘‘यहाँहरूको घर कहाँ प¥यो ?’’
‘‘भोजपुर पान्धारे । तपाईहरूको ?’’ लिम्देले सोधिन् ।
‘‘खोटाङ सावा । यहाँको नाम के प¥यो ?’’ अर्को युवकले सोध्यो ।
‘‘मेरो नाम लिम्दे हो । ऊ छालिम्मा । ऊ सिम्मा । उसको सुम्निमा हो ।’’ अग्ली लिम्देले मुस्कुराउँदै भनिन् ।
‘‘माफ रहोस् । फूलको भन्दा बैंसको बास्ना ज्यादा आयो नि ।’’अर्को युवकले बैंसको कुरा प्रारम्भ ग¥यो । युवतीहरूको फूलमा अर्को रङ्ग छरियो । तुरुन्त छालिम्माले भनिन् –‘‘फूलको बास्ना वारिपारि मान्छेको बास्ना डाँडापारि भन्छन् के ? सावासम्म हाम्रो बास्नाले सतायो ?’’
सबै गलल हाँसे । युवकहरू पनि हाँसे । परिचय गरे । एक युवकले पसलबाट रक्सी किनेर ल्यायो । बटुकामा युवतीहरूलाई बाँडन् थाल्यो । उसले सुम्निमा माथि आँखा अघिदेखि लगाइरहेछ । युवक उनीसँग घनिष्ट हुन खोजिरहेछ । परिचयपछि युवाहरूले दिएका सत्कार रक्सी स्वीकार गरे । तर निक्कै समयको नाइनास्तीपछि यस प्रकारको वातावरण प्रारम्भ भयो । घरीघरी आफूलाई कर्केनजर लगाउनेको भावना सुम्निमाले बुझिन् । सुम्निमाले पनि झुम्के थैलीबाट रुपैयाँ झिकिन् । रक्सी किनेर ल्याइ् बांड्दै सोधिन्, ‘‘तपाईको नाम के हो ?’’उनको प्रश्नमा मादकता थियो । लज्जालु पहाड थियो ।
‘‘तपाईको सुम्निमा भए, उसको पारुहाङ ।’’ अर्को गफाष्टिक युवकले तुरुन्त उत्तर दियो । त्यो युवकले उत्तर दिनैपरेन । सुम्निमाले लाजले मुन्टो बङ्ग्याइन् । युवकहरू बैंसको रोमाञ्चित गफमा भुलिए । लामो समयसम्म दुबै समूह सजिलै कुरा गरिरहे । छुट्टिने समयमा दुबै समूहहरू अन्तिम नाचको लागि मैदानमा उत्रिए । ढोलको तालमा नाँच्दै युवाहरूले गीत गाए,–
‘‘धानै रोप्नु असार पन्ध्रमा
कति राम्री देखियो सुिम्नमा
सोल्टिनीको सिरमा चन्द्रमा
ए ….लै लै हो बरी लै लै ।’’
केटीहरूले नाच्दै उत्तर दिए–
‘‘ढोलै बज्यो रिठ्ठाको गज्जाले
नाचेर जाऊ सोल्टी मज्जाले
भेट भयो आज मौकैले
ए …लै लै हो बरी लै लै ।’’
घाम तल झरिसक्यो । मन गाँठो पारेर आफन्त भेट्नेहरू छुटिदैछन् । बजारमा युवायुवतीहरूका माया साटिदैछन् । कसैको माया चुडिदैछ । कोही मायाको पीडाले एकान्तमा रुदै छन् । सुम्निमा र पारुहाङ पनि छुट्टिन तयार छन् । युवकले सुम्निमाको हातमा मायाको चिन्ह झुम्के रुमाल दियो । सुम्निमाले चौबन्दीको तुनामा झुण्डाएकी मालिङगोको बिनायो दिइन् । त्यसपछि भावुक भएर अर्को साल भेट्ने बाचा गर्दै छुट्टिए । सँगै बाँच्ने सड्कल्प गर्दै आफ्नो बाटो हिंडे । वास्तवमा यहाँ प्रेमीहरूमात्र संवेदनशील छैनन् । यो भन्ज्याङ् र देउराली सबै छुट्टिनपर्दा भावुक भएका छन् । प्रकृति शान्त वातावरणमा अस्ताचलको रङ्गीन रङ्गमा बिलाउदैछ । वर्र्ष दिनसम्मको लागि बजार समाप्त हुंदै छ ।
यसपछि सुम्निमाको जीवनमा अनायस ठूलो परिवर्तन आयो । जीवन उमङ्गले छायो । पाखा कन्दरामा दिनहरू बित्दै गए । घाँस, दाउरा, खेताला, गोठ काम गर्दै जीवन बित्दै गए । मनभित्र साकेलाको भेटले माया हुर्किएको छ । अर्को पल्ट भेट्ने सङ्कल्पले मन रमाइरहेछ । त्यो युवकको सुन्दर अनुहार मनभरि छ । तर समय बदलिदै जान्छ । मिलन नजिक हुँदै आउँछ । फेरि उही महिना आउँछ । गाउँभरि इन्द्रकमल फूल फुल्यो । उसै गरी लिम्चुङ फूल फुल्न थाल्यो । पाखाहरूमा गुराँस फुल्न थाल्यो । नयाँ पालुवाको हरियो जङ्गलमा न्याहुली चरी गीत गाउन थाल्यो । यस वर्ष पनि गत वर्षझैं पूरै गाउँ भन्ज्याङ्गको साकेला नाच जानलाई उत्सुक छ । बजार जानलाई लहर चल्दैछ । अझ सुम्निमाको लागि यो साकेला बजार विशेष महत्व छ । आपmनो मायालाई भेट्नु छ । मनको युवराजलाई नयाँ रुमाल उपहार दिनु छ । त्यसभित्र उसको नाम र आफ्नो नाम लेखेकी छ । उससँग भेट्नलाई खानेपरिकार तयार पारेकी छ । साथीहरूले थाहा पाउलान् कि ? भन्ने डरले त्यति नै शसङ्कित भएकी छ । पोहरजस्तै यसपालि पनि साकेला जानेहरू ढोल बजाउँदै मूलबाटोमा निस्कदै छन् । सबैको मुहार हर्षले छाएको छ । सुम्निमा साथीहरूसँग बजार हिडिन् । सुम्निमा र साथीहरू फूलजस्तै सिँगारिएका छन् । जसरी गतवर्ष सिँगारिएका थिए । हातमा झुम्के रुमाल र इन्द्रकमल फूल लिएका छन् ।
मौसम सफा छ । घाम चर्को छ । बादल आकासमा छैन । आकाशबाट पानी नवर्षेका कारण खेतीगर्न खडेरीे भएको छ । त्यसैले पनि गाउँमा सबैलाई फुर्सद छ । गाउँभरिका मानिसहरू भन्ज्याङगको वार्षिक किराती नाचमा ढोल बजाउँदै जाँदै छन् । गीत गाउँदै उत्साहसाथ जाँदै छन् । मनमा सुम्निमालाई बजार पुग्न ढिलो भैरहेछ । तर अचानक नसोंचेको घटना घट्यो । बीस पच्चीस युवाहरूको समूहले तरुणी सुम्निमालाई बोकेर आफ्नो घरतर्फ भगाए । बाजले चल्ला टिपेझैं युवाहरूले सुम्निमालाई भगाए । सुम्निमा चिच्याइन् । साथीहरूले खोस्ने प्रयत्न गरे तर असफल भए । बजार जानेहरू मल्ल युद्ध देखेर केही पलसम्म डराए । गैरी गाउँको लाहुरेले केटी समायो भन्ने हल्ला चल्यो । बल्ल बाटामा हिंड्ने मानिसहरूको त्रासद मन सामान्य परिस्थितिमा बदलियो । त्यसपछि सुम्निमालाई के भयो थाहै भएन । हुलमा हिंड्दाहिंड्दै बजार जानेले भन्यो– ‘‘आम्मै बाघले झम्टेजस्तै झम्टे । एकै झिमिक्मा केटी बोकेर डाँडा कटाए । लाहुरे भर्खर पल्टनबाट आएको हो । के छोड्दथ्यो । बैंसको झोक निकाले पछि कस्को के लाग्थ्यो ।’’
अर्कोले भन्यो – ‘केटी पनि गाउँकी रोज्जी थिई ।’
‘‘हो ’’ हुलबाट कसैले बोल्यो ।
त्यो घटनाबाट सबै डराए । बजार जानेहरू झगडा हुने सम्भावनाबाट त्रस्त भए । डरको आभासले सुम्निमाका साथीहरू हतासभएर घर फर्किए । बिस्तारै बजार जानेहरूको भय हट्दै गयो । स्थिति सामान्य हुँदै गयो । लाहुरेको आक्रमणबाट सुम्निमा अर्कैकी स्वास्नीमा रुपान्तरित भइन् । सुम्निमाको होस् लामो समयको अन्तरालपछि फर्कियो । त्यसपछि थाहा पाइन् । आफू समातिइएकी कुरा । अर्कै ठाउँमा ल्याइएकी कुरा । कसैको स्वास्नी भएकी कुरा । मन दुख्यो । धेरै दिनसम्म रोइन् । केही खाइनन्, तर बाध्यताभन्दा अर्को विकल्प सुम्निमाको थिएन । स्वीकारभन्दा पर कुनै अर्काे परिस्थिति थिएन । धेरै रात रोइन् । खाना खाइनन् । जीवनमा लाएको माया अधुरै भयो ।
आज गाउँमा रमाइलो चहलपहल छ ।
एक महिनापछि सुम्निमा लोग्नेसँग माइत फर्किइन् । हातमा चाँदीको चुरा लगाएकी छ । गलामा नौगेडी पोते छ । कानमा च्याप्टे सुन पहिरेकी छ । सिरमा जूनकिलिप छ । नाकमा झुम्के बुलाकी छ । रेज्जीको हार छ । खुट्टामा चाँदीको कल्ली पहिरेकी छ । सुम्निमाको बैंस मोहक उघ्रेको छ । औधी खुलेकी छ । लाहुरेले सासू ससुराको समीपमा चिण्डोको रक्सी राखेर ढोग्यो । सिर उभ्याँउनु केही रकम राखेर ढोग्यो । त्यसपछि सबैले नयाँ ज्वाँइलाई स्वीकार गरे । सुम्निमा लाजले निहुरिइन् । टोलमा रमाइलो वातावरण छायो ।
त्यसपछि सुम्निमा लोग्नेसँग भोलिपल्ट पल्टन गइन्
त्यसपछि माइत फर्कने समय आजतक जुरेको छैन
जीवनका धेरै यामहरm बिते
धरानमा सुखसाथ जिन्दगी बिताएकी छन्
पोहर साल जीवनको
बावु जीवनेम्पाको मृत्यु भयो
घरमा छोरा जीवन छ
लाहुरेनी जीवनेम्माको सम्पन्न परिवार छ ।
त्यो वृद्ध भारीवाला ढाक्रे उही मान्छे पारुहाङ त होइन ? कताकता साठी वर्ष नाघेकी जीवनेम्माको नयनमा पुरानो त्यो युवकको आकृति आयो । ढल्दै गएको उमेरको कारण प्रस्ट ठम्याउन सकिनन् । उनको छातीमा अचानक पहाडले थिच्यो । त्यो युवकसँग अन्तिम सकेला नाचेको नाच आँखामा हेरिरहिन् । पाखा कन्दराहरूमा हुर्केकी सम्झिन् । पुरानो आफ्ना कथामा विह्वल भएर हराइन् ।
आजसम्म मैले जीवनेम्मालाई कहिले यस्तो भावुक देखेको थिइनँ । उनको हृदयका व्यथा बुझेको थिइनँ । म अचम्मित भएँ । उनको पछाडि यति धेरै अर्थपूणर््ा अतीतका कथाहरू रहेछन् । माघको चिसो हावा रातमा बगिरहेछ । जीवनेम्मा सडकमा एकटक उभिरहिन् । म उनलाई हेरिरहेछु ।






