सपना – कृष्णनील कार्की
पात्रहरू :
बिकु : कलेजमा अध्ययनरत छात्र, २०/२२ वर्ष
रामे : कलेजमा अध्ययनरत छात्र, २०/२२ वर्ष
जीवन : कलेजमा अध्ययनरत छात्र, २०/२२ वर्ष
सागर: कलेजमा अध्ययनरत छात्र, २०/२२ वर्ष
ज्योतिषी : ठग व्यक्ति, ४०/४५ वर्ष
सङ्गीत मास्टर : सहरिया शिक्षित पुरुष, ४०/४५ वर्ष
बिजु : गाउँले पसले, २०/२२ वर्ष
प्रिन्सिपल : कलेजमा कर्मरत शिक्षित पुरुष, ५०/५५ वर्ष
(एउटा साधारण घरको बाहिरी कोठा। बस्ने प्रयोजनका लागि टेबुल, कुर्सी राखिएका छन्। ओछ्यानमा च्यादर ओडेर रामे सुतिरहेको हुन्छ। गारोमा सिनेमाका नायक-नायिकाहरूका तस्बिरहरू झुन्डयाइएका छन्। ऊ सपनामा मग्न हुन्छ। सपनामा ऊ हिन्दी सिनेमाकी नायिका प्रियङ्का चोपडासँग नृत्य गर्छ, बात मार्छ। त्यत्तिकैमा बिकुको प्रवेश।)
बिकु :
रामे। रामे घरमा छस्? (रामे सुतिरहेको देख्छ) दिउँसोमास पनि कस्तो निद्रा लागेको हँ। केही चिन्ता नभएका मानिसलाई मात्रै यस्तो कुम्भकर्णे निद्रा लाग्छ। हामीजस्ता कर्मठलाई त खोइ सुत्दा पनि निद्रा लाग्दैन। (रामेलाई घचघच्याउँछ। रामेले बिकुलाई अँगालोमा कस्छ।)
रामे :
प्रियङ्का …तुम क्यों इतनी सुंदर हो। मैं तुम्हें बहुत प्यार करता हुँ प्रियंका। मैं तुमसे शादी करना चाहता हुँ। (बिकु छक्क पर्दै दर्शकतिर हेर्छ। जोडसँग रामेलाई ठेल्दा ऊ ओछ्यानबाट खस्छ। बिकुलाई हेर्छ र रिसाउँछ।) तैँले खतम गरिस्। मैले प्रियङ्कासँग बिहे गरी सकेको थिएँ। कस्तो रोमान्टिक दृश्य चलिरहेको बेला किन मुन्टिएको?
बिकु :
तेरो सुतेर सपना देख्नुबाहेक अर्थोक काम छैन क्याहो ? सपना साकार पार्न कर्म गर्नुपर्छ। मेहनत गर्नुपर्छ। तब मात्र कतिपय सपना साकार हुन सक्छन्। यसरी सुतेर त सुतुवा उपाधि पाइन्छ। केही हुँदैन बुझिस्। कहिले प्रियङ्का, कहिले करिना, कहिले केटरिना….के हो पारा ? यिनीहरू सेलिब्रेटी हुन्। यिनीहरूको छेउछाउ पुग्न त्यस्तै हुनुपर्यो नि।
रामे :
(झ्वाँक्किएर) तैँले कहिले हिरोइनसँग नाचेको सपना देखेको भए पो। भाग्य चाहिन्छ। अभागीले यस्तो दामी सपना कहाँ देख्छ र, अभागीले त भूतप्रेत, बोक्सी मात्रै सपनामा देख्छन्।
बिकु :
अभागी र भाग्यवानले मात्रै सपना देख्छन् भन्ने होइन। निदाउने जति सबै प्राणीले सपना देख्छन्। सपना प्राणीको बायोलजिकल प्रोसेजको एक आवश्यक प्रक्रिया हो। तर, जतिखेर पनि सुत्नु अनि सपना देख्नु राम्रो होइन। हेर हामी जे भयौँ भइहाल्यो…हाम्रो जाति समस्याको घेरामा छ। अनेकौँ जातीय समस्याहरूले हामीलाई घेरेको छ। कहिले एनआरसी, कहिले ६ नम्बर दफा, कहिले भूमि समस्या, कहिले रैथानेको समस्या आदिले घेरेको समयमा सुतेर हिरोइनसँग नाचेर हुन्छ र? हाम्रो पनि केही कर्तव्य छैन र आफ्नो जातिप्रति? हाम्रा भाइबहिनीहरूलाई सपार्ने प्रयास गर्नुपर्छ।
रामे :
आफूलाई नै कसले सपारिदिने। आफूले नै केही गर्न सकिएन। अब अर्कालाई के सपार्नु?
बिकु :
त्यसरी सोचेर हुँदैन। सोचमा परिवर्तन ल्याउनुपर्दछ। सकारात्मक सोच राख्नुपर्दछ। किनकि सकारात्मक सोचाइको प्रतिफल पनि सकारात्मक नै हुन्छ।
रामे :
के को परिवर्तन ? जे दिनकाल आए। सामानहरूको दाम दिनौँ बढेको छ। नोकरी घटेको छ। कामधन्दा पनि कमेको छ।
बिकु :
त्यही त सोचमा परिवर्तन ल्याउनुपर्छ भनेको त। अब दिमागले पनि धेरै कुरा सोच्नुपर्छ। खाने र थुपार्ने मात्रै होइन।
रामे :
भन् त के सोच्नु, के गर्नु?
बिकु :
हेर, हाम्रा गाउँमा एउटा सङ्गीत विद्यालय चाहिन्छ जस्तो मलाई लाग्छ। खोल्ने कि क्याहो?
रामे :
सकिन्छ भने खोलौँ। गीत, नृत्य जान्नु हो भने त साँच्चै प्रियङ्का चोपडासँग नाच्न पाइन्थ्यो होला।
बिकु :
कुरो चाहिँ तेरैमा लगेर जोडिस्। तँचाहिँ पागल हुन्छस् होला। प्रियङ्काको प्रेममा। हामीजस्ताले के पत्तो पाउनु प्रियङ्कासँग।
रामे :
पत्तो पाइन्छ। अहिले चाहिँ सङ्गीत विद्यालयकै चर्चा गरौँ न। चर्चा गर्न त अरू साथीहरू पनि चाहिन्छ होला, कि के?
बिकु :
चाहिन्छ। म फोन गरौँ न त। (गोजीबाट मोबाइल निकाल्छ, बात मार्छ, साथी सागर, जीवनसँग। यता मौका पाएर रामे ओछ्यानमा सुत्छ। फोन गरी सकेर बिकु रामेलाई बोलाउँछ। ऊ छक्क पर्छ। रामे सुतिरहेको हुन्छ।)
बिकु :
रामे …रामे (घचघच्याउँछ) कस्तो हो एकैछिनमा निदाएको। यसले त मारेर छोड्ने रहेछ। आफ्नो यता कस्तो चिन्ता छ। उठ्…..उठ्…। (रामेले फेरि बिकुलाई अँगालो मार्दै भन्न थाल्छ।)
रामे :
करिना…तुम क्यों इतनी ब्युटीफुल हो। तुम बहुत ही नमकीन हो। मैं तुम्हें शादी करके लंदन ले जाउंगा।
बिकु :
हे प्रभु, कस्तो बिमार। एकछिनमा निद्रा फेरि सपना। रामे, ऐ रामे उठ्। (घचघच्याउँछ..यता रामे ओछ्यानबाट तल पछारिन्छ)
रामे :
(उठ्तै) उफ् …करिना सरी।
बिकु :
तँ कस्तो हँ। यता चर्चाका लागि सागर र जीवनलाई कल गर्न थालेँ…तँचाहिँ करिनाकहाँ पुगिस्।
रामे :
(हाँस्छ) के गर्छस् यार। म त सुत्नेबित्तिकै यिनै परीहरूलाई देख्छु। खै के भएको? तर मलाई साह्रै राम्रो लाग्छ। मलाई स्वर्गमा नै पुगेजस्तो लाग्छ। (त्यत्तिकैमा सागर र जीवनको प्रवेश।)
सागर र जीवन :
स्वर्गमा हामीलाई पनि लैजा न।
बिकु :
ठिक समयमा नै आइपुग्यौ।
सागर:
अनि रामे, स्वर्ग जाने कुरा हामी पनि सुनौँ न।
जीवन :
अँ त, कति नरकमा बस्नु। हामी पनि स्वर्ग जान पाए हुन्थ्यो नि।
रामे :
यो बिकुले जान दिए त जानु नि। ठिक्क बेलामा यो खुट्टा तान्न पुगिहाल्छ। आँखा हेर्यो त्यहीँ नरकमा फेरि।
बिकु :
रामेले तिमीहरूलाई स्वर्गचाहिँ होइन अल्छे र सुतुवाचाहिँ पक्कै बनाउँछ। यी सब कुरा छोडौँ। अब मूल कुरातिर आऊँ।
जीवन :
मूल कुराचाहिँ छिटो भन् त?
सागर :
छिटो भनिहाल् त मलाई कस्तो खटपटी भएको छ।
बिकु :
कुरोचाहिँ सङ्गीत विद्यालयको हो। हामी सङ्गीत विद्यालय खोलेर केटाकेटीहरूलाई गीत, नृत्य सिकाउन सक्छौँ। जसले गर्दा केटाकेटीहरूको प्रतिभा विकसित हुन्थ्यो।
रामे :
त्यो त ठिकै हो। तर पहिला हामीचाहिँ सिकौँ।
जीवन :
हँ। आफू सिकौँ अनि केटाकेटीतिर लागौँ। आफू नै केही नजानी अर्कालाई सिकाउने प्रयास बेकार हो जस्तो मलाई लाग्छ।
बिकु :
हामी नै पहिला सिकौँ न त। ठिक छ त सङ्गीत मास्टरलाई खबर गर्छु। भोलिदेखि रामेको घरमा भेला हौँ। यही सिकौँ।
रामे :
हुन्छ। मलाई त ठिकै हुन्छ। घरबसी बसी सङ्गीत सिक्न पाउँदा के खोज्नु? के खोज्छस् कानो आँखो भनेझैँ भयो।
बिकु :
ल हुन्छ। हामी गयौँ। भोलि आउने हो। (बिकु, जीवन र सागरको प्रस्थान।)
रामे :
(लामो हाइ गर्छ) निद्रा पो लाग्न थाल्यो। आज आइतवार पनि के को बित्तो छ। सुत्नुपर्यो एकछिन। (सुत्छ च्यादर ओडेर। त्यत्तिकैमा झोलामा मुन्द्रा, ताबिज, माला लिएर ठग ज्योतिषीको प्रवेश।)
ज्योतिषी :
घरमा को छ? (जबाफ आउँदैन, रामे सुतिरहेको हुन्छ) मान्छे त सुतिरहेकै छन्। पैसावाला मान्छेको के छ? कमायो खायो, मोजमस्ती गर्यो। दिनभरि आराम गर्यो। आजका मान्छेले काम गर्न छाडे। हाम्रा बाबुबाजेहरू उज्यालो भएदेखि रातिसम्म खेतबारीमा काम गर्थे। काम गरेको हुनाले रोग पनि लाग्दैन्थ्यो। चिकित्सालय र चिकित्सक अनि थरीथरीका औषधी नभएर पनि स्वस्थ शरीर लिएर बाँचेका थिए। अहिले जमाना बदलिएको छ। काम गरेर खान सक्ने उमेरका मानिसहरू कोही दिनभरि तास खेलेर बस्छन्, साँझ परेपछि भट्टीमा छिर्छन् र पेटभरि मासु र रक्सी खान्छन्। कोही बिहान चिया पसल चहार्छन्, दिउँसोभरि कम्प्युटर खेल्छन्, साँझमा गफ गर्न निस्कन्छन्। कोही दिनभरि क्यारमबोर्ड र लुडो खेल्छन्। बिहान-बेलुकीको अन्न पचाउने काम बेकाम नै हुन्छ। कामको नाममा सिन्को भाँच्दैनन्। खायो अनि रहल समय सुत्यो। काम गरेर खान नसक्ने लालाबाला र बुढाबुढी, बिमारहरूको कुरा छुट्टै। तर धेरैजसोलाई खेतबारी, उद्योग, कलकारखानामा होइन तासको खालमा, भट्टीमा, क्यारेमबोर्डमा, लुडोमा, सामाजिक सञ्जालमा र अन्य मनोरञ्जनका फाइल हेर्दै कम्प्युटरमा, जुलुस-धर्नामा, फोकटको गफमा भेटिन्छ। हो त, यो देशकै ठुलो समस्या नै भएको छ। काम नगर्ने संस्कार र बानी, बेरोजगारीको अवस्था संसारकै सबैभन्दा ठुलो र भयावह समस्या हो। तर मचाहिँ ठग्ने भए पनि केही त काम गरी नै रहेको छु जस्तो लाग्छ। जबसम्म यस्ता निकम्मा मानिसहरू छन् हाम्रो धन्दा चली नै रहन्छ। हाम्रो त दिनको धन्दा। कतै गयो…. मान्छेलाई ठग्यो… डर देखायो ताबिज, मुन्द्रा भिरायो। आज यहीँ नै केही गर्नुपर्छ। सायद यो मान्छे अल्छे होला। त्यही त दिउँसोमास सुतेको छ। यसलाई अलिकति फुर्काएर पैसा चप्काउनुपर्छ। उठाएर पो हेर्नुपर्यो। (घचघच्याउँछ) हजुर उठ्नुहोस्, हजुर।
रामे :
(अँ…उठेर ज्योतिषीलाई अँगालो मार्छ) केटरिना तुम क्यों इतनी सुंदर हो। तुम्हारी जो डान्स है…शीला की जवानी…मैं रोज देखता हुँ। तुम तो मेरी जान हो। तुम तो मेरी धडकन हो।
ज्योतिषी :
(छक्क पर्दै) हजुर, म त ज्योतिषी हुँ।
रामे :
(जोडसँग अँगालो मार्दै) नहीं…तुम मेरी जिदंगी हो। तुम मेरी हमसफर हो। तुम मेरी जीने की तमन्ना हो। तुम मेरी मेहबुबा हो।
ज्योतिषी :
(अँगालोबाट छुटकारा पाउने कोसिस) होइन हजुर। म त ज्योतिषी हुँ। मलाई छोडिदिनु। कृपया मलाई छोडिदिनु। (रामे ओछ्यानबाट भुइँमा झर्छ।)
रामे :
(आङ तान्छ, ज्योतिषीलाई देखेर छक्क पर्छ) हजुर को नि?
ज्योतिषी :
हजुर म ज्योतिषी रामलाल, म बिहारबाट आएको।
रामे :
ज्योतिषी। अनि यहाँ। के काम छ हजुरको?
ज्योतिषी :
म हजुरको अनुहार हेरेर सबै कुरा भन्न सक्छु। म भूत, भविष्य, वर्तमान सब जान्दछु। दुधको दुध पानीको पानी छुट्याइ दिन्छु।
रामे :
मेरो भन्नुहोस् त। मेरो वर्तमान र भविष्य के कस्तो छ?
ज्योतिषी : (राम्ररी निरीक्षण गरेझैँ गर्छ र भन्न थाल्छ) तपाईँको त भाग्य गजबको रहेछ। (रामे हँ गर्छ..कुरामा मग्न हुन्छ)
रामे :
राम्रो गरी हेरेर भन्नुहोस्, प्रभु।
ज्योतिषी :
(फुर्काउँदै) तपाईँ त सिनेमाको हिरो पो…तपाईँलाई बोलाइरहेको छ।
रामे :
(जिज्ञासु हुँदै) हजुर कसले बोलायो?
ज्योतिषी :
तपाईँलाई त मुम्बईले पो बोलाइरहेको छ। तपाईँ त हिरो पो हिरो। करिना, केटरिना, प्रियङ्काहरू पर्खिरहेका छन्। (रामे बसे ठाउँबाट बुरुक्क उफ्रिन्छ। याँहु भनेर चिच्याउँछ।)
रामे :
तपाईँले कसरी थाहा पाउनुभयो? (खुट्टा समात्छ) तपाईँले त मेरो मनको कुरा फलाक्नुभयो प्रभु। तपाईँ त अन्तर्यामी नै हुनुहुँदोरहेछ। (ज्योतिषी किच्च हाँस्छ)
ज्योतिषी :
म सबै कुरा जान्दछु हजुर। (रामेलाई समातेर उठाउँछ) हजुर उठ्नुहोस्,जाग्नुहोस्। हजुर त एकदम अक्षय कुमारजस्तो देखिनुहुन्छ। तर……?
रामे :
(फुर्किँदै) साँच्चै प्रभु। तर, के प्रभु?
ज्योतिषी :
अलिकति राहुको सङ्कट छ। त्यसैले तपाईँलाई मुम्बई जान दिक्कत भएको छ।
रामे :
के गर्नुपर्छ प्रभु। म सबैथोक गर्न तयार छु। मलाई उपाय बताउनुहोस् प्रभु। उपाय बताउनुहोस्। चाँडै बताउनुहोस्।
ज्योतिषी :
(किच्च हाँस्दै) उपायका लागि म छुँदैछु नि हजुर। चिन्तै गर्न पर्दैन हजुरले। सिर्फ एउटा ताबिज र एउटा माला धारण गर्नुपर्छ। अनि तपाईँको बाटो क्लियर। सिधै तपाईँ मुम्बई। कसैले रोक्न सक्दैन।
रामे :
(फुर्किँदै) वाह….प्रियङ्का, केटरिनासित नाच्ने छु। वाह….सोच्तै छाती फुलेर आयो।
ज्योतिषी :
(जान खोज्छ) म जानुपर्यो हजुर।
रामे :
होइन प्रभु। ताबिज र माला दिएर जानु, प्रभु। अनि कत्ति के दाम हो?
ज्योतिषी :
हँ…ताबिजको दाम ज्यादा छैन। मात्रै हजार रुपियाँ अनि माला सिर्फ पाँच सय रपियाँ। जम्मा पन्ध्र सय रुपियाँ। ताबिज र माला धारण गरेपछि अनि हेर्नु कमाल। कमाल ही कमाल…हजुर गएर मुम्बईमा गर्नु हुनेछ धमाल।
रामे :
प्रभु, दिनुहोस्। मलाई अहिले नै लगाइदिनुहोस्। ढिलो नगर्नु प्रभु। शुभ काम चाँडो होस्। (ज्योतिषीले मन्त्र जपेर माला र ताबिज लगाइदिन्छ। रामे लमतन्न भएर ज्योतिषीलाई ढोग्छ। त्यहाँपछि पर्सबाट पैसा निकालेर दिन्छ।)
ज्योतिषी :
(किच्च हाँस्दै) हजुर अब म जानुपर्यो। हजुरको मङ्गल होस्। हिरो भएर नभुल्नु होला। म गएँ। (ज्योतिषी किच्च हाँस्तै प्रस्थान। रामे फुर्किन्छ।)
रामे :
(दर्शकपटि फर्किदै) हाहा…हा…हा….अब सपनामा होइन बिपनामै म केटरिना, करिना, प्रियङ्काहरूसँग नाच्दछु। अब देख्नेछन् रामेको कमाल। रामेले मच्चाउनेछ मुम्बईमा धमाल। यो राहु पन्छिनेबित्तिकै समस्या समाधान हुनेछ। (त्यत्तिकैमा सागर,जीवन र बिकुको प्रवेश।)
बिकु :
के समाधान हुनेछ हौ, रामे?
रामे :
केही होइन। अनि बिकु के भयो त हाम्रो कुरा?
जीवन :
भइगयो नि।
सागर :
आजदेखि नै सुरु हुन्छ हाम्रो क्लास। सर, आउनुहुन्छ आज नै।
रामे :
बढिया, राम्रोसँग सिक्नुपर्छ। तब त….।
सागर :
तब त के?
जीवन :
तब त केटरिनासँग नाच्न पाइन्छ। त्यही होइन रामे? (बिकु, जीवन र सागर हाँस्छन्।)
रामे :
हेर्दै जाओ न…के के हुन्छ। के के देख्छौ। (त्यत्तिकैमा हारमोनियम लिएर सङ्गीत मास्टरको प्रवेश।)
चारैजना :
नमस्ते मास्टरजी।
मास्टर :
नमस्ते नमस्ते। अनि चारजना मात्रै?
जीवन :
वर्तमान हामी चारजनाले सिक्छौँ, त्यहाँपछि गाउँका केटाकेटीहरूलाई सिकाउनुपर्छ।
मास्टर :
लौ त, जस्तो भनाइ तस्तै होस्।
सागर :
मास्टरजी, अब अभ्यासतिर लागौँ होला।
मास्टर :
हुन्छ। पहिला त हामी राम्रोसित आसन ग्रहण गरौँ। (तन्नामा राम्ररी बस्छन्) साहित्य, सङ्गीत र कलाविहीन मान्छेलाई पुच्छर नभएको पशुसित तुलना गरिन्छ। सबैथोक भएर पनि पुच्छर नभएको पशु कस्तो देखिन्छ मान्छेलाई पनि त्यस्तै असुहाउँदो र नराम्रो देखिन्छ। जीवनलाई सुन्दर बनाउने तत्त्व भनेको साहित्य, सङ्गीत र कला हो। साहित्यले जीवनलाई आनन्दित पार्छ। सङ्गीतले नयाँ ऊर्जा दिन्छ भने गीत, सङ्गीत, कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ। वास्तवमा गीत, सङ्गीतबिनाको संसार अधुरो र अपूर्ण छ। सङ्गीत जीविकाको पथ, पेसा वा प्रसाधन पनि हो। हिजोआज सङ्गीत मनोरञ्जन वा भोगविलासको विषयवस्तु मात्र नभई जीवनको अपरिहार्य आधार भइसकेको छ।
बिकु :
हामीले नजानेका नसुनेका थुप्रै कुराहरू जान्न पायौ मास्टरजी, अब रियाज सुरु गर्नुपर्छ होला?
मास्टर :
ल सुरु गरौँ न त, पहिला हामी सा, रे, ग, म, प,ध, नि को रियाज गरौँ।
जीवन :
मास्टरजी सा, रे, ग, म, प, प, ध, नि को स्वरमा एउटा गीत गाउनु न सुनौँ।
मास्टर :
ल हुन्छ। (हारमोनियम बजाउँदै एउटा गीत गाउँछ।)
सागर :
बढिया मास्टरजी। के मिठो स्वरमा गाउनुभयो। हामीलाई पनि यस्तै गाउनसक्ने बनाइ दिनुपर्छ, मास्टरजी।
रामे :
अँ, मास्टरजी। हामी पनि यस्तै स्वरमा गाउन चाहन्छौँ।
बिकु :
हो मास्टरजी।
जीवन :
हँ…हामी पनि गायक भएर नाम कमाउन चाहन्छौँ।
मास्टर :
मेहनत गरे हुन सकिन्छ। तर, समय लाग्छ। किनकि सङ्गीतको जड भनेको शास्त्रीय सङ्गीत हो, जुन वर्षौँ लाग्ने विधा हो। यसमा त्यही खालको धैर्यता चाहिन्छ। हतारमा सङ्गीत सिक्न सकिँदैन। सङ्गीतमा जति रियाज ग:यो त्यति गला खुलेर आउँछ। गलामा मिठास र तान आउँछ। सङ्गीत भनेकै साधनाबाट सम्भव हुने कुरा हो। त्यसैले मेहनत नै नगरी यस क्षेत्रमा टिकिरहनु सम्भव छैन। कडा परिश्रम र निरन्तरताको साधनाले मात्र यस क्षेत्रमा लामो समयसम्म निरन्तरता पाउन सकिन्छ। त्यसैले यस क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै साधना हो। अब तिमीहरू सा, रे, ग, म, प, ध, नि, स गाएर सुनाओ त। पहिला जीवन सुनाऊ त।
जीवन :
(बेसुरमा गाउँछ) सा, रे, ग, म, प, ध, नि, स…..।
स. मास्टर :
अलिक स्वर लगाएर। कडा मेहनत गर्नुपर्छ।
सागर :
म गाऊँ मास्टरजी? (गला सफा गरेझैँ गर्छ…बेसुरमा गाउँछ) सा, रे, ग, म……..।
स. मास्टर :
बिस्तारोसँग।
रामे :
मास्टरजी म प्रयास गरौँ है..(बेसुरमा गाउँछ) सा, रे, ग……..।
स. मास्टर :
रियाज गरिराख्नु। बिहान उठेर राम्ररी रियाज गर्नु। बेलुकी पनि गर्नु। बिस्तारै आउँछ। यसखाले विभिन्न भिडियोहरू हेर्नु। अलिक रियाज गर त, त्यहाँपछि फेरि म आउँला। ल, अब जानुपर्यो। (प्रस्थान, चारैजना उठेर…हुन्छ मास्टरजी भन्छन्।)
रामे :
यस्तै पाराले सिक्नु भने त छिट्टै एकखालको गायक हुइन्थ्यो होला।
बिकु :
हँ…अभ्यास गर्नुपर्छ। कडा मेहनत गर्नुपर्छ। मास्टरजीले भनेझैँ रियाज गर्नुपर्छ। सजिलै गायक कहाँ हुइन्छ र ? सजिलै हुनेभए त सबै गायक भइहाल्थे नि। अनि गायक हुन त स्वर पनि चाहियो नि। जे होस् प्रयासचाहिँ गरिरहनुपर्छ। परिणामको चिन्ता नगरौँ होला। अब हामी जान्छौँ। (सागर, जीवन र बिकुको प्रस्थान।)
रामे :
(हाँस्छ) आजको दिन पनि साह्रै विचित्रको रहेछ। ज्योतिषीले माला र ताबिज दिनेबित्तिकै एक्सन सुरु भई त हाल्यो। गीत सिक्न थालिहालियो। मेरो कपाल, मुख सबै त हिरोकै छ। (मोबाइल हेर्छ) डान्स त मलाई एकखालको आउँछ नै (डान्सको स्टेप दुइटा गर्दछ) रहेको अलि अलि मुम्बईमै सिक्नुपर्छ। अलिकति ट्राई गरेर हेर्नुपर्यो। अहिले त के मोबाइलमै गीत पाइहालिन्छ। युट्युबमा गयो जे मन लाग्यो त्यही गीत। (गीत लगाउँछ मोबाइलमा, गीत बज्छ। कपाल ठिक पार्छ, चस्मा लगाउँछ र नाच्न थाल्छ। नाच्दानाच्दै लड्छ र सुत्छ…निदाउँछ अनि फेरि सपना देख्छ। त्यत्तिकैमा पसले बिजुको प्रवेश।)
बिजु :
रामे…ऐ रामे। दिउँसोमास त्यहीमाथि भुइँमा। कि निद्रामा? सुतुवालाई खालि सुत्नकै चिन्ता। यिनीहरूले गर्दा नै देश सुतेको होला। यस्ता सुतुवा भएको समाज, देश कहिले उँभो लाग्ला? हे प्रभु, यिनीहरूले सुतेरै पुगेको। हामीलाई चाहिँ खान पनि भ्याइ नभ्याइ परेको छ। हे प्रभु, कस्तो सृष्टि विचित्र सृष्टि? (रामेको छेउमा गएर घचघच्याउँदै) रामे, ऐ रामे उठ् दिउँसोमास पनि सुत्छन् …उठ् रामे। (रामे आङ तान्दै बिजुलाई अँगालो मार्छ) ऐ मोरा के गरेको? छोड् छोड्…।
रामे :
ऐसा मत करो दीपिका।
बिजु :
ऐ मोरो, म त बिजु हुँ। तँलाई के भो। तँलाई त प्रेमभूतले भेटेजस्तो छ।
रामे :
दीपिका तुम क्यों इतनी उदास हो। तुम मेरी जिंदगी हो। तुम अतीत को भूला दो। मैं तुम्हें बहुत खुश रखुंगा।
बिजु :
हे प्रभु। यसलाई त एक नम्बरी प्रेमभूतले भेटेछ। यो भूतले मान्छेलाई आर या पार पो पार्छ। यसलाई चाहिँ के पार्ने हो?
रामे :
दीपिका….तुम कुछ तो बोलो। तुम जब बोलती हो ऐसा लगता है जेसै आकाश से तारे गिर रहे हैं। झरने भी थम जाती हैं। तुम्हारी बात सुनने के लिये बादल भी गरजना भूल जाता हैं।
बिजु :
हे प्रभु। यो त के के भन्न थाल्यो। मलाई पो झमेलामा पार्छ क्याहो? यसको पारा त खतरनाक छ। आकाश, झर्ना, बादल सबैलाई कायममा ल्याउने कुरा गर्छ, गाँठे। मैले जान्दा त यो यस्तो थिएन त, कहिलेदेखि यसलाई यो प्रेमभूतले भेटेछ।
रामे :
दीपिका तुम कुछ तो कहो। अब तो मै जल्दी ही हिरो बनने जा रहां हुँ तब तो तुम मान जाओगी। मान जाओ न प्लिज। दीपिका, नही तो मैं जी नही पाऊंगा। (मज्जले समात्छ।)
बिजु :
ऐ रामे, छोड्। यो के गरेको…म त बिजु पो हो त। तँ मलाई दीपिका भनेर यी सब गरेको…छोड्। बिपनामा आइज न..रामे। (बिजु रामेको बन्धनबाट मुक्त हुने प्रयासमा रामेको निद्रा भङ्ग हुन्छ।)
रामे :
अँ….(आङ तान्छ) शुभ मुहूर्तमा नै अशुभहरूको आगमन हुन्छ। म त वाक्क भइसकेँ।
बिजु :
के भनेको हँ। के शुभ, के अशुभ…खुलस्त गर् त।
रामे :
(उठ्छ) मुम्बई नगरीमा तीमाथि ताजमहल होटल। यता साथमा दीपिका। कस्तो रोमान्टिक वार्तालाप चलिरहेको बेलामा तँ आउँदा…शुभ भयो कि अशुभ। आफै भन् त?
बिजु :
(टाउको कनाउँदै) केटाहरू त भन्दैथिए…ठिकै हो रैछ।
रामे :
के भन्दैथिए?
बिजु :
आजकाल रामेका अघि पछि मुम्बईमा हिरोइनको लाइन लागेको छ भन्थे।
रामे :
अँ…के भन्यौ यार। ज्योतिषीले पनि मेरो राजयोग भएको कुरा भन्थे बुझिस्। म चाँडै नै मुम्बई जान्छु। मलाई मुम्बईबाट हिरोइनले बोलाइरहेका छन्।
बिजु :
हुन्छ जानु, तर म एउटा कुरा भन्न आएको।
रामे :
भन् त के कुरो?
बिजु :
मेरो पसलको बाँकी खाएको मालको पैसा चाहियो। दसैँ आइसक्यो। पसलमा सामान पनि ल्याउनु छ। तैँले पैसा दिए थपथाप हुन्थ्यो नि।
रामे :
हे प्रभु। म गर्छु आग्राको कुरा तँ गर्छस् गाग्राको कुरा। म मुम्बई गएर हिरो हुन आँटेको मान्छे। अलिक दिनमा दूरदर्शन, सिनेमा हल, खबर कागज, सामाजिक सञ्जालमा म छापछाप्ती हुन्छु। अनि तँचाहिँ दुई-चार रुपियाँको हिसाब गर्न आएको?
बिजु :
मेरो अग्रिम शुभकामना छ। तँ हिरो हुनु, नाम कमाउनु। तर मैले पाउने पैसाचाहिँ अहिले चाहियो।
रामे :
हुन्छ। म दुई-चार दिनमा मिलाइ दिन्छु।
बिजु :
छिटो मिलाइ दिनु। फेरि मुम्बई गइस् भने बिर्सिहाल्छस् नि। (हाँस्तै प्रस्थान।)
रामे :
म गर्छु आग्राको कुरा बिजु गर्छ गाग्राको कुरा। पसलको दुई-चार रुपियाँ बाँकी पनि माग्न आएको। उसलाई थाहा छैन भोलि यो रामे सुपरस्टार हुन्छ। त्यहाँपछि भनिसुनी गर्दा यसो साइड रोल दिलाइ दिन सकिन्थ्यो। अर्थोक नभए पनि मेरा अघि पछि यसो ब्याग समात्ने, गाडीको दैलो खोलिदिने पनि महिनामा दुई-चार लाख कमाउने थियो। म यस्तो सोच्तछु…तर रामे मसँग पैसा फिर्ता माग्न आएको। (त्यत्तिकैमा बिकु र प्रिन्सिपलको प्रवेश।)
बिकु :
रामे…प्रिन्सिपल सर आउनुभएको छ।
रामे :
(हडबडिँदै) सर, मेरामा। नमस्ते सर। बस्नुहोस्। आज मेरो घर आउनुभयो। म धन्य भएँ सर।
प्रिन्सिपल :
हुन्छ हुन्छ। कोहीबेला आफ्ना विद्यार्थीहरूको घरमा पनि त आउन मन लाग्छ। अनि के छ खबर?
रामे :
राम्रै छ सर।
बिकु :
(निरीक्षण गर्दै) अनि रामे घाँटीमा माला, ताबिज अनि हातमा मुन्द्रो किन लगाएका?
रामे :
त्यसै…लगाउनु मन लगाएर।
बिकु :
होइन, केही न केही कारण छ। सरलाई साँचो साँचो भन्दे। गुरुलाई साँचो भन्नुपर्छ। कुरा लुकाउनु हुँदैन। सरले पनि त मुम्बई जानमा मद्दत गर्नुहुन्छ।
प्रिन्सिपल :
अँ त्यसको रहस्यचाहिँ भन त रामे?
रामे :
सर यो माला, ताबिज र मुन्द्रो एउटा बिहारबाट आएको ज्योतिषीले दिएको हो। मेरो राहुको दिनदशा अलिक नराम्रो चल्दैछ र यसलाई ठिक लगाउन यी सब धारण गर्नुपर्छ भन्थ्यो। त्यही कारण लगाएको सर।
प्रिन्सिपल :
अनि यो लगाएर के हुन्छ त?
रामे :
सर, म हिरो हुन्छु, सिनेमाको।
बिकु :
त्यसैले सर, यो सारा दिन सुत्छ अनि सपना मात्रै देख्छ। सपनामा प्रियङ्का, दीपिका, केटरिना, करिनासँग बात मार्छ, नाच्दछ, अभिनय गर्छ। के हो के? बुझ्नै गाह्रो।
रामे :
हो सर। सपनामै मलाई हिरोइनहरू मुम्बई बोलाउँछन्। मसँग नृत्य गर्छन्। मिठा मिठा बात मार्छन्। ताजमहलमा खाना खुवाउँछन्। (प्रिन्सिपल र बिकु खसाकखुसुक गर्दै शङ्कालु नजरले रामेतिर हेर्छन्।) जुहु, इन्डिया गेट, महाबलेश्वर आदि ठाउँमा घुमाउन लान्छन् सर। यो राहुको दशा सकिनेबित्तिकै म मुम्बई जान्छु। मलाई आशीर्वाद दिनुहोस्। (रामे प्रिन्सिपलको खुट्टा समात्छ।)
प्रिन्सिपल :
उठ रामे उठ। हेर, सपना देख्नु पाप होइन। तर, सपनमा देखेर मात्रै पनि हुँदैन। सपना पनि सुहाउँदो देख्नुपर्छ। अब हेर रामे। सपना सोच र भावनामा क्षणिक आउँछ तर गहिरो प्रभाव पर्ने कुराहरू मध्ये पर्दछ। मान्छेले मात्र होइन संसारका निदाउने सबै प्राणीहरूले नै सपना देख्छन्। तर अरू प्राणीहरूको तुलनामा मानव मस्तिष्क विकसित भएकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका एकदम फरक हुन्छ। मस्तिष्कको विकसित स्वरूप, प्रयोग र सपनाको प्रकारमा अनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छन्। हामी हाम्रो जीवनकालमा तिन भागको एक भाग सुतेर नै बिताउने गर्छौं भने ६ वर्ष जति त सपना नै देख्छौँ। हाम्रो हरेक रातको औसत दुई घन्टा जति सपना देखेर नै बित्छ। धेरजसो सपना त हामीलाई थाहै हुँदैन। अब तिमी त दिउँसोमास पनि सपना देख्दा रहेछौ, तिम्रो हिसाब त छुट्टै गर्नुपर्छ होला? हामी कुनै एक सोचाइमा धेरै डुब्यौँ भने सपनामा त्यही कुरा देखिन्छ। ठिकै छ सफल हुन सपना देख्नुपर्छ। सपना देखेर मात्रै पनि हुँदैन सपनासँगै उड्न पनि सक्नुपर्छ। यसरी सुतिरहेर सपना सफल हुन्छ र रामे? सिनेमाको हिरो हुनको लागि के के गुणको आवश्यक हुन्छ त्यो आर्जन गर्नु परेन न त? अनुहार मात्रै सुन्दर भएर हुँदैन न नि, रामे? आफ्नो धरातल भुल्नु हँुदैन नि, रामे? अभिनयजगत्मा जति पनि अभिनेता, अभिनेत्रीहरू छन् उनीहरू दिनभरि सुतेर…सपना देखेर मात्रै देखेर सफल भएका होइनन्। न त उनीहरूले ज्योतिषीबाट माला, ताबिज अथवा मुन्द्रा भिरेर सफल भएका हुन्। लक्ष्य पूर्णको निम्ति कडा मेहनत, लगन र तालिम चाहिन्छ। यसरी माला, ताबिज, मुन्द्रामा विश्वास गर्दै अन्धविश्वासको दास भएर कर्मदेखि टाढिनु हुँदैन।
रामे :
सर…म मेहनत गर्छु।
प्रिन्सिपल :
त्यो त राम्रो कुरो। तर तिम्रो तरिका ठिक भएन। घरमा बसेर सपना देखेर हुँदैन। यसरी हिरो होइन जिरो हुइन्छ। दुई बेलाको भात पनि भेट्न गाह्रो हुन्छ। यस्तो तरिकाले त मनलाई चोट दिलाउँछ। जीवन बिथोलिन्छ, घर भाँडिन्छ, हाँसोको पात्र बनिन्छ।
बिकु :
हो सर, अहिले हाम्रो गाउँमा रामे एउटा हाँसोको पात्र बनिसकेको छ। जो पनि भन्छन् …रामेले आँखा चिम्लियो भने मुम्बई पुगिहाल्छ। मुम्बई गएर हिरोइनहरूसँग नृत्य गर्छ। रामेलाई प्रेमभूतले भेटेको छ भन्छन्। सर, म यसको साथी हुँ। यसको बेइज्जती भएको देख्न र सुन्न सक्तिनँ। त्यसैले त सम्झाउन तपाईँलाई बोलाएर ल्याएको। गुरुको कुरा त पक्कै सुन्छ भनेर…।
प्रिन्सिपल :
हो बिकु। रामे हाम्रो गाउँ अनि कलेजको पनि होनहार युवा हुन्। रामे, पहिला तिमी आफ्नो पढाइमा ध्यान लगाऊ। पढाइ समाप्त भएपश्चात् हामी पनि तिमीलाई सहायता गर्छौँ। भविष्यमा तिमी हिरो भयौ भने गौरवबोध गर्छौं। तर, हिरो हुनाको निम्ति दिउँसोमास घरमा सुतेर केवल सपना मात्रै देखेर हुँदैन। यसरी त केही पनि हुन सकिँदैन। कुरा बुझ्यौ रामे….कि बुझेनौ?
रामे :
बुझेँ सर। लक्ष्यप्राप्तिका निम्ति कर्म गर्नुपर्छ।
बिकु :
सर…अन्धविश्वास र धर्मान्धमा वशीभूत भएर कर्मलाई लत्याउन हुँदैन जस्तो मलाई लाग्छ। कर्मलाई धर्म बनाउनु सक्नुपर्छ। तब लक्ष्यप्राप्ति गर्न सजिलो हुन्छ होला।
प्रिन्सिपल :
तिमीहरूले कुरो बुझेछौ। मलाई राम्रो लाग्यो…खुसी लाग्यो। सपनामा होइन हामी बिपनामा बाँच्ने प्रयास गरौँ। सपना कल्पनाको समष्टि हो भने बिपना सङ्घर्ष र कर्मको मिश्रण हो। हामी सही कर्म गरौँ न…जुन कर्मले हाम्रो परिवार, समाज, जाति, देशलाई किञ्चित भए तापनि सघाउ पुर्याउँछ। सबैको मुहारमा हाँसो ल्याउँछ। गरौँ न त त्यस्तो कर्म….सकिँदैन र ?
दुवै :
सकिन्छ सर….सकिन्छ। (बिस्तारै पर्दा खस्छ।)






