साहित्यमा संस्कृति-बद्रीप्रसाद ढकाल (पिएच डी स्कलर)
विषयपरिचय :
साहित्यमा संस्कृतिको प्रयोग गरिएको हुन्छ । संस्कृतिलाई आत्मसात् गरेर साहित्य सिर्जना गरिन्छ । त्यसैले यहाँ साहित्य र संस्कृतिको सम्बन्ध देखाउनका लागि साहित्य तथा संस्कृतिको परिचयसँगै सहसम्बन्धलाई प्रस्तुत गरिएको छ ।जीवनजगत्का विभिन्न अुनुभूति तथा अनुभवद्वारा प्राप्त ज्ञानका आधारमा मौलिक, काल्पनिक, ऐतिहासिक लेखन गर्नु नै साहित्यत्मक लेखन हो । साहित्यिक लेखन अनुभूतिजन्य हुन्छ । कलापूर्ण, संवेगात्मक, मौलिक अनुभवलाई विशिष्ट वा सरल भाषाको माध्यमबाट लेखिने स्वतन्त्र लेखन साहित्यिक हुन्छ । मानवचेतनाको अन्तर्भावद्वारा नै साहित्यिक लेखनको जन्म हुन्छ जसका माध्यमबाट जीवन र जगत्का ज्ञानलाई अनुभव र अनुभूतिबाट प्रस्फुटन गरिन्छ ।
साहित्यका विभिन्न विधागत स्वरूपमा कथा, कविता, उपन्यास, निबन्ध जस्ता विधागत रचना गर्नु वा लेखन गर्नु नै साहित्यिक लेखन हो । भाषिक कलाका माध्यमबाट ज्ञान, अनुभव विषय, वाक्यगठनमा बुद्धि र अनुभवका आधारमा रचना गरी साहित्यिक लेखन गरिन्छ । साहित्य साधनामा गरिने लेखन साहित्यिक लेखन हो । साहित्यिक लेखन अन्य लेखनभन्दा विशिष्ट हुन्छ । साहित्य साधनामा गरिने लेखनले विधागत स्वरूप प्राप्त गर्दछ । यो सर्जकद्वारा गरिने लेखन हो । साहित्यिक लेखन अन्य लेखनभन्दा विशिष्ट हुन्छ । पाठकको मन छुने जादुमयी भाषाको प्रयोग गरी रचना गरिएको साहित्यिक लेखन उत्कृष्ट मानिन्छ । कुनै तह, कक्षा वा अनौपचारिक विषयमा लेखिएको लेखन साहित्येत्तर लेखन हो । कुनै निश्चित उद्देश्यपूर्तिका लागि साहित्येत्तर लेखनको आवश्यकता पर्दछ । साहित्यभन्दा भिन्न विभिन्न स्तर वा तहका लागि यो लेखन आभ्यासिक प्रयोजनका लागि लेखिन्छ । आधारभूत विशेषता समेटिएको साहित्येत्तर लेखनमा अभिव्यक्ति कौशलको प्रयोग गरिन्छ । ज्ञान र अध्ययनको दृष्टिले गहन विचारणीय तर्कसम्मत कुनै विषयमा दक्षताप्राप्त गरेका विशिष्ट व्यक्तित्वद्वारा दीर्घसाधना गरी लेखिएको साहित्यिक तथा गैरसाहित्यिक लेखनलाई प्राज्ञिक वा बौद्धिक लेखन भनिन्छ । यसभित्र शास्त्रसम्मत विचार र धारणालाई तर्क वा उदाहरणबाट पुष्टि गरिएको हुन्छ ।
जीवन दर्शन, व्यावहार, जन्म, मृत्यु वा संसारका सूक्ष्मवस्तुको सूक्ष्म ढङ्गबाट विश्लेषण गरिएका बौद्धिक तथा प्राज्ञिक लेखले चेतनाको स्तरको अभिवृद्धि गराउँछ । कुनै विषयप्रति गरिएका गहन अध्ययन, अनुसन्धान र तिनबाट प्रतिपादित सिद्धान्त वा धारणा बौद्धिक वा प्राज्ञिक लेखनका विषय हुन् । बुद्धिद्वारा ग्रहण गरिएका विभिन्न बोधलाई यस लेखनलाई समावेश गरी नवीन सोच, नयाँ कल्पना मानसिक शक्ति एवम् तर्क विवेक र विशिष्ट ज्ञानको प्रयोग गरिएको हुन्छ । ज्ञान–संज्ञानमा आधारित यथार्थलाई नवीन ढङ्गबाट हेर्ने दृष्टिकोणका साथै तार्किक शैलीमा अभिव्यक्त गरिएको लेखनका रूपमा प्राज्ञिक तथा बौद्धिक लेखन पर्दछन् । निरन्तरको अध्ययन, बुद्धि र विवेकको प्रयोग गर्दा गरिएका अनुसन्धेय विषयका निचोड वा सार बौद्धिक तथा प्राज्ञिक लेखनमा आएका हुन्छन् । विशिष्ट लेखनकलामा खारिएर लेखिएका यस्ता लेखन बुझ्नका लागि पनि यथेष्ट ज्ञानको खाँचो पर्दछ । उच्चकोटीको साहित्य लेखनमा बौद्धिकता झल्कन्छ त्यसैले बौद्धिक तथा प्राज्ञिक लेखन लामो ज्ञान आर्जनपछिको सार हो निचोड हो भन्न सकिन्छ । त्यसैले अनुसन्धानद्वारा तर्कसम्मत लेखिएका बौद्धिक तथा प्राज्ञिक लेखनको स्तर विशिष्ट हुन्छ ।
साहित्य भन्नाले कुनै पनि विधागत रचना हो भनेर बुझिन्छ । आफूभित्र रहेको प्रतिभालाई प्रस्तुत गर्न साहित्यको सहारा चाहिन्छ ।साहित्य कला हो, सीप होे । यो संसार पनि एक अनुपम साहित्य हो, सृजनम् आत्मा (सृज्यतेनया) साहित्य आत्माबाट गरिन्छ । साहित्य शब्द यस्तो शब्द हो, जुन बिना कुनै रचनात्मक कार्य वा निर्माण कार्य हुँदैन । साहित्यको माध्यमबाटै आजको विकसित समाज निर्माण हुन पुगेको हो । प्रत्येक मानव मस्तिष्कलार्ई साहित्य सृष्टि गर्ने देन हुन्छ । साहित्य मानव मस्तिष्कले चाहेर पनि हुन सक्दैन, नचाहँदा नचाहँदै पनि हुन्छ । अन्तर्निहित प्रतिभालार्ई उजागर गर्न साहित्यको सहारा लिनु जरुरी देखिन्छ ।
नेपाली साहित्याकाशमा पनि कथा, उपन्यास, कविता, निबन्धका धेरै विधाहरू साहित्यमार्फत् सिर्जित भएका छन् । कविता विधा भने जनजनको स्नेह र मायाको भाव पाएर आदरका साथ प्रतिष्ठित छ । संस्कृत साहित्यको अनुकरण गर्दै छन्दोबद्ध कविता विधा भने नेपाली जन–जनको बोलीमा रहन सफल देखिन्छ । हुन त जसले जुन धारामा साहित्य गर्दछ, उसको त्यही विधा बन्दछ, त्यो आख्यान, कविता, गीत, गजल मात्र नभई साङ्गीतिक रूपमा पनि हुन सक्दछ । साहित्य एक मौलिक चिज हो । सर्जकहरू साहित्यको विभिन्न विधामा रचना गर्छन् । जीवन दर्शनबोध, साहित्यको प्रभाव अनुभूति, संवेग, समसामयिक परिवर्तन तथा गुरुका सङ्गत तथा महान् आदर्शवाणीको प्रेरणाद्वारा सर्जकमा साहित्यप्रतिको अभिरूचि वृद्धि हुन पुग्दछ । निरन्तरको साधना, अभ्यास तथा विशेष साहित्यत्मक विचार नै साहित्यको मूल सृष्टि हो जसलार्ई पूर्वीय तथा पश्चिमी विद्धान्हरूले प्रतिभा, व्युत्पत्ति, अभ्यास भनेका छन् । शिल्पशैली, साधना भन्नुको तात्पर्य नै साहित्य गर्ने व्यक्तिमा विशेषतः आधारभूत ती गुणहरू हुनु जरुरी छ । साहित्य परिपुुष्ट तथा खँदिलो एवम् पाठकलार्ई बौद्धिक तथा मानसिक मनोरञ्जन सन्तुष्टि तथा ज्ञान दिन सर्जकमा प्रतिभा, व्युत्पत्ति र अभ्यास उत्तिनै महŒवपूर्ण मानिन्छन् । एउटा उत्कृष्ट साहित्य बन्न यी तीनै तŒवहरू हुनु जरुरी छ ।
पूर्वीय आचार्यहरूले प्रतिभा, व्युत्पत्ति, अभ्यासलार्ई साहित्य साहित्यका कारक तŒव मानेका छन । त्यसैगरी पश्चिमी विद्वान्ले पनि काव्यहेतुका रूपमा कल्पना, दैवीप्रेरणा, चिन्तन, सहृदयता, इमान्दारी, कामवासना, अभावतृप्ति, अन्तर्भावना, जीवनेच्छा, जिजीविषा, भौतिक मूल्यदृष्टि आदिको चर्चा गरेका छन । पूर्व र पश्चिमका विभिन्न विद्वान्हरूले काव्य, कविता आख्यान तथा नाटकलार्ई विभिन्न किसिमले परिभाषा गरेका छन् । विधागत तŒवका निक्र्याैलका बारेमा एकरूपता पाइँदैन । कुनै पनि साहित्यिक विधामा लेख्ने काम गर्नु नै साहित्यिक लेखन हो । त्यसभित्र क) कलात्मकता, ख) अनुभूतिप्रधानता, ग) तार्किकता, घ) वैयक्तिक दृष्टि,ङ) सङ्गठनात्मकता, च) हार्दिकता, छ) सौन्दर्यात्मकता,ज) भाषिक विचलनझ) अनौपचारिक, भावपरक जस्ता गुण रसाहित्यका लागि शब्दज्ञान हुनुपर्दछ । शब्दको ज्ञान सुनेर, पढेर, छोएर र हेरेर गर्न सकिन्छ र तिनैको विशिष्ट प्रयोगबाट साहित्यको रचना गरिएको हुन्छ । साहित्यमा प्रयोग भएको संस्कृतिले समाजको विकसित रूपलाई प्रस्तुत गर्दछ । यहाँ संस्कृति के हो ? भन्ने कुरालाई स्पष्ट पारिएको छ :
संस्कृति के हो ? कसरी निर्माण हुन्छ, यसको प्रकृति के हो ?, संस्कृतिको आधार के हो ? यसले मौलिक पहिचानलाई के कसरी स्थापित गरेको छ जस्ता संस्कृतिसम्बन्धी यावत् कुरालाई बुझाउन र परम्परित प्रक्रियामा आएको संस्कारजन्य संस्कृतिको जीवन्ततालाई जोगाउने कार्य गर्दछ ।संस्कृति भनेको परम्परित जीवनशैली हो । मानव सभ्यताको विकासँगै जङ्गली युग, सिकारी युग, कृषि युग र औद्योगिक युग हुँदै मानिसले जीविकोपार्जन गर्ने क्रममा विभिन्न कुरा सिक्दै र भोग्दै आएको छ । फरक फरक युगका सिकाइ, भोगाइ र तत् तत् समयका जीवनशैली या जीवनपद्धतिबाट नै मानव संस्कृतिको विकास भएको हो । त्यही परापूर्वकालदेखि मानिंदै आएको चालचलन नै संस्कृतिको रूपमा विकसित हुँदै आएको हो । सामान्यतः मानिसको जीवनशैली, रीतिथिति, परम्परा, वेशभूषा, खानपान, चाडपर्व आस्था, विश्वास, नाचगान, धर्मकर्म, सीपकला, कथा–गाथा आदिलाई मात्र संस्कृतिको रूपमा बुझ्ने गरिन्छ । कुनै पनि जाति, वर्ग र समुदायले परापूर्व कालदेखि नै अनवरत रूपमा अवलम्बन गर्दै आएको, अङ्गीकार गर्दै आएको समग्र क्रियाकलापको समष्टि रूपलाई नै संस्कृति मानिन्छ ।
संस्कृति संस्कारबाट विकसित भएको मौलिक जीवनपद्धति हो, मौलिक पहिचान हो । यो जातजाति, क्षेत्र, वर्ग तथा समुदायअनुसार भिन्नभिन्न हुन्छ । संस्कृतिकै कारणले समाजको आफ्नो मौलिक परिचय स्थापित भएको हुन्छ । कुनै निश्चित भूभागमा बस्ने निश्चित पहिचानयुक्त जातिको साहित्य कला, आचारविचार, व्यवहार वा तिनका यावत् क्रियाकलापलाई नै संस्कृतिको समग्रता मानिन्छ । संस्कृतिभित्र दैनिक क्रियाकलाप, चालचलन, वेशभूषा, भाषा, प्रथा, विश्वास, प्रवृत्ति तथा विभिन्न अवसरमा मनाइने चाडपर्व पर्दछन् । ती प्रकृति, प्रवृत्ति, वातावरण र निरन्तरताको अवस्थाको परिणति पनि हुन । संस्कृतिको बारेमा जान्नुपर्दा अहिले विश्वमा चलनमा रहेको संस्कृति– मूर्त संस्कृति (भौतिक) र अमूर्त (अभौतिक) गरी दुई प्रकारका छन् ।
मूर्त संस्कृतिभित्र भौतिक वस्तुहरू (देख्न र छुन सकिने) मस्जिद, मन्दिर, गुम्बा, विहार, घर, मेशिन, हातहतियार, पाटी, पोखरी, खेलमैदान, आदि मानव निर्मित वस्तुहरू पर्दछन् भने अमूर्त संस्कृतिभित्र अभौतिक वस्तुहरू (देख्न र छुन नसकिने) भाषा, साहित्य, धर्म, दर्शन, विचार, आस्था, मूल्य, मान्यता, सिप, कला, खानपान, नाचगान, हासखेल, जात्रा÷उत्सव, गीत–सङ्गीत, माया–प्रिती, रोदन–क्रन्दन, ज्ञान, विवेक, रुचि, स्वभाव आदि अमूर्त वा अभौतिक वस्तुहरू पर्दछन् । विश्वका मानव समुदायका हरेक जाति, वर्गले आ–आफ्नो तरिकाले जीवनयापन गरेका हुन्छन् । तिनीहरूले आफ्ना पूर्वजका विभिन्न क्रियाकलापलाई परम्पराका रूपमा अनुसरण गर्ने भएकोले सोही अनुरूपको संस्कृति निर्माण भएको हुन्छ । त्यसैले संसारमा विभिन्न प्रकारको संस्कृतिको जन्म, विकास र प्रचलन हुन पुगेको हो । यसरी मानिसद्वारा निर्मित संस्कृतिको अनेक रूप र प्रकार हुने गर्दछन् । संस्कृति मानिसको पहिचान हो ।
साहित्यमा संस्कृति यही संस्कृतिका विभिन्न पक्ष समेटेर साहित्यको सिर्जना गरिन्छ । साहित्यभित्र वर्ग, भाषा, सामाजिक अवस्थाजस्ता संस्कृतिको चित्रण गरिएको हुन्छ । साहित्य र कला मानवीय संवेदनाका अभिव्यक्ति मात्र नभएर यसमा समाजका सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि विभिन्न संरचनात्मक पक्ष र त्यसको प्रभावको स्वरूपको निर्मित पनि हो । त्यसैले साहित्यिक कला लेखक कलाकारको रागात्मक अन्तश्चेतनाको उपज हुँदाहुँदै पनि त्यसको स्वरूप सांस्कृतिक एवम् राजनीतिक बन्न पुग्छ । यस्तो अवस्थामा साहित्यिक कृतिमा संस्कृतिको अवस्थाको खोज निकै जटिल बन्न सक्छ । सरल रूपमा साहित्यमा प्रयुक्त वर्गीय, तथा भाषिक संस्कृतिको खोज परम्परित विधाशास्त्रीय चिन्तनका दृष्टिकोणले कृतिमा अन्तरनिहित साहित्यिक सौन्दर्यको मूल्य निरूपण त होला तर कृति भित्रका सामाजिक र सांस्कृतिक एवम् राजनीतिक पक्ष र तिनको प्रभावको विश्लेषण हुन सक्दैन । त्यसैले साहित्य, सिर्जना र आलोचना सामाजिक विश्वपरिवेश अनुकूल गतिशील र परिवर्तनशील हुँदै गर्दा परम्परित मूल्य र मान्यताका परिधिमा रहेर साहित्यको अध्ययन गर्नुपर्ने देखिन्छ । त्यसैको फलस्वरूप साहित्यिक अध्ययन परम्परित विधा शास्त्रीय र साहित्य शास्त्रीय समालोचनाका मान्यताबाट उन्मुक्त हुँदै आज अन्तर्विषयक अध्ययनका रूपमा पनि विकसित भएको छ ।
साहित्यमा प्रयुक्त संस्कृतिको अध्ययन तथा संस्कृति र साहित्यको नवीन विश्लेषण पद्धति नै सांस्कृतिक अध्ययन हो । सांस्कृतिक अध्ययन कुनै त्यस्तो विशिष्ट र निश्चित स्वरूप प्राप्त गरेको अध्ययन प्रणाली होइन । तैपनि परम्परित साहित्य समालोचनाका मापदण्डमा अहिलेको साहित्यिक सिर्जनामा अन्तरनिहित अन्तर्विषयक यावत् त्यस्ता सामाजिक, सांस्कृतिक, राजनीतिक पक्षहरूको अध्ययन सम्भव पनि देखिँदैन र केवल त्यो साहित्यिक सौन्दर्य मूल्यको निरूपणमा मात्र सीमित देखिन्छ । साहित्य समाजको वस्तु यथार्थमा लेखिने र त्यस लेखाइमा लेखकले भोगेको युग, सामाजिक परिवेश, बाँचेको युग, संसार र समाजको आर्थिक राजनीतिक उत्पादक र उत्पादन सम्बन्ध आदिको प्रभावको स्वरूपको निर्मित भएकाले पनि वैकल्पिक र नवीन चिन्तन र परिवेशसँगैको समालोचना प्रणाली वा पद्धतिका रूपमा साहित्यको सांस्कृतिक अध्ययन पद्धति जन्मन पुगेको देखिन्छ ।
परम्परित साहित्य समालोचनाका मापदण्डमा सांस्कृतिक अध्ययनले प्रश्न उठाएको छ भन्दै संजीव उप्रतीले भनेका छनः “परम्परित साहित्य समालोचना (कला समालोचनाकै) मूल्यात्मक थियो । त्यसले कुन रचना राम्रो वा उत्तम छ कुन नराम्रो वा स्तरहीन भनेर मूल्याङ्कन गर्ने गथ्र्यो । यस विपरीत सांस्कृतिक अध्ययनले भने मूल्याङ्कनका मापदण्ड तथा ती मापदण्डको राजनीतिक आर्थिक परिप्रेक्ष्यलाई प्रश्न गर्छ” (उप्रेति, २०६८, पृ.२९) । यसरी साहित्यको विश्लेषणमा जुन किसिमको मान्यताको आलोचना भयो त्यसैले सांस्कृतिक अध्ययन साहित्य विश्लेषणको नवीन पद्धतिका रूपमा विकसित भएको देखिन्छ । साथै परम्परित साहित्य समालोचना अध्ययनको ठूलो सङ्ख्या सिद्धान्त निर्देशित दृष्टिकोणका आधारमा कृतिको अध्ययन गर्छ । त्यसमा दैनिक व्यवहारहरू समेटिँदैनन् । विधा सिद्धान्तमा आधारित रही सामान्यीकरणमा मात्र सीमित रहने हुनाले त्यस्तो अध्ययनले कृतिभित्र समेटिएका अन्य कतिपय धारणाहरूको खोजी हुन सक्दैन ।
साहित्य र संस्कृतिको अभिन्न नाता छ । साहित्य कहिल्यै पनि संस्कृतिदेखि अलग हुन सक्दैन । हरेक साहित्यले सांस्कृतिक चेतनालाई अभिव्यक्त गरेकै हुन्छ । तर परम्परित साहित्य समालोचनाले उच्च,परिष्कृत र सम्भ्रान्त संस्कृतिलाई मात्र संस्कृति मानेर त्यसको विश्लेषणमा जोड दिन्छ । संस्कृति भनेको उच्च मात्र हुँदैन । संस्कृति जीवनको समग्र पद्धति भएकोले यसले निम्न,श्रमिक, मजदुर, सीमान्तकृत सबैका जीवन भोगाइका सांस्कृतिक अनुभूतिहरूलाई समेट्छ । संस्कृति वस्तुतःमानव जातिको आन्तरिक एवम् वाह्य गुण र व्यवहारको समष्टि हो । यसलाई कुनै देश वा जातिले आफ्नो जीवन परम्पराद्वारा प्रयोग तथा अभिव्यक्ति गर्दछ । यसर्थ संस्कृति हरेक वर्ग, समुदाय जात जातिको समग्र पद्धति भएकाले परम्परित साहित्य शास्त्रीय मान्यताले उच्च र सम्भ्रान्त वर्गको साहित्य बाहेक अन्यलाई यसले आफूभित्र समेट्दैन । जसको फलस्वरूप परम्परित साहित्य चिन्तनले समेट्न नसकेका यावत् नवीन पक्षहरूकै खोजी र विश्लेषणका लागि सांस्कृतिक अध्ययनको प्रारम्भ भएको देखिन्छ ।
सांस्कृतिक अध्ययनले विभिन्न किसिमका साहित्यिक कृतिभित्रका सांस्कृतिक राजनीतिक अवस्थालाई उजागर गर्ने प्रयास गर्छ । साहित्यिक कृतिहरू विभिन्न किसिमका राजनीतिक, आर्थिक र सामाजिक परिप्रेक्ष्यमा लेखिन्छन् । समाजको आर्थिक सामाजिक सांस्कृतिक उत्पादनको संरचना, मिडियाको विश्वव्यापीकरण प्रवाह तथा चलिआएका सामाजिक मान्यताले पनि साहित्यको लेखन र पठन एवम् विश्लेषणलाई प्रभाव पारेकै हुन्छ । त्यसर्थ साहित्यलाई अध्ययनको छुटै क्षेत्रका रूपमा मात्र विशिष्टीकृत ढङ्गले हेर्न सकिँदैन र हेर्ने प्रयत्न गर्दा पनि साहित्यको सामाजिकता, राजनीतिकता र आर्थिक अवस्था एवम् प्रभावको सामाजिक आर्थिक सांस्कृतिक पक्षको विश्लेषण नहुने देखिन्छ । त्यसैले साहित्यलाई पनि समग्र संस्कृतिका अन्य क्षेत्रहरू एवम् मिडिया लगायत ती क्षेत्रका आर्थिक राजनीतिक कारकहरूसँग जोडेर विश्लेषण गरिनु पर्छ ।
सांस्कृतिक अध्ययन कुनै एक विचार वा सिद्धान्तभन्दा पनि यो बहुअनुशासनात्मकतामा आधारित छ । यसको सिर्जनात्मकता, वैचारिकता खुलापन र सहजताका कारणले पनि यसका निश्चित प्रस्तावनाहरू हुन सक्दैनन् । समाज साहित्य र संस्कृतिको परिवर्तनशील गुणले गर्दा पनि साहित्य भित्रको सामाजिकता एवम् आर्थिक प्रभावको स्वरूप ऐतिहासिक रूपमा गुणात्मक र परिवर्तनशील नै हुन जान्छ । जसले गर्दा साहित्यको विश्लेषण सांस्कृतिक अध्ययनमा सामाजिक र सापेक्षरूपले परम्परितभन्दा नवीन बन्दै जान्छ । अर्थात् आफ्ना अवधारणाहरूमा परिष्कार र परिर्माजन गर्दै लैजान्छ । यसले गर्दा सांस्कृतिक अध्ययनको निश्चित र स्थिर खालको अवधारणात्मक स्वरूप नहुने देखिन्छ । यो सान्दर्भिक र ऐतिहासिकतामा आधारित हुन्छ । यसका अस्थायी र गत्यात्मक एवम् खुला र लचिलो खालका अध्ययनका आधारहरू निर्माण हुन सक्छन् । तैपनि साहित्यको सांस्कृतिक अध्ययन गर्दा कुन कुन आधारमा त्यसलाई हेर्न सकिन्छ भन्ने बारेमा विद्वान्हरूले केही प्रस्तावनाहरू प्रस्तुत गरेका छन् । तिनीहरूलाई यहाँ प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।
सांस्कृतिक अध्ययनका लागि साहित्यिक पाठ वा अन्य कुनै किसिमका सांस्कृतिक उत्पादन सांस्कृतिक समूहका सदस्यहरूका नाताले स्रष्टाले ग्रहण गर्ने अनुभूतिकै अभिव्यक्ति हो (ज्ञवाली, २०७०, पृ.७५) । लुइस टाइसनले स्टेफेन ग्रिनबल्टलाई उद्धृत गर्दै कुन किसिमका व्यवहार र अभ्यासलाई साहित्यिक पाठले उत्प्रेरित गरेको छ, निश्चित समय र स्थानमा त्यसका पाठकले किन त्यस कृतिलाई दवावका रूपमा लिन्छ, कृतिकार र पाठकका मूल्यमा केकस्ता भिन्नताहरू छन्, कुन किसिमको सामाजिक बुझाइमा साहित्यिक पाठ आधारित छ भन्ने जस्ता प्रश्न गर्न सकिने कुरा उल्लेख गरेका छन् ।
साहित्यको सांस्कृतिक अध्ययनमा यसप्रकारका प्रश्नहरूलाई आधार बनाउन सकिने कुरा अभिसुवेदीले यसरी राखेका छन ः अमुक साहित्यले पार्ने प्रभावको प्रकृति के हो, त्यस कृतिको समय सापेक्षता के छ, अमुृक कृतिले प्रतिनिधित्व गर्ने मूल्य कस्ता छन –अवशेषमुखी प्रभुत्वमुखी वा भावितामुखी त्यो रचना कुन समय वा कुन कालमा रचिएको हो र रचना गर्ने तथा रचना गरिएको समाजको अवस्था के छ, विश्वव्यापीकरण भएको अवस्थामा अमुक कृतिको युगसँगको सांवादिक महत्त्व के छ अमुक रचना कसका निम्ति बोल्छ –नारी, सीमान्तकृत, समलिङ्गी, हैकमवादी, माथिल्लो वर्ग वा तल्लो वर्ग लेखकको निजत्व र उसका रचना बिचको सम्बन्धबाट कृतिको प्रभाव सिर्जना हुन्छ? भन्ने जस्ता विविध प्रश्नहरूलाई साहित्यको सांस्कृतिक अध्ययनका आधारका रूपमा प्रस्तुत गरेका छन् (सुवेदी, २०६८, पृ.१३९) । उपर्युक्त खालका प्रश्नहरू केवल प्रतिनिधित्व मात्र हुन् । यस्ता अन्य धेरै विषय वा पक्षहरूमा कृति विश्लेषणका सन्दर्भमा जिज्ञासा राख्न सकिन्छ । यसरी सांस्कृतिक अध्ययन समय सापेक्ष गतिशील र ऐतिहासिक दृष्टिले अनेक पटक अनेक ढङ्गले विश्लेषण गर्न सकिन्छ ।
सांस्कृतिक अध्ययनका क्रममा कला साहित्यले धेरै महत्त्व राख्छ किनभने कलाकृतिमा निहित संस्कृतिको माध्यमबाट सामाजिक राजनीतिक सांस्कृतिक स्वरूपको प्रतिबिम्ब प्राप्त हुन्छ । साहित्यको सांस्कृतिक अध्ययनले साहित्यिक कृतिमा विशेषतः संस्कृतिको राजनीतिक र आर्थिक स्वरूपको खोजी गर्छ । यसले समाजमा रहेका विविध सांस्कृतिक स्वरूपहरूमध्ये केन्द्र र परिधिका संस्कृति बिचको असमान र अमिल्दो सम्बन्धलाई अनावृत गर्छ र केन्द्रभागमा रहेका शक्तिको व्यतिरेकमा परिधीय वा सीमान्ततामा रहेका शक्तिको पहिचान र प्रतिनिधित्व कसरी भएको छ र त्यसमा सीमान्तीय वर्गले कसरी प्रतिरोध गरिरहेको छ भन्ने त्यसखालको सामाजिक राजनीतिक संस्कृतिलाई खोजी गर्छ । यसरी हेर्दा साहित्यिक अध्ययनमा केवल कृतिमा मात्र सीमित नभएर सामाजिक संरचनामा दबाबमा परेकाहरूको अर्थ, विचार, भावना र जीवन भोगाइलाई पनि विशेष ख्याल राख्दछ ।
साहित्यको सांस्कृतिक अध्ययनमा कृतिमा व्यक्त सांस्कृतिक प्रतिनिधित्वले कस्तो आर्थिक, सामाजिक सम्बन्धलाई व्यक्त गरेको छ, कृतिमा भएको सांस्कृतिक प्रतिनिधित्वले वास्तविक सामाजिक आर्थिक स्थितिलाई कसरी आवरण प्रदान गरेको छ, कृतिमा प्रभुत्वशाली वर्गको केन्द्रीयता वा वर्चस्वको स्थिति र त्यसको प्रतिनिधित्व कस्तो छ, कसरी सहमतीय पद्धतिका माध्यमबाट उत्पीडनमूलक संरचना वा व्यवहारलाई उत्पीडितहरूले सहने अवस्था कायम रहेको छ वा त्यसप्रति अविरोधको अवस्था कायम छ र त्यस खालको राजनैतिक सांस्कृतिक विचारधाराको भूमिका कस्तो छ, परिवर्तित परिस्थितिमा उत्पीडित÷ निम्नवर्ग अर्को पुस्ताले प्रभुत्वका विरुद्ध प्रतिरोध गर्दै कसरी नयाँ संस्कृतिको निर्माण गरिरहेको छ, आफ्नो पहिचान बनाइरहेको छ र कसरी अभिजातीय केन्द्रीयता निर्धारित हँुदै छ? भन्नेजस्ता पक्षबाट उठेका प्रश्नहरूका माध्यमबाट संस्कृतिको निर्माण प्रक्रिया, त्यसको शक्ति केन्द्रसँगको सम्बन्ध, संस्कृति निर्माणका मुद्धा र त्यससँग साहित्य र कलाको पाठसँगको सम्बन्धको खोजी नै सांस्कृतिक अध्ययनको महत्त्वपूर्ण विषय भित्र पर्दछ । यसरी सांस्कृतिक अध्ययनमा उपर्युक्त प्रश्नहरूलाई आधार बनाएर अध्ययन गर्दा लेखकको भौगोलिकता, ऐतिहासिकता सामाजिक संस्कृतिलाई सान्दर्भीकृत गरेर हेर्छ । सांस्कृतिक अध्ययन कुनै साहित्यिक कृतिको पाठमा मात्र सीमित नरहेर कृति र त्यसको सामाजिकता आर्थिक र राजनीतिक एवम् तत्तत् क्षेत्रको प्रभाव र दबाबलाई पनि यसले आफ्नो अध्ययनमा समेटेको हुन्छ ।
साहित्यमा संस्कृतिको विकासको कुरा गर्दा अझ लोकसाहित्यलाई छुटाउन मिल्दैन । संस्कृति र लोकसाहित्य दुवैको प्रारम्भ लोककल्पनाबाट भएको हो । केही सत्यतथ्यको कथात्मक प्रस्तुति संस्कृति र लोकसाहित्यमा दुवैमा रहन्छ । जसरी संस्कृति आदिम मानवको अभिव्यक्ति हो । लोकसाहित्यमा परम्परागत रूपमा रहेका प्राचीन दर्शनका आश्चर्य, चमत्कार, जादू आदिका बारेमा आख्यान हुन्छन् । वैदिक पौराणिक आधारभूमिमा संस्कृति र लोकसाहित्य बन्दछन् भने लेख्य तथा श्रुति परम्परागत रूपमा चलिरहन्छन् । लोककथा, लोकगाथा, लोककाव्य वा कुनै पनि लोकसाहित्यको मूल नै संस्कृति हो । संस्कृतिको सत्यलोकसँग सम्बन्धित हुन्छ । संस्कृति प्रतीकात्मक हुन्छ । संस्कृतिमा विभिन्न प्रतीकको प्रयोग गरिएको हुन्छ । संस्कृति र प्रतीकको सम्बन्धद्वारा कथावस्तु वा कथानकको आधार बन्दछ । संस्कृतिमा कुनै सूक्ष्म भाव वा विचारलाई अभिव्यक्त गर्न प्रतीकको प्रयोग गरिन्छ । संस्कृतिलाई स्पष्ट पार्नका लागि प्रतीकको प्रयोग गरिन्छ । प्रतीक र संस्कृति मिलेर नै यथार्थ वा सत्यको उद्घाटन गर्दछन् । अगस्ति, दुर्वासाजस्ता प्रतीकद्वारा पात्र र प्रवृत्ति दुवैलाई प्रष्टाउन सकिने हुनाले प्रतीक संस्कृतिको शक्ति हो ।
संस्कृति बिम्बको माध्यमबाट पनि व्यक्त भएको हुन्छ । शब्दचित्रको माध्यमबाट सूक्ष्म तर गम्भीर भाव बिम्बमा पाइन्छ । बिम्ब प्रतीकभन्दा बढी प्रभावशाली हुन्छ । बिम्ब भाव चित्र हो । संस्कृति आदिम मानवको तीव्र अनुभूतिको रूपलाई अतिप्राकृतिक तथा अलौकिक दैवीरचनाको लौकिक सन्दर्भमा बनेको मानसिक बिम्ब हो । संस्कृति आफैं एक विशिष्ट विम्ब हो । वास्तवमा साहित्यमा वर्गकै माध्यमबाट सामाजिक चित्रण गरिएको छ । समाजको संरचनामा विभिन्न वर्गको उपस्थिति रहन्छ र त्यसै अनुसार उनीहरूको जीवनशैली, भाषा तथा तहगत संरचना निर्माण हुन पुगेको देखिन्छ । एउटै स्वार्थ भएका मानिसहरूको समूहलाई वर्ग भनिन्छ । वर्गअनुसार उनीहरूको आवश्यकता र स्वार्थहरू पनि फरकफरक हुन्छन् । समाजमा विद्यमान यस्ता वर्गहरूको वर्गीय चेतना फरकफरक मात्र नभई एक अर्काको विपरीत हुन्छ । आधारभूत रूपमा हेर्दा समाजमा उच्चवर्ग र निम्नवर्ग गरी दुई किसिमका वर्ग हुन्छन् । वर्ग निर्धारण गर्ने प्रमुख आधार भनेकै आय हो । किनभने कसले कति आय गर्छ, कति खर्च गर्छ वा कस्तो जीवनशैली बाँच्दछ, समाजमा कुन हैसियत राख्छ अथवा सामाजिक जीवनलाई कति प्रभावित पार्छ आदि प्रश्नहरू मुख्यतः उसको आयको स्रोत के हो भन्ने कुरामा भर पर्छ (भट्टराई, २०७७ ः ७) । जसको आयस्रोत बलियो छ उसको सम्पत्तिमाथि एकाधिकार हुन्छ । ऊ उच्चवर्गमा पर्दछ । जसको सम्पत्तिमाथि अधिकार हुँदैन त्यो निम्नवर्गमा पर्छ । उच्चवर्गमा शासकीय मनोविज्ञान हुन्छ । जसले गर्दा उच्चवर्ग आफ्नो सत्ता र सम्पत्तिको भरमा निम्नवर्गमाथि अधिपत्य कायम गर्छ ।
समाजमा बसोबास गर्ने विभिन्न आर्थिक अवस्था भएका वर्गको आआफ्नै संस्कृति छ त्यसलाई नै वर्ग संस्कृति भनिन्छ । वर्गका बारेमा गरेको अध्ययन र सामाजिक संरचनाको दृष्टिले वर्गको संस्कृतिको अध्ययन नै वर्गीय सांस्कृतिक अध्ययन हो । विश्वका कुनै पनि स्थानमा बसोबास गर्ने मानिसको समाज विभिन्न वर्गमा विभाजित छ । उच्चवर्ग, मध्यम वर्ग र निम्नवर्गको मोटामोटी विभाजनका आधारमा हेर्दा पनि निम्नवर्ग र मध्यम वर्गको आर्थिक पहुँच उच्चवर्गका तुलनामा ज्यादै कम रहेको छ । देशको आर्थिक उत्पादनको ठुलो हिस्सा सीमित उच्चवर्गका हातमा रहने हुनाले समाजमा उत्पादन र वितरणमा असन्तुलन रहेको छ । त्यस्तै नेपाली समाज बहुसांस्कृतिक समाज हो । जाति, भाषा, धर्म, संस्कृति र वर्ग विविधता नेपाली समाजको विशेषता हो । नेपाली समाजमा आन्दोलनको लामो इतिहास भए पनि वर्गले गुणात्मक विकास गर्न सकेको छैन । शोषक वर्गको शताब्दीयौ लामो शासन र शोषणका कारण नेपाली समाजमा बहु सांस्कृतिक स्वरूप रहे पनि त्यस संस्कृतिमा माथिल्ला वर्ग सधैं शासन सत्तामा रहिआएको छ । जनजाति, दलित, महिला र निम्नवर्गले आफ्नो आन्दोलनलाई अघि बढाए पनि त्यसले गुणात्मक विकास गर्न सकेको पाइन्न त्यसैले निरन्तर तिनीहरू निम्नवर्गमै रहेका छन् ।
देशको शक्ति र ज्ञान लगायत शक्तिको पहुँच लगायतका स्रोतहरू शिक्षा, धर्म, कानुन, प्रहरी, सेना, संसद जनप्रतिनिधि प्रशासन आदि सबै उच्चवर्गकै नियन्त्रणमा छन् । तिनले सधैं आफ्नै बारेमा मात्र सोच्ने र काम गर्नै गर्दछन् भने तिनले पछि परेका निम्नवर्गको हितमा काम गरेको पाइन्न । यसरी सत्ता र ज्ञानको उच्चवर्गीय एकाधिकारकै कारण नेपाली समाजको बहु सांस्कृतिक विकासका दृष्टिले गतिहीन हुन पुगेको छ । यही कारण समाजमा वर्गीय, जातीय, लिङ्गीय र अन्य प्रकारका सांस्कृतिक विभेद रहेका छन् । यसरी उच्चवर्गले सर्धैं शक्ति र सत्तामा रहरिहने संस्कृति बनेको छ । सम्भ्रान्त वर्गकै वरिपरि सत्ता र शक्ति घुमिरहने भएकाले विश्वको कुनै पनि देशमा शासको संस्कृतिको निर्माण सम्भ्रान्त वा उच्चवर्गमै रहेको पाइन्छ ।
राज्य, जुन सङ्गठित हिंसा हो, समाज विकासको एउटा निश्चित चरणमा अनिवार्य रूपले पैदा भयो, जुनबेला समाज यस्ता वर्गहरूमा, जसको मेलमिलाप हुन सक्तैनथ्यो । विभाजित भएको थियो, जुन बेला समाजभन्दा माथि र केही हदसम्म समाजभन्दा भिन्नजस्तो प्रतित हुने ‘सत्ता’ बिना त्यसको अस्तित्व रहन सक्दैनथ्यो । वर्गीय अन्तरविरोधहरू बिचबाट पैदा भएर राज्य सबभन्दा बढी शक्तिशाली, आर्थिक क्षेत्रमा प्रभुत्वशाली वर्गको राज्य बन्न जान्छ । जुन वर्ग राज्यको माध्यमबाट राजनीतिक क्षेत्रमा पनि प्रभुत्वशाली बन्दछ र यस प्रकार उसलाई उत्पीडित वर्गलाई दबाएर राख्न तथा शोषण गर्नका लागि नयाँ साधन मिल्छ । यसप्रकार प्राचीनकालको राज्य सर्वाधिक दासस्वामीहरूको राज्य थियो, जसको उद्देश्य दासहरूलाई दबाएर राख्नु थियो, त्यसैगरी सामन्ती राज्य अभिजातवर्गको निकाय थियो, जसको उद्देश्य भूदास किसानहरू तथा बँधुवा मजदुरलाई दबाएर राख्नु थियो । आदिम साम्यवादी युगमा कुनै वर्ग नभए पनि दास युगको सुरुवातसँगै वर्गको विकास भयो । दास युगदेखि नै मालिकहरूले उत्पादनका साधनमाथि आफ्नो प्रभुत्व कायम गरे । आफ्नो प्रभुत्वलाई जोगाइ राख्नका लागि सेना, अदालत, प्रहरी, कानुन आदि कुराहरूको निर्माण गरे । जसलाई आफू अनुकूल प्रयोग गर्दै गए । जसले गर्दा निम्नवर्ग शोषित, पीडित र दमित हुन बाध्य भयो ।
निम्न वा मध्यमवर्गले वर्ग विभेदको मुद्धामा विभिन्न आन्दोलन गरेपनि समग्र वर्गका हितमा पुग्न सकेको पाइन्न । आन्दोलनका अगुवालाई सम्भ्रान्त वर्ग तथा शासक वर्गले केही प्रलोभन वा पद दिएपछि ऊ आफ्नो वर्ग छोडेर सम्भ्रान्त वा उच्च वर्गसँग मिल्छ र ऊ पनि शासकवर्गकै कोटीमा पुग्दछ यो विश्वकै उदाहरण पनि हो । यसरी समाजको संरचनामा लामो समयको वर्गसङ्घर्षको संस्कृति चलिरहेको पाइन्छ । वर्गीय हितको मुद्धा लिएर अघि बढेकाहरू निश्चित तह र तप्कामा पुगेपछि स्वतः परिवर्तन भएका देखिन्छन् । त्यसैले वर्गीय संस्कृतिको राजनीतिको एक मुद्धाको विषय मात्र बनेको छ । यसरी हेर्दा सामाजिक संगठनमा वर्गको विभाजन सधैं रहिरहने देखिन्छ ।
समाजमा रहेका वर्गले आ–आफ्नो अनुकूलको संस्कृति निर्माण गरेका हुन्छन् । खासगरी शासक, पूजीपति तथा नवधनाढ्य वा सम्भ्रान्त वर्गले निर्माण गरेको संस्कृतिले मध्यम वा निम्नवर्गमा निकै ठुलो प्रभाव र दबाब पारिरहेको हुन्छ । वतर्मान समयको रात्रीभोज तथा पार्टी संस्कृति र प्रत्येक पाटीमा परिवर्तित वेशभूषा यसैको उदाहरण हो । साथै विवाहमा आधुनिक भोज, भेट, उपहार तथा देखावटी व्यावहारले मध्यम तथा निम्न वर्गमा निकै ठुलो प्रभाव र दबाबको सिर्जना गरेको पाइन्छ ।
निष्कर्ष
यसरी साहित्यमा संस्कृतिका विविध पक्षको चित्रण हुने भएकाले साहित्यसँग संस्कृतिका विभिन्न पक्ष जोडिएर कनजिकको सम्बन्ध रहेको हुन्छ । साहित्यमा संस्कृतिको प्रयोगको क्रममा वर्गीय, भाषिक, परिवेश, क्षेत्र, तहको अवस्थामा धर्म, दर्शन, संस्कार साहित्य, लोकसाहित्य जस्ता विभिन्न पक्षहरूसँग जोडिएर आएकाहुन्छ । नीति नियम, नैतिक आचरणबाट संस्कार, सभ्यता र संस्कृतिको विकास हुँदै आएको पाइन्छ ।
सन्दर्भ सामग्री :
उप्रेती सञ्जीव (२०६८) सिद्धान्तका कुरा, काठमाडौं ः अक्षर क्रियसन्स ।
चापागाई, निनु (२०५९) सन्दर्भः संस्कृति र सांस्कृतिक रूपान्तरण, काठमाडौंः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
भट्टराई, रमेशप्रसाद (२०७७) सांस्कृतिक अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ, काठमाडौंः भुँडीपुराण प्रकाशन ।






