लिम्बु भाषा साहित्यको समन्वेषण –प्राज्ञ अमर तुम्याहाङ
१ विषय प्रवेश
लिम्बु भाषा नेपाल र भारतवर्ष मूलतः सिक्किम केन्द्रित भई समानान्तर रुपमा विकास भइरहेको छ । सिक्किममा लिम्बु भाषाले करिब आधा शताब्दीको औपचारिक शिक्षाको इतिहास बनाएको छ भने नेपालमा भने वि.सं. २०५३/५४ देखि अर्थात् पुगनपुग करिब डेढ दसकको मात्र इतिहास बोकेको छ । यसो हुनुमा तत्तत् मुलुकको राजनीतिक अवस्थाले काम गरेको कुरा कसैबाट छिपेको छैन । यो तथ्यबाट पनि भाषा साहित्यको विकासको आँकलन सहज रुपमा गर्न सकिन्छ नै ।
यस पत्रमा लिम्बु भाषा र साहित्य मूलतः नेपाल केन्द्रित गरी चर्चा गरिने छ । यसो भए पनि प्रसङ्गअनुसार भारतवर्ष अर्थात् सिकिक्कमेली लिम्बु भाषा साहित्यको विषयहरू पर्ने नै छन् । लिम्बु भाषाको चर्चा गर्दा लिम्बु भाषाको परिचय, भाषिकाहरू, मानकको चयन र वर्ण, कोश, व्याकरण, भाषा प्रयोगका क्षेत्रहरू जस्तै शिक्षा, सञ्चार आदिको आधारमा सङ्क्षिप्त रुपमा प्रस्तुत गरिने छ । यसरी नै लिम्बु साहित्यिक आयाम प्रस्तुत गरिँदा लिम्बु भाषाको लेख्यपरम्पराको इतिहास, लिम्बु भाषा–साहित्यको विकासक्रम, कालविभाजन, लिम्बु साहित्यको विधागत अवस्था, लिम्बु साहित्य लेखनको प्रवृत्ति, उपलब्धिहरू आदिको चर्चा गरिने छ । यसको आरम्भ भने लिम्बु जातिको परिचयका साथै लिम्बु भाषा साहित्यले राज्यबाट भोग्नु परेको दमन र उत्पीडनको प्रसङ्गबाट गरिने छ ।
२ लिम्बु जाति
नेपालमा १०२ भन्दा बढी जातजातिहरू बसोबास गर्दछन् भने ती मध्ये ५९ जातजातिलाई आदिवासी जनजातिको रुपमा नेपाल सरकारले पहिचान गरेको छ । ती ५९ आदिवासी जनजातिमध्ये मङ्गोल किरात अन्तर्गतको एक लिम्बु जाति हो । लिम्बु जातिको मूल थातथलो क्षेत्रलाई लिम्बुवान भनिन्छ । जसराज सुब्बा (2005: iv) का अनुसार तत्कालीन लिम्बुवान राज्य पश्चिममा अरुण नदी, पूर्वमा व्रहमपूत्र, उत्तरमा हिमालय र भारतको उत्तरी मैदानी भूभाग (… early days in the Limbuwan country, the area of which extended from western border of Arun river to the eastern border of Brahmaputra river, and the greater Himalayas in the north to the Plain areas of the northen India…) मा फैलिएको थियो । आज पनि लिम्बुहरूको सघन बसोबासको क्षेत्र यही नै हो अर्थात् किटेर भन्नुपर्दा अरुण–सप्तकोशी पूर्व मेची र कोसीका ९ जिल्लाहरू हुन् भने नेपाल बाहिर भने भारतको सिक्किम, पश्चिम बङ्गाल दार्जीलिङ र जयपुर जिल्ला, आसाम, नागाल्यान्ड अर्थात् पूर्वोत्तर भारतका सबै सात प्रान्तहरूमा लिम्बुहरूको बसोबास (काइँला २०११, सुब्बा २००५) रहेको छ । काठमाडौँ उपत्यका र चितवनमा पनि लिम्बुहरूको निकै ठुलो जनसङ्ख्या बसोबास गर्दछ । यसरी नै भूटान, वर्मा, हङ्कङ, बु्रनाइ, युकेमा लिम्बुहरूको ठुलै जनसङ्ख्या रहेको छ । लिम्बुले आफूहरूलाई याक्थुङबा भन्ने गर्दछन् ।
३ राज्यको गोर्खेलौरी र भाषाहरूको कुजाइ एक स्मरण
यहाँ लिम्बु भाषा र साहित्यको सवन्वेषण गर्दा अनि यसको वर्तमान स्थिति र अवस्थाको चर्चा गर्दा अवष्यमेव अतीत इतिहासमा राज्यबाट यसले भोगेका निषेधनिरोधीय कष्टको एकक्षण स्मरण गर्नु वाञ्छनीय नै हुन्छ ।
एकीकरणको क्रममा पृथ्वीनारायण शाहबाट वि.सं. १८३१ श्रावण २२ गते (६ अगस्ट १७७४ ई.) का दिन… लिम्बु राजाहरूलाई सम्झौता गर्न राजी तुल्याएपछि विजयपुर दरबारमा नुन—पानीको कसम खाएर भाइचार (Brotherhood) को सन्धि (संग्रौलाः२०६७, पृ.४८) गरेर पृथ्वीनारायण शाहको लिम्बुवानका राजाहरूलाई नेपालका राजाको भारदारको उपाधि र लिम्बुवानलाई सहराज्यको मार्यादा (नेम्बाङः २०१० ई., पृ.१७) दियाइपछि केही कालसम्म अनुकूल रहे तापनि पछिबाट लिम्बु भाषा लेखपढमा प्रतिकुलता रहयो । मुलुकका जनताजनार्दनका लागि पढ्नु अपराध मानिने राणाशासन कालमा लिम्बु भाषामा पढ्न पाउनु कल्पनाभन्दा बाहिरको कुरा थियो । पञ्चायत कालमा पनि स्वभाषा र लिपिमा लेखपढ गर्नु लिम्बुहरूका लागि प्रतिबन्धित नै थियो र लिम्बु भाषामा लेखपढ गर्नेहरूले जेलनेल भोग्नु प¥यो भने कतिले आजीवन निर्वासन भोग्नु प¥यो, मातृभूमिमा आफ्नो प्राण त्याग्ने अवसरबाट पनि वञ्चित हुनु प¥यो । यस्तो दुर्नियती भोग्दै आएको लिम्बु भाषाले समृद्धि पाउनु अकल्पनीय नै हुन्छ (तुम्याहाङ, सं. २०६८क) ।
२००७ सालको जनक्रान्तिपछिको नेपाल अन्तरिम शासन विधान (२००७) मा जाति र भाषा विषयमा कुनै उल्लेख थिएन भने नेपाल अधिराज्यको संविधान (२०१५) मा पहिलोपटक “देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हुनेछ” (परिच्छेद् २, विविध व्यवस्था गर्ने बनेको धारा ७०) व्यवस्था गरियो । यसैलाई नेपाल अधिराज्यको संविधान (२०१९) ले निरन्तरता दियो । जनआन्दोलन २०४६ पछिको नेपाल अधिराज्यको संविधान (२०४७) को धारा ४(१) ले भने मुलुकलाई बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक (भाग १ को प्रारम्भिक को ४–१) भनेर माने पनि “देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ” (धारा ६–१) मा भनेर नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन्” (धारा ६–२) भनी भाषिक भेदभावलाई संवैधानिक मान्यता दियो । जनआन्दोलन (२०६२÷६३) को देन नेपालको अन्तरिम संविधान, २०६३ मा नेपालमा बोलिने सबै भाषाहरूलाई राष्ट्रभाषाको दर्जा दिइए पनि औपचारिक कामकाजमा एउटै भाषाको प्रयोगले संविैधानिक स्थान पाउनु अर्को शब्दमा भाषिक विभेदको निरन्तरता हो ।
राज्यको यस्तै प्रकारको व्यवहार अर्थात् कहिले पूरै गोर्खेलौरी त कहिलेकाही निरोध केही खुकुलो भएजस्तो भए पनि बन्धनबाट नेपालका राष्ट्रभाषा (मातृभाषा) हरू अमलेख वा उन्मुक्त हुन नसकेका कारण “नेपालमा बोलिने अधिकांश आदिवासी जनजातिका धर्म र संस्कृतिको संवाहक मातृभाषाहरू चितवनको गैँडाभन्दा पनि सङ्कटमा परेका छन्” (काइँला, २०६२) । यहाँ लिम्बु भाषा र साहित्यको परिचर्चा गर्दा यो कठिन पारिस्थिति पर्यावरणलाई कतापि भुल्नु हुन्न ।
४ लिम्बु भाषा
लिम्बु जातिले बोल्ने भाषालाई लिम्बु भाषा भनिन्छ भने उनीहरूले आफ्नो भाषामा यसलाई याक्थुङ पाःन् या याक्थुङ्बा पाःन् भन्दछन् । लिम्बु भाषा भोट–बर्मेली परिवारको पूर्वीय शाखा अन्तर्गत बोडिक उपशाखाको हिमाली वर्गको पूर्वी किराँती भाषा हो (काइँला २०५९ः १०) । जनगणना २०५८ अनुसार लिम्बुहरूको जनसङ्ख्या ३,५९,३७९ रहेको छ भने वक्ता सङ्ख्या ३,३३,६३३ रहेको (योञ्जन, २०१२ः२६१) छ । विरही काइँलाका अनुसार गोरखा सरकार र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धि (सन् १८१५), कम्पनी र सिक्किमका राजा चुङ्फुद नाम्ग्यालसँग भएको तितालिया सन्धि (१० फरवरी १८१७) अनि अङ्ग्रेजहरूले दार्जीलिङ (सन् १८३५) तथा कालेबुङ र सिलिगढी (सन् १८६४) मा आफ्नो कब्जामा लिएपछि लिम्बुहरू नेपाल सिक्किम र हिन्दुस्तान गरी तीन देशका नागरिक भए (२०४९ः३३) । सिक्किम भारतवर्षमा विलय भएपछि भने लिम्बुहरू राजनैतिक रुपमा दुई देशमा विभक्त भएका छन् । एउटै भाषिक र सांस्कृतिक रगत् सञ्चारित लिम्बु तरुनीतन्नेरीहरू रातभरि लिम्बुवान वा सिक्किममा धाननाचेर विहान भालेको डाकमा आआफ्नो ओछ्यानमा विश्राम लिन पुग्नमा दुईदेशको राजनैतिक सीमानाले कहीँकतै छेकबार लाउन सकेको छैन । भाषिक, सांस्कृतिक, धार्मिक जीवनपद्दतिका हिसाबले सीमा पारि र वारि बसोबास गर्ने लिम्बु जाति दुईवटा टाउको भएको तर एउटै पेटको हा“सको मिथझैँ प्रतीत हुन्छ । यसर्थ पनि लिम्बु भाषा र साहित्यको चर्चा गर्नुपर्दा नेपाल र सिक्किम वा भारतवर्षको भनी फरकफरक चर्चा गर्नु असम्भव प्रायः हुन्छ । लिम्बु भाषा साहित्यले कहिले लिम्बुवान या नेपालको पारिलो घाम तापेको छ भने सिक्किमको असिना हुरी पनि खेपेको छ त कहिले सिक्किमे वासन्तीय वातावरणमा रमेको छ भने कहिले नेपालको कटकटाउँने हिउँलो तुसारोको मार बेहोरेको छ । यद्यपि यस पत्रमा सिक्किमेली संवृद्ध लिम्बु भाषा साहित्यको चर्चाभन्दा नेपाली परिवेशमा भएगरेका लिम्बु भाषा साहित्यको विकास प्रयासका चर्चा गरिने जमर्को हुनेछ ।
४.१ भाषावैज्ञानिक ऐनामा लिम्बु भाषा
लिम्बु भाषा ‘एक जाति र एक भाषा’ (रा.भा.नि.सु.आः १०) विशेषता तथा लेख्य परम्परा भएको भाषा हो । वैरागी काइँला (२०६२ः १०) का अनुसार लिम्बु भाषा सुरिक्षत ९कबाभ० कोटीमा पर्छ भने अमृत योञ्जनका अनुसार यो सुरक्षित कोटिमा होइन दोस्रो समूह अर्थात् सुरक्षित प्रायः ९लभबचथि कबाभ० मा मात्र लिम्बु भाषा पर्दछ । यसबाट यो प्रष्ट हुन्छ कि लिम्बु अपेक्षित रुपमा सुरक्षित छैन ।
४.२ भाषिकाहरू, मानकको चयन र वर्ण
लिम्बु भाषाका पान्थरे, फेदापे, तमरखोले र छत्थरे भाषिकाहरू रहेका छन् । यी भाषिकाहरूमध्ये पान्थरे भाषिकालाई मानक भाषिकाको रुपमा लिइएको छ । लिम्बु भाषाको स्वर वर्णहरू १२ वटा रहेका छन् भने २५ वटा व्यञ्जन वर्ण वा ध्वनिहरू रहेका छन् ।
४.३ कोश
लिम्बु भाषाको कोष लेखनको आरम्भ कर्कप्याट्रिकले सन् १७९३ को मिसनमा सङ्कलित तथा सन् १८११ मा प्रकाशित ब्ल ब्अअयगलत या तजभ प्ष्लनमयm या ल्भगउब िकिताबमा अङ्ग्रेजी शब्दका आधारमा सङ्कलन गरेको पर्बते ९एगचदगततष्, वर्तमान खस नेपाली भाषा), नेवार ९ल्भधबचक०, मगर ९ःगलनगच० र लिम्बु ९ीष्mदययब० को शब्दावली सङ्कलनबाट आरम्भ भएको मान्न सकिन्छ । यसपछि लिम्बु–अङ्ग्रेजी शब्दकोश (चार्लस् केम्बेल १९ औँ शताब्दीको मध्यकालमा), अ भोक्याब्युलरी अव् द लिम्बुू ल्याङगुइज् (एचडब्ल्युआर सेनिओर ई.१९०८ दोस्रो संस्करन ई.१९७७), लिम्बु हिज्जे शब्दकोश (दिलेन्द्र कुरुम्बाङ–सुब्बा वि.स. २०६२), लिम्बु–नेपाली–अङ्ग्रेजी शब्दकोश (इमान एस. चेम्जोङ स.२०१८), लिम्बु–इङलिस डिक्स्नरी अव् द मेवाखोला डायलेक्ट विथ इङलिस–लिम्बु इन्डेक्स (बोइड मिखाइलोभ्सी ई.२००२), पर्यायवाची शब्दकोश (सङ्कलन सहयोगी इमानसिंह चेम्जोङ, नेपाल प्रज्ञा प्रतिष्ठान, वि.सं. २०३०), नेपाली–लिम्बु–अङ्ग्रेजी शब्दकोश (हस्तलाल साक्वादेन लिम्बु स.२०४९), मुन्धुमी शब्दकोशः किरात–नेपाली–अङ्ग्रेजी (माङमिङसोहाङ लिङ्देन सं.२०६० प्रथम संस्करन २०५९), अ लिम्बु–इङलिस ग्लोसरी (ई.१९६०), सिरिजङगा लिपिमा केही शब्द (हरि चङबाङ स.२०५०), लिम्बु शब्दकोश (पान्डुलिपि, मणिशङ्कर सेरेङ चोङबाङ), लिम्बु – नेपाली शब्दकोश (खेलराज यङहाङ स.२०५२), संक्षिप्त खस–लिम्बु शब्दकोश (नर यङहाङ स.२०४९), याक्थुङ मिङ्वान (नरबहादुर यङ्हाङ, वि.सं. २०५२), लिम्बु–नेपाली (पर्यायवाची र विपरितार्थक) शब्दकोश (तेजबहादुर फागो पन्धाक, २०६३), पहाडी बोलीचाली (अन्जु खड्का, केशरजङ्ग मगर र डा.विद्यानाथ कोइराला सं.२०६३), नेपाली—लिम्बु—लिम्बु शब्दकोश (रणबहादुर मेन्याङ्बो आदि, सं. २०६६), लिम्बु नेपाली शब्दकोश (त.ना.मु. कृष्णबहादुर लाओती) आदि रहेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले पुनः प्रकाशन गरेको इमानसिंह चेम्जोङकृत लिम्बु–नेपाली–अङ्ग्रेजी शब्दकोशको दोस्रो संस्करण २०५८ कोशा सिद्धान्तको आधारमा निकै राम्रो मानिन्छ ।
४.४ वर्णमाला तथा व्याकरण
बाजवीर थलङले सन् १९२८ मा तुम् याक्थुङ निङ्वाफु साप्ला नामक वर्णमाला प्रकाशन गरेपछि दर्जनभन्दा बढी लिम्बु भाषासँग सम्बन्धित वर्णमाला पुस्तकहरू फरकफरक लेखकहरूले लेखी प्रकाशन गरिसकेका छन् । त्यस्ता वर्णमालाहरूमा तुम् याक्थुङ निङ्वाफु साप्ला (इमानसिंह चेम्जोङ, सन् १९७०), किरा“त कुम्मा शक् किरात वर्णमाला (स्व. रणधोज नेम्माङले वि.सं. २०१५÷७ देखि २०१६÷१ सम्म तयार पारेको काठको ब्लकबाट तयार गरिएको, वि.सं. २०४८ मा प्रकाशित), प्रारम्भिक किरात वर्णमाला (सङ्गीता थेÞबे, साम्जिरी सेमी र माङमिङसोहाङ स.२०६०), उपयोगी किरात वर्णमाला (सेर्मा साम्जीरी सेमी, वि.सं. २०६४), लिम्बु वर्णमाला (दिलेन्द्र कुरुम्बाङ–सुब्बा ई.२००४), सक्सा पोना (हाङवासाःङ याक्थुङबा, वि.सं. २०५६) आदि रहेका छन् ।
लिम्बु भाषाको जेठो पुस्तकाकार व्याकरण इमानसिंह चेम्जोङ लिखित किरात व्याकरण (ई. १९७०) लाई लिन सकिन्छ । यस्तै अन्य व्याकरण पुस्तकहरूमा कन्साइस् लिम्बु ग्रयामर यान्ड डिक्सनरी (अल्फोन्स् वेइडर्ट र विक्रम सुब्बा ई.१९८५), अ ग्रयामर अव् लिम्बु (जर्ज भ्यान ड्रिम १९८७), ओगाप्मिबा याक्थुङ हुप्पान् या प्रयोगिक लिम्बु व्याकरण (पदम माबो, वि.सं. २०६७), याक्थुङ हुप्पान् (थाम्सुहाङ पुष्प सुब्बा, सं. २०६६) आदि रहेका छन् ।
४.५ लिम्बु भाषा प्रयोगको क्षेत्र
लिम्बु भाषा प्रयोग भइरहेको क्षेत्रको रुपमा शिक्षा, सञ्चार, स्थानीय निकाय आदिलाई लिन सकिन्छ ।
४.५.१ शिक्षा
लिम्बु भाषाको औपचारिक शिक्षाको इतिहास सन् १९६८ मा तत्कालीन सिक्किम देशको सरकारले प्राथमिक तहमा लिम्बु भाषा पठनपाठन आरम्भ गरेपछि सुरु भएको हो भने हाल त्यहाँ पोस्ट ग्राजुएट तहसम्म लिम्बु भाषा पठनपाठन भइरहेको छ । नेपालमा भने २०४६ सालको जनआन्दोलनपछि प्राप्त २०४७ को संविधानले नेपालको बहुभाषिक यथार्थतालाई स्वीकार गरेपछि गठित राष्ट्रिय भाषा नीति सुझाव आयोगको प्रतिवेदन, २०५० को सुझाव तथा राष्ट्रिय शिक्षा आयोग – २०४९ (राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन – २०४९) को सुझावमा नेपाली मातृभाषा नभएका नेपालका अन्य राष्ट्रिय भाषाभाषी क्षेत्रका विद्यालयमा शिक्षाको माध्यमका रुपमा राष्ट्रिय भाषाहरूको प्रयोग गर्न सकिने साथै १०० पूर्णाङ्कको मातृभाषा अध्ययन अध्यापन गर्न सकिने (ने.शि.आ.प्र., २०६२ः ५५८) सुझाव अनुसार अन्य मातृभाषासँगै लिम्बु भाषाको वैधानिक र सङ्गठित पठनपाठनको सुरुवात भयो । पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले लिम्बु भाषाको ऐच्छिक विषयकोरूपमा पठनपाठनका लागि २०५२ सालमा पाठ्यक्रम निर्माण गरी वि.सं. २०५५ सालदेखि लिम्बु भाषामा ऐच्छिक विषय पठनपाठनको सुरुवात भयो । पाठ्यक्रम विकास केन्द्रले २०६३ देखि मातृभाषामा विविध विषयहरू समेटेर बाल सन्दर्भ सामग्री प्रकाशन सुरु गरेको छ । माध्यम भाषाको रुपमा लिम्बु भाषामा पठनपाठनका लागि कक्षा दुईसम्मका गणित, विज्ञान, सामाजिक विषयहरू पाठ्यपुस्तकहरू लिम्बु भाषामा अनुवाद भएका छन् ।
अनौपचारिक शिक्षातर्फ किरात याक्थुङ चुम्लुङले लिम्बु भाषा तथा किरात सिरिजङ्गा लिपिमा अनौपचारिक शिक्षा कार्यक्रम २०५१ सालदेखि सुरु ग¥यो । तरङ भाग १ र भाग २ पाठ्यपुस्तक तयार गरेर पूर्वाञ्चलका विभिन्न गाउँहरूमा लिम्बु भाषामा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन ग¥यो । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि चोःत्लुङ भाग १ र भाग २ पाठ्यपुस्तक समेत निर्माण गरी कार्यक्रम सञ्चालन गरिएको छ । यसरी नै अनौपचारिक शिक्षा केन्द्रले लिम्बु भाषामा साङ्लाम पुस्तक तथा सहयोगी पुस्तक निर्माण एवम् प्रकाशन गरेको छ । जनशक्ति विकास केन्द्रले लिम्बु भाषा शिक्षक तालिमका लागि लिम्बु भाषामा बहुभाषिक शिक्षा, प्रशिक्षक निर्देशिका र स्वअध्ययन सामग्री निर्माण गरी प्रकाशन गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले लिम्बु भाषा प्रमाणपत्रतहमा अध्ययन अध्यापनको लागि विश्वविद्यालय प्राज्ञिक परिषद्ले स्वकृति दिए पनि विश्वविद्यालयबाट प्रमाणपत्र फेजआउट भएपछि यो प्रक्रिया उच्च माध्यामिक शिक्षा परिषद्बाट अगाडि बढ्न सकेको छैन । यद्यपि सत्यहाङ्मा मा.वि. याम्बोङ लगायतका लिम्बुवानका कतिपय उच्च मा.वि.हरूले लिम्बु भाषा कक्षा ११ र १२ मा अनौपचारिक रुपमा पठनपाठन गराइरहेका छन् ।
४.५.२ सञ्चार
लिम्बु भाषा प्रयोगको अर्को क्षेत्र भनेको सञ्चार क्षेत्र हो । सञ्चार क्षेत्रलाई पनि छापा सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यम गरी दुई भागमा विभाजन गरी हेर्न सकिन्छ ।
४.५.२.१ छापा सञ्चार माध्यम
लिम्बु साहित्यको उत्थानमा मुद्रणको माध्यमको ठुलो हात छ । मुद्रणको माध्यमको लाभ उठाउन नसक्दासम्म हातैले लेखेर लिथोप्रविधिद्वारा प्रकाशित गरेर पनि साहित्य सृजनालाई व्यापकता दिने कामहरू भइआए । त्यस प्रविधिद्वारा प्रकाशित हुनेमा प्रथम लिम्बु भाषाको पत्रिका कोम् (सं. बिरही काइँला, १९६७ ई.) र स्रिजङ्गा (सं. थाम्सुहाङ पुष्प सुब्बा, १९७२ ई.) मासिक आदि गर्वले लिन सकिने नाम हुन् ।
२०४६ सालको जनआन्दोलन पछिका दिनमा पत्रपत्रिकाको प्रकाशनको बाढी नै आएको छ । तिनमा मुख्यरुपमा नाम लिन सकिने पत्रिकाहरूमा याक्थुङ् साक्थिम् नु साप्सक् (सं. बैरागी काइँला, सं. २०४९), ताःन्छोःप्पा (स. गणेश इजम् हाल अमर तुम्याहाङ सं.२०५४), पालाम् (सं. डी.वी. आङबुङ, सं. २०६०), तङ्सिङ् (सं. अर्जुनबाबु माबुहाङ), सेमि फक्ताङ्लुङ् (सं.अमर तुम्याहाङ, कमला आङदेम्बेसमेत, स.२०६०), लाम् (सं. अइन्द्रसुन्दर नेम्बाङ र अरू), फुङ् (सं. अमर तुम्याहाङ स.२०६० मङसिर), हिन्जा (सं. भवानी तावासमेत), नुमाफुङ् (सं. स्वर्णिमहाङ फोम्बो स.२०५९), सुम्हात्लुङ् (सं. भवानी तावासमेत, स.२०५४), पक्कन्दी, नाल्बो सन्देश (२०६३ वैशाख), लुङा (सं. सेसेमी सेनाल्बो), चुम्लुङ (सं. सेसेमी सेनाल्बो), लाजम् (सं. डा.भरतराज सुब्बासमेत, स.२०६२), थाङ्साङ् (सं. पुष्प थाम्सुहाङ), माङ्सेबुङ् (बुलेटिन स.२०६३, इलाम), लिम्बुवान् इक्ला (२०६४), साम्जिक मुन्धुम अर्धवार्षिक बुलेटिन (का.स. हितराम तिलिङ, २०६७), मुन्धुम त्रैमासिक (का.स. प्रदीप मेन्याङ्बो, वर्ष १, अङ्क १, फागुन–जेट, २०६७÷६८), लाइक जर्नल (सं. मुकसाम लाओती), जर्नल (प्र. लिम्बु विद्यार्थी मञ्च) आदि छन् । सं. २०६४ असोजदेखि गोरखापत्र (दैनिक) मा नयाँ नेपाल श्रृङ्खला प्रकाशन हुन थालेदेखि लिम्बु भाषा– साहित्य प्रकाशनले नयाँ सशक्त मञ्च पाएको छ भने र सं. २०६७ देखि नेपाल प्रज्ञा प्रतिष्ठानले लिम्बु भाषामा फक्ताङलुङ् नामक साहित्यक पत्रिका प्रकाशन आरम्भ गरेपछि यसले अझ गति लिएको छ ।
४.५.२.२ विद्युतीय सञ्चार
विद्युतीय सञ्चार माध्यमलाई पनि रेडियो र एफएम तथा अनलाइन माध्यममा विभाजन गरी हेर्न सकिन्छ ।
(क) रेडियो र एफएम रेडियो
मुद्रण प्रविधिस‘गै सहस्राब्दीको आरम्भको समयमा भाषा चिनारी, विकास र सबलिकरन तथा साहित्यको विकासमा विद्युतीय सञ्चार माध्यमको अहम् भूमिका नकार्न नसकिने वास्तविकता हो । लिम्बु भाषा तथा साहित्यको विकास र प्रसारमा पनि विद्युतीय सञ्चार माध्यमले प्रभावकारी भूमिका रहेको छ । आरम्भमा रेडियो नेपालको केन्द्रीय–प्रशारनबाट सुरु भएको र पछिबाट क्षेत्रीय प्रशारन केन्द्र धनकुटाबाट लिम्बु भाषामा समाचारका साथै गीत, कविता, वार्ता, नाटक, कथा, अन्तर्वार्ताको प्रसारण भइ हजारौँ श्रोताहरूमाझ प्रत्येक दिन सम्प्रेशित भइरहेको छ । अझ सं.२०५९ असार ७ गतेदेखि काठमाडौँ उपत्यका (एच्.बी.सी. एफएम, हाल स्थगित) र स.२०५९ असार १८ गतेदेखि पूर्वाञ्चल (सप्तकोशी एफएम, इटहरी, भैरव आङला र सीता मादेम्बा) क्षेत्रमा लिम्बु भाषामा एफएम कार्यक्रमहरू प्रसारण भइ आएको छ ।
हाल आएर कोशी एफएम (विराटनगर, राम लाओती), बी. एफएम बिराटनगर, मेट्र«ो एफएम (९४.६, हाल स्थगित, काठमाडौँ, नेत्रमाया चोङबाङ), गोरखा एफएम (मनुता काम्बाङ) काठमाडौँ, स्टार एफएम धरान, मेन्छ्यायेम एफएम तेरथुम, तमोर एफएम (१०२ मे.) ताप्लेजुङ, ताप्लेजुङ (९४ मे.) ताप्लेजुङ, गणतन्त्र एफएम धरान, सुम्हा?लुङ एफएम पान्थर, सप्तरङ्गी एफएम दमक, इलाम एफएम इलाम, वाणी एफएम इलाम लगायतका एफएमहरूबाट लिम्बु भाषाका समाचार, गीत, कविता, नाटक आदि प्रसारण हुँदै लिम्बु साहित्यलाई समृद्ध बनाइरहेका छन् ।
(ख) अनलाइन साहित्य
आजको युग डिजिटल युग हो । समयको मारेको यो फड्कोसँगै लिम्बु भाषा र साहित्य अनलाइनमा आउनु नौलो कुरा भएन । लिम्बु भाषाका गीत, कविताहरू पढ्न पाइने केही अनलाइनहरूमा मुख्य हुन्ः www.shaitya.com.np, www.limbuwan.com.np, www. limbulibrary.org.np, www.chumlung.org.np, www.chumlungusa.com, www. chumlunguk.com, www.kiratisaathi.com आदि ।
४.६ स्थानीय निकाय तथा अधिकारको क्षेत्र
नेपाल अधिराज्यको संविधान २०४७ को धारा ६(२) ले “नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन” भनेर मान्यता दिएको आधारमा काठमाडौँ महानगरपालिकाद्वारा नेपाल भाषा र राजविराज नगरपालिका तथा धनुषा जिल्ला विकास समितिद्वारा मैथिलीलाई नेपाली भाषासँगसँगै आ–आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दा २०५६ जेठ १८ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले “मातृभाषा प्रयोग नगर्नु नगराउनु” भन्ने आदेशात्मक फैसला दिएको तितो अवस्था एकातिर भए पनि लिम्बु भाषा लगायतका मातृभाषीहरूले आआफ्नो मातृभाषा कार्यालय भाषाको रुपमा प्रयोग गर्न प्रयास गरिरहेका छन् ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५(१) ले “नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन्” भनेको छ । तर धारा ५(२) ले देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने संवैधानिक व्यवस्था गरेको भए तापनि धारा ५(३) ले स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोगलाई कुनै बाधा पु¥याएको मानिने छैन भनी उल्लेख छ । त्यसरी प्रयोग गरिएको भाषालाई राज्यले सरकारी कामकाजको भाषामा रुपान्तर गरी अभिलेख राख्ने छ भनी उल्लेख गरेको छ । त्यसैगरी तीन वर्षीय अन्तरिम योजना (२०६४/६५–२०६६/६७) ले “लेख्य परम्परा भएका भाषाहरूको माध्यमबाट पठनपाठन तथा सरकारी कामकाज तथा अदालतमा सबै मातृभाषामा बयान दिन पाउने व्यवस्था गरिनेछ” भन्ने नीति तथा कार्यनीति तर्जुमा गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०६५÷६६ को नीति तथा कार्यक्रमले स्थानीय निकायमा स्थानीय स्तरको मातृभाषामा समेत कामकाज गर्न सकिने व्यवस्था मिलाउनेछ भनेको छ । यही संवैधानिक मर्मअनुरुप लिम्बु भाषालाई कार्यालय भाषाको रुपमा प्रयोग गर्ने पूर्व तयारीको रुपमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा लिम्बु भाषा प्रवद्र्धन अभियान २०६६ सञ्चालन भएको थियो भने सो अभियानमा गाविस, नगरपालिका, जिल्ला तहका विभिन्न कार्यालयहरूमा गरिने निवदेन, फिराद आदि लेख्न सिक्न सिकाउँनका लागि लिम्बु भाषा प्रवद्र्धन अभियान हाते पुस्तिका २०६६ निर्माण भइ तालिम तथा प्रयोगको अभियान पनि चलिरहेको छ ।
यसरी नै न्याय, कानुन तथा अधिकारसँग सम्बन्धित विषयहरू पनि व्यवाहारिक रुपमा लिम्बु भाषामा प्रयोग गर्नका लागि सम्बन्धित सामग्रीहरू निर्माण, अनुवाद आदि गर्ने कार्यहरू भइ आएका छन् । मानव अधिकार घोषणापत्र १९४८ (अनु. अमर तुम्याहाङ, प्रकाशकः कियाचु, वि.सं. २०५९), UN DRAFT DECLARATION ON THE RIGHTS OF INDIGENOUS PEOPLES(पूर्ववत् अनु. वि.सं. २०५९), आदिवासी जनजाति लिम्बुहरूको विकाससम्बन्धी एजेन्डा (पूर्ववत् अनु., प्रकाशकः कियाचु, वि.सं. २०६१), अन्तरिम सविधान २०६३ (अनु. रणबहादुर मेन्याङ्बो, अमर तुम्याहाङ, यासेली योङ्हाङ, तिलविक्रम चेम्जोङ आदि, वि.सं. २०६४), संविधानसभा विषयको जनाकारी २०६३ (अनु. अमर तुम्याहाङ, प्रकाशकः संविधान सभा सफलता सरोकार समूह, वि.सं. २०६३), नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको विस्तृत् शान्ति सम्झौता (पूर्ववत् अनु., प्रकाशकः राष्«िय मानवअधिकार अयोग, वि.सं. २०६३), संविधानसभा के हो ? (पूर्ववत् अनु., प्रकाशकः एनकार्ड, वि.सं. २०६४), The United Nations Convention on the Rights of the Child (रणबहादुर मेन्याङ्बो र खड्ग मेन्याङ्बो, प्रकाशकः कन्सर्न–नेपाल, सन् २००८) आदि संविधान, ऐन, कानुन तथा जनचेतनासँग सम्बन्धित पुस्तक, पुस्तिका तथा सामग्रीहरू अङ्ग्रेजी तथा खसनेपाली भाषाबाट लिम्बु भाषामा अनुवाद भई प्रयोगमा रहेका छन् ।
५ लिम्बु भाषाको लेख्यपरम्पराको इतिहास
किंवदन्तीअनुसार प्रथम सिरिजङ्गाले नवौँ शताब्दीमा (बाजवीर थलङ, १९२८ ई. तथा चेम्जोङ, २०१३ ई.) किरात लिपि आविष्कार गरेर प्रचलनमा ल्याएका थिए । मञ्जुल याक्थुम्बाका अनुसार प्रथम सिरिजङ्गाले सौमर किरातहरूसँग रहेको छ हजार वर्ष पुरानो लिपिलाई पुनरुत्थान मात्र गरेका हुन् (२०६२ः२८) । त्यसपछि पुनः लुप्त भएको हजार वर्षपछि वर्तमान नेपालको सुदूर पूर्वको पल्लोकिरात सिनाम तेल्लोक निवासी सिङथÞेबे थरका सिरिजङ्गा दोस्रा (१७०४—१७४१ ई.) ले यो किरात लिपिलाई दोस्रो पटक पुनःउत्थान गरेर लेख्यपरम्पराको विकास गरेको विश्वास गरिन्छ । उनी त्यही लिपि प्राचारको गर्ने अभियानकै क्रममा सिक्किमको मार्ताममा सहिद पनि भए ।
सत्रौँ शताब्दीदेखि नै भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीमार्फत अङ्ग्रेजहरूको प्रभुत्व कायम गर्न थालेपछि अङ्ग्रेजलाई नेपाल, नेपालका बासिन्दा र तिनका रीतिथिति एवम् संस्कृति, भाषा र लिपिका विषयमा जान्ने उत्सुकता जगायो । कर्कपेट्रिक (१८११), सर फ्रान्सिस ह्यामिल्टन (१८१९), डा. क्याम्बेल (१८५५), बी.एच. हज्सन (१८४६–१८५८) आदिले नेपालका विविध जाति र भाषाका कुरा गर्दा लिम्बु जाति र उनका भाषाको पनि चर्चा गरेका छन् । सिरिजङ्गा दोस्रोको हत्या भएको लगभग १०० वर्षपछि नेपाल उपत्यकामा धेरै वर्ष बसेका बी.एच. हज्सन (हज्सन पाण्डुलिपि, भो. ७३, पृ.१५५–१५६ तथा चेम्जोङ, वि.स.२०३१÷१९७५ ई., पृ.५७—५८) ले पछि सन् १८४६ तिर दार्जीलिङमा सिक्किमबाट फेला पारेको कुहिएका कागतपत्रहरूका आधारमा सिरिजङ्गाको लिपिमालालाई पुनःजीवन दिँदै उत्थान र अभिलेख गर्ने ऐतिहासिक काम गरेका थिए । उसबेलाको लेखौटहरू पाइन गाह्रो भए पनि उनले लेख्न लगाएका र भेटेका कागतपत्रमा सिरिजङ्गाको हस्तलिपिमा लिखित पाण्डुलिपि पनि हुनुपर्छ भनी अड्कल्न सकिन्छ । यसरी लिम्बु भाषाको लेख्यपरम्पराको इतिहास हामी दोस्रो सिरिजङ्गामा पुगेको भेट्छौँ ।
६ लिम्बु भाषा–साहित्यको सामान्य विकासक्रम
२००७ सालको जनक्रान्तिपछिको प्रजातन्त्रोत्तर नेपालमा राजनीतिक परिवर्तनका साथमा साहित्य र संस्कृतिप्रतिको चाख पनि बढेर आयो । अन्य भाषामा लेखिएको साहित्य पढ्ने, विश्वका साहित्यसँग परिचित हुन पाएकाहरूबाट नै आफ्नो भाषामा लेख्ने जोस र उत्साह देखिनु स्वाभाविक पनि थियो ।
प्रजातान्त्रोत्तर नेपालमा स्थायी बसोबास गर्ने इमानसिंहले पल्लोकिरातमा लिम्बु भाषा, साहित्य र संस्कृतिको अनुसन्धान कार्य निरन्तर जारी नै राखे भने पान्थर, याम्बोङका रनधोज नेम्बाङजस्ता साधक पनि सोही समयमा देखा परेका थिए । तर रनधोज नेम्बाङका कृतिहरू भने हस्तलिखित पाण्डुलिपिमा नै रहेका छन् आजसम्म पनि ।
नेपालमा निर्वाचित प्रजातान्त्रिक सरकारलाई विस्थापित गरेर पञ्चायती व्यवस्था (वि.स. २०१७ साल पौष १ गते) सुरु भएपछि नेपालभित्र लिम्बु भाषा र साहित्यले फष्टिने अवसर फेरि अर्कोपल्ट पनि गुमायो । तर समयसँगै अग्रगतिमा बढ्ने युवाहरूले आफ्नो भाषाको सेवा, साहित्यलेखन र प्रकाशनका कार्य फाटफुट गरिरहे । दार्जिलिङमा अध्ययन गर्ने विध्यार्थी विरही काइँलाको सम्पादन–प्रकाशनमा कोम (१९६७ ई.) नामक पत्रिका (१ अङ्क मात्र) प्रकाशित भयो । त्यसपछि पान्थर याङनामका थाम्सुहाङ पुष्प सुब्बाको सम्पादनमा स्रिजङ्गा (१९७२ ई.) मासिक पत्रिका लिथो प्रविधिबाट ८ अङ्कसम्म प्रकाशित भएर लिम्बु भाषा र साहित्यमा नौलो अध्यायको सुरुवात ग¥यो । रणबहादुर मेन्याङबो र देवेन्द्र कन्दङ्वाजस्ता उत्साही भाषाप्रेमीहरूले चन्द्रगढी, झापाबाट देवनागरी लिपिमा “थोक्ला” (वि.स. २०३० र २०४२) प्रकाशित गरेर लिम्बु आधुनिक साहित्यको विकासमा योगदान गरेका थिए ।
वि.सं. २०४६ को जनआन्दोलनपछि नेपाल प्रज्ञा—प्रतिष्ठानले इमानसिंह चेम्जोङकृत लिम्बु–नेपाली–अङ्ग्रेजी शब्दकोश (२०१८) को संशोधित र परिवद्र्धित संस्करण निकाल्ने कार्यमा इतिहासमा नै प्रथमपटक कम्प्युटरमा किरात सिरिजङ्गा फन्टको प्रोग्राम तयार भएपछि भने सोही लिपिमा पत्रपत्रिका र पुस्तक प्रकाशनमा नयाँ क्रान्ति आएको छ । वैरागी काइँलाको सम्पादनमा सर्वप्रथम किरात सिरिजङ्गा लिपिमा याक्थुङ साप्सक् नु साक्थिम् (२०४९) नामक सामयिक पत्रिका अफसेट मुद्रणबाट काठमाडौँबाट प्रकाशन भयो । यसरी कम्प्युटरमा किरात सिरिजङ्गा फन्टको प्रोग्राम निर्माण भएपछि नेपालमा लिम्बु साहित्य–सृजनामा अभूतपूर्व सक्रियता देखिन थाल्यो । जनआन्दोलनपछि आरम्भमा राजधानबिाट पत्रिका निकाल्ने, पुस्तक प्रकाशन गर्नेजस्ता कार्यको थालनी भए तापनि हाल लिम्बुसाहित्य–सृजनाको केन्द्रका रुपमा कुनै एक निश्चित स्थान तोक्न सकिँदैन । लिम्बुवानका विभिन्न स्थानबाट (पान्थरको फिदिम, झापाको दमक, सुनसरीको धरान, राजधानीको काठमाडौँ र ललितपुरमा) समानरुपमा लिम्बुसाहित्य सृजनाको विस्तार हुन थालेको छ ।
२०६२/६३ को ऐतिहासिक जनआन्दोलन सफल भएपछि जारी नेपालको अन्तरिम, २०६३ ले नेपालका सबै भाषालाई राष्ट्र भाषाको मान्यता दिएपछि भाषाहरूले स्वतन्त्रताका खुला आकासमा कावा खाने अवसर पाए र यिनको विकासले पूर्ण गति लिएको छ । संक्षिप्तमा भन्दा जनआन्दोलन, २०४६ पछिको प्रजातान्त्रिक खुला वातावरणमा नेपालभित्र पनि विविध पत्रपत्रिकाको प्रकाशन, सृजनात्मक साहित्य लेखन र लोकसाहित्यको सङ्कलन र प्रकाशनको गतिले ऐतिहासिक जनआन्दोलन २०६२÷६३ पछि यसले बाढीको रुप लिएको मान्नुपर्दछ । यस अवधिमा अनेक काव्य, लघुकाव्य, महाकाव्य, कथा, उपन्यास र नाटकका कृतिहरू देखा परेका छन् । आज लिम्बु भाषाको पत्रपत्रिकाको प्रकाशनदेखि विभिन्न विधाका पुस्तक लेखन र प्रकाशनमा लागेका धेरै लेखकहरू पाइन्छन् । लिम्बु भाषा–साहित्यको स्थापित र सशक्त लेखकहरूले विभिन्न साहित्यिक पत्रिकाहरू सम्पादन र प्रकाशन गरेको पनि देखिन्छ ।
हाल पान्थर जिल्लामा रही सृजनारत क्रियाशील लेखकहरूमा पुष्प थाम्सुहाङ, लक्ष्मी सेर्मा(पापो), राजेन्द्र जबेगु, दिलेन्द्र सुब्बा, उत्तमकुमार यङहाङ, मलिसा याक्थुङबा, कविराज सेर्मा, विनुता लाओती, यलम्बर थाम्सुहाङ, भित्रागी काइँला, चन्द्र योङ्या, खड्गनारायण आङ्देÞम्बे, चन्द्रसिङ चेम्जोङ आदि प्रमुख हुन् । त्यसरी नै नरबहादुर यङयाङ, टेकराज यङया, खेलराज यङयाङ, सेसेहाङ फियाक आदि झापाका क्रियाशील लेखकहरूमा प्रमुख हुन् भने वीर नेम्बाङ, साम्जिरी सेर्मा, कल्पना लिङ्देन आदि इलामका सक्रिय लेखकहरू हुन् । ताप्लेजोङ जिल्लामा क्या. खगेन्द्रसिंह आङबोहाङपछि रणध्वज श्रेङ, रणबहादुर मेन्याङबो, गजेन्द्र तुम्याहाङ, लेकाली कान्छा मुक्कुम आदि सक्रिय छन् भने उता तेह्रथुममा दूर्गाप्रसाद फोपाहाङपछि रोशा ‘फुङ्नाम’ फोम्बो, योगिता चङ्बाङ, नरमाया श्रेष्ठ, प्रेम निङलेकु आदिले महत्वपूर्ण योगदान दिएका छन् । त्यसरी नै सुन्सरी जिल्लामा लक्ष्मण मेन्याङबो, मुकसाम लाओती, अर्जुनबाबु माबुहाङ, आइत खजुम, हितराम तिल्लिङ आदि अनि मोरङमा डिल्ली लिङदम, राजभक्त चेम्जोङ, कुमार लिङदेन, राम लाओती, रीता थेगिम, थेÞयुसा फागो आदि सक्रियरुपमा सृजनारत लेखकहरू हुन् । धनकुटाबाट योगदान गर्नेहरूमा तिलविक्रम चेम्जोङ, तोङसा नेÞयोङ, राज माङलाक आदि छन् भने राजधानीमा रही सृजनारत क्रियाशील लेखकहरूमा वैरागी काइँला, येहाङ लावती, अमर तुम्याहाङ, स्वप्निल स्मृति, अइन्द्रसुन्दर नेम्बाङ, नवीनकला आङदेम्बे, भीमसेन लिङदम, भीमा खजुम, रच्चु नेम्बाङ, राधिका हुक्पाचङबाङ, इमाहाङ सेत्लिङ, फुङ्सा पन्धाक्, हिमादेवी पक्खिम, निशेष आङ्देÞम्बे, धनवीर साःम्बा, यासेली यङयाङ, थिबोङसा याक्थुङ्बा, यादन नुनाम सेर्मा, पदम माबो, मेÞन्निसाम याक्थुङ (डी.बी. आङ्बुङ), गोबिन्द आङ्बुङ आदि हुन् ।
लिम्बु डायस्पोराबाट योगदान गर्ने लेखकहरूमा विश्वासदीप तिगेला, टङ्क वनेम, गणेश इजम, टङ्क चोङबाङ, टङ्क सम्बाहाम्फे, भगत सुब्बा, दिल पालुङ्वा, गीता पालुङ्वा आदि प्रमुख छन् ।
७ कालविभाजन
नेपाली लिम्बु भाषा र साहित्यको विकासक्रम अथवा इतिहासलाई सिरिजङ्गा दोस्रोका जन्म साललाई आधार मानेर मुख्यतः तीन कालखण्डमा (१) प्राथमिक काल (१७०४—१९२४ ई.), (२) माध्यमिक काल (१९२५—१९५४ ई.) र (३) आधुनिक काल (१९५५ ई.—हालसम्म) विभाजन (बैरागी काइँला, सयपत्री ः २०६१) गएिको छ । त्यसभित्र पनि अध्ययनको सजिलोका लागि आधुनिक कालखण्डलाई (क) पूर्वाद्र्ध आधुनिक काल र (ख) उत्तराद्र्ध खण्डमा उपविभाजनसमेत गर्न सकिन्छ ।
७.१ प्राथमिक काल (१७०४—१९२४ ई.)
यहाँ सिरिजङ्गा दोस्रोको जन्मसाललाई आरम्भ बिन्दु मानेर प्राथमिक कालको अनुकल्पना गरिएको छ । यस अनुकल्पनाअनुसार प्राथमिक कालको अवधि (१७०४—१९२४ ई.) लिम्बु भाषा र साहित्यको इतिहासमा सबैभन्दा लामो हुन आउँछ । सिरिङ्गा दोस्रो (१७०४—१७४१ ई.)ले किरातलिपिको पुनःउत्थान गरेर अर्ती—उपदेशले पूर्ण, शिक्षाप्रद तथा ईश्वरको भजन र प्रार्थनाका पद्यहरू रचना गर्दै लिम्बु भाषाको लेख्यपरम्पराको आरम्भ गरेका थिए । जीवनोपयोगी उपदेशमूलक शिक्षाप्रद कविताहरूमा सिरिजङ्गा दोस्रोका सेवा खाहुन्जस्ता रचनाहरू आजसम्म्म हस्तलिखितरुपमा र श्रुतिपरम्परामा जीवित छन् ।
लिम्बु भाषा र साहित्यको प्राथमिक काल गद्यविधामा उपदेश तथा नीतिकथा (हज्सन पाण्डुलिपि) लेखन तथा पद्यविधामा भक्ति र प्रार्थनाका काव्यको युग थियो । । बाजवीर थलङ तथा इमानसिंह चेम्जोङआदि लेखकहरूले प्राथमिककालिन लिम्बुसाहित्यमा धार्मिक शिक्षा, उपदेशहरू र भक्ति–काव्यधाराको प्रवृत्तिलाई निरन्तरता दिएका थिए । यो क्रम र प्रवृति धेरै पछिलो कालसम्म निरन्तर रह्यो । दृष्टान्तका रुपमा पहिलो विश्वयुद्धपछि महागुरु फाल्गुनन्दले आफ्नै मातृृभाषा लिम्बुमा दिएका धार्मिक शिक्षा, उपदेशहरू र उनले स्थापित गरेका सत्यहाङ्मा पन्थको भजनहरूलाई लिन सकिन्छ । उनका चेलाहरूले गुरुका वाणी र उपदेशहरूको आलेखन गरी लिम्बु (किरात) सन्त–साहित्यको जग राखे । तर प्राथमिक कालको अन्तिम वर्षमा इमानसिंह चेम्जोङले सिरिजङ्गाको जीवनी दुई खण्डमा सिरिजङ्गा मुन्धुम् (१९२४ ई.) तयार पारेर गद्यविधालाई उन्नत बनाउन योगदान गरेका थिए । यति हुँदाहुँदै पनि सिर्जनात्मक साहित्य लेखनको सुरुवात भने हुन सकेको देखिँदैन ।
७.२ माध्यमिक काल (१९२५—१९५४ ई.)
मातृभाषाको उत्थानको उद्देश्य बोकेर कालेबुङ (दार्जिलिङ, भारत) मा सन् १९२५ ई. मा याक्थुङहाङ् चुम्लुङको स्थापना आफैमा एउटा कोशे ढुङगा थियो । यसपश्चात् लिम्बु साहित्य–लेखनले अभूतपूर्व तीव्रता पायो र यसरी अर्को नयाँ युगको थालनी भयो । यस प्रवृत्ति कायम रहेको अवधि (सन्् १९२५–१९५५) लाई लिम्बु भाषा र साहित्यको माध्यमिक कालका रुपमा लिइन्छ ।
इमानसिंह चेम्जाङ, सुबेदार बाजवीर थलङ, इ.के.बहादुर सेरेङ, निर्मल कुमार लिम्बु, हर्कजङ्ग माक्खिम, लप्टन शेरबहादुर लिम्बु, कालुसिंह पापो, सुबिदार बुद्धिराज फागो र जसमान साँबा तथा तिलोक सिंह नुगो आदिले सन् १९२८ देखि सन् १९३८ सम्म आफ्नो भाषा र साहित्यको विकासमा अमूल्य योगदान दिएर यस अवधीलाई लिम्बु भाषा–साहित्यको स्वर्णयुग भन्न सकिने बनाए । पछि इमानसिंह चेम्जोङको सिक्किम प्रवास–कालमा भने चेम्जोङ, पदमसिंह मुरिङला, मनबहादुर खाम्धाक र सन्तवीर खाम्धाकलिम्बुसमेत भई वर्णमालाका पुस्तकहरू गान्तोक, सिक्किमबाट प्रकाशित (१९५१ ई.) गरी देशविदेशमा प्रचार–प्रसार गरे । मूलतः यो युग मातृभाषाको उत्थानका लागि जागरणको युग थियो ।
लिम्बु भाषामा लेखिएका गद्य तथा काव्य साहित्यमा के पाउँछौँ भने माध्यमिक कालको उत्तराद्र्ध र आधुनिक कालको प्रारम्भमा पनि सामाजिक विसङ्गति, विकृति र अन्धपरम्पराको विरोध तथा सामाजिक सुधारका साथै मातृभाषा र लिपिको उत्थान एवम् शिक्षाको प्रचारमा अत्यधिक जोड दिएको देखिन्छ । तर यस अवधिमा गद्यविधामा महागुरु फाल्तुनन्दका चेला रन्धोज नेम्बाङले भने सत्यहाङमा–पन्थका धार्मिक कर्मकाण्ड र ज्योतिषसम्बन्धी ग्रन्थ तयार गरेर अर्कै धार प्रवाह गरेको देखिन्छ ।
७.३ आधुनिक काल (१९५५ ई.—हालसम्म)
वि.स २०१२ (१९५६ ई.) मा पाँचथर सौवासारताप बस्ने खड्गबहादुर नेम्बाङको लामो कविता वा अत्यन्त छोटो खण्डकाव्य किरात मिक्हन् साम्लो प्रकाशित भएको थियो । सामाजिक कुरीति र विकृतिको विरोध र सुधारमा जोड दिने यो काव्यरचना लिम्बुसाहित्यको पहिलो सृजनात्मक कविता भनेर काजीमान कन्दङवाले त्यसै कितापको भूमिकामा लेखेका छन् । त्यसैकारण यसैसालबाट लिम्बु साहित्यको अधुनिक काल (१९५५ ई.— हालसम्म) को आरम्भ भएको मानिन्छ । यसअघि याक्थुङ खेदा (उखान सङ्कलन, वि.स.२०१०) र “याक्थुङ इङसुम् (शब्द सङकलन, वि.स. २०११)” आदि प्रकाशित गरिसकेका काजीमान कन्दङ्वाकै लिम्बु भाषाको कथाहरूको सङ्कलन “पाङ्खरे योबाआङ एरा” वि.स. २०१८ सालमा छापियो । यस सङ्कलनभित्रको नयाँ भाषा, शैली र ढाँचामा लेखिएको “घरबार” कथा मौलिकरूपमा लिम्बु भाषामा लेखिएको पहिलो मुद्रित आधुनिक कथा (बैरागी काइँला, वि.स. २०४९, समकालिन साहित्य, पूर्णाङ्क, ७, पृ.१२४–१२९) थियो ।
८ लिम्बु साहित्यको विधागत अवस्था
लिम्बु–साहित्यमा सबै विधामा साहित्य सृजना भएका छन् । तर लिम्बु भाषा–साहित्यमा सबैभन्दा फस्टाएको विधा काव्य विधा हो । रचना सिर्जनाको बहुलता र पुस्तक–प्रकाशनमा सङ्ख्याको दृष्टिले पनि यस वास्तविकतालाई देखाउ‘छ । लिम्बु भाषामा अनेक कवितासङ्ग्रह र खण्डकाव्यहरू प्रकाशित छन् भने एउटा मात्र महाकाव्य प्रकाशित भएको छ । लिम्बु साहित्यको विधागत अवस्थाको सङ्क्षिप्त जानकारी यस प्रकार छ ।
८.१ काव्यसङ्ग्रह
लिम्बु भाषाको कवितासङ्ग्रह अर्थात् काव्यसङ्ग्रह प्रकाशित गर्ने कविहरूमा दिल्ली लिङदम (मना चइःत्हा, सं.२०५६), अमर तुम्याहाङ (सेवारो, बालकविता सङ्ग्रह,सं.२०५८), सेसेहाङ फियाक (तोलिङसोमुबा आसाम्मिलाहा, सं.०६०, इक्सासाम्दाङबा फुङहा?, सं.२०६१ ), तोङसा नेÞयोङ, फुङकाप्ला, सं.२०६१), टङ्क वनेम (पेÞन्जिरि पेÞन्मिक्खा, सं.२०६२ , उत्तरकुमार यङहाङ (याक्थुङ् साम्लो, सं.२०६२), लाओती येहाङ ्(लाओती येहाङ्लेन् नुबोङ्लेन् नुबोङ् साम्मित्लाहा?), दिलेन्द्र सुभा कुरुम्बाङ (आहिम्मिन्, ई. २००६÷२०६३), राजेन्द्र जबेगु (मनाधिक् मैबेआङ होप्, सं. २०६७), भवानी तावा (नान्दिम्भोयो सेÞप्माङहा?, सं. २०६७; लाबे पम्बम्, सं. २०६७), वीर नेम्बाङ (मेÞहक्माना नेÞप्फु?रेÞ मिम्, ई. २००१), भित्रागी काइँला (केÞदाप्पा निङ्वाहा?, सं. २०६७), लछामी सेर्मा (नाम्याप्मिरेÞ हिङ्मन्नो), मणिशङ्कर सेरेङ तथा चन्द्रमान कन्दङ्वा (याक्थुङ् निङ्वाफु साप्ला) आदि रहेका छन् ।
८.२ खन्डकाव्य
लिम्बु भाषामा निकै खण्डकाव्यहरू लेखिएका छन् । प्रकाशनको उज्यालो देख्न नपाएका खण्डकाव्यहरूमा इमानसिंह चेम्जोङको लिम्बु मिथकमा आधारित युमा मुन्धुम् तथा उबाहाङ मुन्धुम्हरू पर्दछन् । नयाँ र मौलिक लेखन भएका खण्डकाव्यहरूमा किरात मिक्हन साम्लो (सुब्वा खड्ग नेम्बाङ, स.२०१२), सेÞम्मुइ (वीर नेम्बाङ, ई. १९८६), इत्निमहा? (पुष्प थाम्सुहाङ स.२०५७), केसामी–नाम्सामी (विरही काइँला, ई., १९८७), सोबुहाङमा (सेसेमी सेनाल्बो, स.२०५६), थक्लारेनÞ ताराप्पो तगि पोमेल्ले (हरि चङबाङ ‘सेन्छेन्हाङ), मुख्य छन् । लोकसाहित्यमा आधा।िरत काव्यको सृजना पनि भएका छन् । तिनमा जसहाङ मादेन (तेत्लागेन् लाजम् नेत्तार युआ), नर यङहाङ (पालाम्, स.२०५२ तथा बलिहाङ तङ्नाम्, स.२०५३) आदिको नाम लिन सकिन्छ ।
८.३ महाकाव्य
कवि अमर तुम्याहाङ रचित सोधुङगेÞन् इमानसिङ् चोत्लुङ (सं.२०६०) लिम्बु भाषाको पहिलो महाकाव्य हो ।
८.४ गजलसङ्ग्रह
गजल लिम्बु भाषा–साहित्यमा आगन्तुक विधा हो । यो विधाले हिजोआज खसनेपाली साहित्यमा जसरी लोकप्रियता पाइरहेको छ त्यसरी नै लिम्बु साहित्यमा पनि यो मौलाइरहेको छ । यस दिशामा कलम चलाउनेहरू केही उत्साही गजलकारहरूले आफ्ना गजल सङ्ग्रह पनि निकालेका छन् । प्रेमदीप थाम्सुहाङको सुक्कुम् (स.२०६१) र निशेष आङदेम्बेको थाङ्बेÞन् (स.२०६२) गजलको उल्लेख्य कृति हुन् ।
८.५ कथा सङ्ग्रह
लिम्बु भाषामा प्रकाशित पाङखरे योबा आङ येरा (काजीमान कन्दङवा, वि. सं. २०१८) पहिलो कथासङ्ग्रह हो । यसै कथासङ्ग्रहभित्रको कथालाई लिम्बु आधुजिक कथाको थालनीको बिन्दु मानिन्छ । हालका दिनमा अनेक कथा सग्रह पनि छापिन थालेका छन् । यिनमा फाङ्सेसे खेदाहा? (कथा सङ्ग्रह, सं.२०६२) कथालेखनमा कोसेढुङ्गा सावित भएको छ । यीबाहेक पनि .रुमेरेÞ कुसेÞप्माङ (सेसेहाङ फियाक स.२०६१), लघुकथा सङ्ग्रह मिक्तोक् (राजभक्त चेम्जोङ र दिल्ली लिङद्म्, सं.२०६२) आदिलाई प्रमुख कथा सङ्ग्रहहरू मान्न सकिन्छ ।
८.६ उपन्यास
लिम्बु भाषामा पहिलो उपन्यास थत्थामा (पदमसिंह मुरिङला, सिक्किम, ई. १९८३) प्रकाशित भएपछि नेपालभित्रका लेखकहरू पनि यस दिशामा विस्तारै अग्रसर हुन थालेका छन् । तर पनि सिक्किममा जति आख्यानको यो विधा नेपालमा समृद्ध भइसकेको भने छैन । उपन्यास विधामा कलम चलाउने लिम्बु स्रष्टाहरूमा उत्तरकुमार यङहाङ (लोजी, सं.२०६२), थाम्सुहाङ पुष्प सुब्बा (सेÞन्दिपेसाप्, लेखन सं. २०३१, प्रकाशन २०६८) अइद्रसुन्दर नेम्बाङ (नामसाङ, सं.२०६८) आदिको नाम लिन सकिन्छ ।
८.७ नाटक
नाटक विधा लिम्बु भाषा–साहित्यको लोकप्रिय विधा हो । बेलाबेलामा नाटक–महोत्सवमा भाग लिनुका लागि धेरै नाटक खेली मञ्चन भएका छन् । हालका दिनमा एकाङ्की र पूर्णाङ्की नाटकहरू पत्रपत्रिकामा र पुस्तकाकारमा प्रकाशित हुन थालेको पाउँछौ । उत्तरकुमार यङहाङको सेप्माङ्ले कुसेप्माङ् (स.२०६२) पुस्तकाकार नाट्य कृति हो । पत्रिकामा प्रकाशित भएको पूर्णाङ्की नाटकमा अमर तुम्याहाङ र दिल्ली लिङ्दमको मिसेःक्ना (तान्छोप्पा वर्ष ७ अङ्क ५ जेठ र ६ असार, २०५९) का राम्रो नाटक हो । एकाङ्की नाटकमा राज माङ्लाक (मनेÞहा? मेÞनाःन्छिङ्ल मेÞबत्, फक्ताङलुङ, अङ्क १, सं. २०६८) एकाङ्की तथा पूर्णाङ्की नाटक विधामा कलम चलाउने नाटककारमा नवीनकला आङ्देम्बे (सनारुङ् कोप्मानाइल्लेÞ खोम्मानाबा तनालुङ्ङिन्, गोरखापत्र, २०६४, कात्तिक २१ गते, इमेःत्नना कक् फक्ताङलुङ, अङ्क १, सं. २०६८), पूर्णाङ्की नाटकमा येहाङ लाओती र भक्त सिगू (याम्नोङ, २०५३), रोशन सुवेदी, सारदा सुब्बा, येहाङ लाओती र विरही काइँला (कुसङसेमी, सं. २०४९) का साथै तेज यक्सो (तङ्गिप् कुलेÞक्सिङ्, सं. २०५४, अम्लारि फुङ् २०६२) को नाम अविस्मरणीय छन् ।
८.८ निबन्ध÷लेख÷रचनाहरू
लिम्बु–साहित्यमा लेख, रचना र निबन्ध धेरै सङ्ख्यामा प्रकाशित भएका छन् । सङ्ग्रहका रुपमा उत्तरकुमार यङहाङको तङहुप्ला सुम् (सं.२०६२), निङ्बङ्वा निङ्वाहा? (संयुक्त निबन्ध सङ्ग्रह, २०६७), निशेष आङ्देÞम्बेको सङ्ग्रह हास्यव्यङ्ग्य हाङ्युक्ना पाङ्यक् (सं. २०६८) आदि प्रकाशित छन् ।
८.९ बालसाहित्य
इमानसिंह चेम्जोङले भक्तिभाव झल्कने निङ्वापूm सेवा, र फुङ्खामा बाल–कविताहरूबाट पुर्याएको योगदान प्रशंसनीय छ । सिक्किमतिर र नेपालका केही कविहरू (बैरागी काइँलाको बाल कविता) ले बालसाहित्यको दिशामा बढेको कदम अमर तुम्याहाङको सेÞवारो (बालकविता सङ्ग्रह २०५८) र भवानी तावाको लाबे पम्बम्, (बालकविता सङ्ग्रह, सं. २०६७) बाट निकै बलियो भयो भने फिदिमबाट निस्कने हिन्जा (सं. भवानी तावा) को निरन्तर प्रकाशनले अझ अगाडि बढायो । त्यसरी नै पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले प्रकाशन गरेको (१) माङगेन्नारेÞ कुबोक् (खन्ड १), (२) आनि चोवासाम्बाहा (खन्ड २, जीवनी सङ्ग्रह), र (३) केलाङ् (खन्ड ३, वि० स० २०६२) ले अझ समृद्ध बनाएको छ । लिम्बु भाषा–साहित्यको विकासमा औपचारिक÷अनौपचारिक शिक्षाको पाठ्यपुस्तकमा पाठ्यसामग्रीका रुपमा सङकलित कथा, कविता्, निबन्धले पनि लिम्बु बालसाहित्यलाई धनी बनाएको छ भन्दा अत्युक्ति हु‘दैन ।
८.१० लिम्बु डायोस्पोरा साहित्य
आजीविकाका लागि आज विश्वको विभिन्न देशमा लिम्बुहरू पुगेका छन् । जहाँ पुगे पनि मातृभाषाको माया र ममताले प्रत्येक लिम्बुलाई बाँधेको छ नै आफ्नो भूमि, भाषा र संस्कृतिसँग । त्यसैले जहाँ पुगे पनि आफ्नो मातृभाषामा मनको भाव अभिव्यक्त गर्नका लागि तिनले विभिन्न पत्रपत्रिका प्रकाशन गरेको देखिन्छ । आफूहरू पुगेको विदेशी भूमिमा पनि साहित्य–सृजना गरेर लिम्बुसाहित्यलाई ठुलो टेवा पु¥याएका छन् तिनले । दृष्टान्तका लागि हामी सेक्मुरी (हङकङ), प्रवासी वेदनाका आवाजहरू (सं. विश्वासदीप तिगेला, ब्रुनाई÷युके) मिक्फुला लाजे इङ्घङ् (सं. टङ्क वनेम÷ विश्वासदीप तिगेला, युके, सं. २०६४), सेमि फक्ताङ्लुङ् (कतार), चुम्लुङ् (युएई), तागेÞरा (युएई), याक्थुङ् इक्ला (हङकङ) आदि पत्रिकाहरूले लिम्बु डायास्पोरीय साहित्यमा ठुलो योगदान पु¥याएको तथ्यलाई लिन सक्दछौँ ।
८.११ अनुवाद साहित्य
याक्थुङ साहित्यमा अनुवाद साहित्यको अभाव छैन । विश्वका समृद्ध भाषाका साहित्यबाट जीवनी, यात्रावर्णन्, कथा तथा कविताहरूको अनुवादरूले लिम्बु अनुवाद साहित्यलाई धनी बनाइरहेको छ । त्यसरी नै अनुवादका माध्यमबाट लिम्बु कथा, कविता, मिथक, मुन्धुम तथा लोककथाका अनुवादले अन्य भाषाभाषीसम्म व्यापक हुन सकिरहेका पनि छन् । यस प्रकारको अनुवाद लिम्बु भाषाबाट खसनेपाली, अङ्ग्रेजी, हिन्दी या उल्लेखित भाषाहरूबाट लिम्बु भाषामा हुने गरेको पाइन्छ (तुम्याहाङ, २०६८क) ।
८.१२ मुन्धुम र लोकसाहित्य
इमानसिंह चेम्जोङले सुरु गरेका लिम्बु मिथक र लोकसाहित्यका साथै मुन्धुमको सङ्कलन र सम्पादनजस्तो काम तथा भक्तिसाहित्य सङ्कलन र तिनको अनुवाद गर्ने क्रम निरन्तर भयो । यिनमा उल्लेख्य छन् अर्का साधक मु.कृष्णबहादुर लावतीले । उनको देवनागरी लिपिमा महागुरु फाल्गुनन्दका वाणीको सड्ढलन र अनुवाद ईशवन्दना र सृष्टिको वर्णन (नेपाली–लिम्बु, वि.सं. २०२३) प्रमुख कृति हो । यसै धाराको अर्को कृति हो सत्यहाङ्मा पन्थका भजन माला र महागुरु फाल्गुनन्दका उपदेश (बैरागी काइँला, नेपाली–लिम्बु, वि.सं. २०४६) । त्यसपछि उनैको साप्पोक चोमेन् ः लिम्बु जातिमा कोख–पूजा (वि.स. २०४८) देवनागरी लिपिमा प्रकाशित भयो । त्यसपछि उनका साथै अन्य लेखकहरूले मुन्धुम सङ्कलन र सम्पादनमा निकै चासो राखेको पाइन्छ । हाल आएर मुन्धुमको सङ्कलन, सम्पादन, अनुवाद र प्रकाशनमा जुट्ने नेपालभित्रका मुख्य लेखकरूमा बैरागी काइँला, रणध्वज श्रेङ, दूर्गाप्रसाद फोपाहाङ, खगेन्द्रसिंह आङबोहाङ, रणबहादुर मेन्याङबो, लक्ष्मण मेन्याङबो आदि छन् ।
लोकसाहित्यको सङ्कलन र अध्ययनको क्षेत्रमा भएको काम पनि उत्साहप्रद देखिन्छ । धेरै लेखकहरू यसदिशामा कलम चलाइरहेका छन् । विभिन्न पत्रपत्रिका र सङ्कलनहरूमा लोककथा र लोकगीत आदि प्रकाशित भइरहेका छन् । यस सन्दर्भमा कि.या.चु. को तान्छोप्पा र नेपाल प्रज्ञा प्रतिष्ठानको बहुभाषिक प्रकाशन सयपत्रीको उल्लेख सान्दर्भिक नै हुन्छ । देवनागरी लिपिमा लिम्बु भाषामा लेखिएका लोककथाहरूको नेपाली अनुवादसहित एकमुष्ठ सङ्कलन सयपत्री (पूर्णाङक १२ स.२०५७) को लिम्बु भाषा लोककथा अङ्कको रुपमा प्रकाशित गरेको छ ।
हुन पनि मुन्धुम लिम्बु साहित्यको अपार भण्डार हो । मुन्धुम् मौखिक परम्परामा हस्तान्तरित हुँदै आएको भए पनि पछिल्लो समयमा आएर यसलाई लिप्याङ्णकन गर्ने कार्य पनि आरम्भ भएको छ । यसै क्रममा प्रकाशित भएका केही मुन्धुमसम्बन्धी पुस्तकहरूमा किरात मुन्धुम शिक्षा (इमानसिंह चेम्जोङ, प्रथम संस्करण, ई. १९६५, दो. संस्करण ई. २००३), किरात वेद (पूर्ववत, प्रथम संस्करण ई. १९६१, तेस्रो संस्करण सन् २००३), किरात दर्शनको सारांश (पूर्ववत, पहिलो संस्करण ई. १९६९, दो. संस्करण ई. २००३), लिम्बु जातिमा कोख–पूजा (वैरागी काइँला, सङ्कलन, सम्पादन तथा अनु. वि.सं. २०४८), ईष्र्या र आ“खीडाहीको आख्यान (पूर्ववत, स. २०५१), प्रेतात्माको आख्यान र अनुष्ठान (पूर्ववत, स. २०५१), मोच मार्ने आख्यान र अनुष्ठान (पूर्ववत, स. २०५२), तङ्सिङ तक्मा मुन्धुम – आख्यान र अनुष्ठान (पूर्ववत, स. २०५२), सृष्टि वर्णन (पूर्ववत, स. २०६०), चम्जिक मुन्धुम (प्रधान सम्पादक थाकु श्री नायमहाङ कैलासी नेम्बाङ, प्रथम संस्करण वि.सं. २०५०, दोस्रो संस्करण २०५९) जस्ता येबा, साम्बा आदिबाट सुनेर मुन्धुम सङ्कलन, सम्पादन तथा अनुवाद सहित प्रकाशित गरिएका केही महत्वपूर्ण काव्य कृतिहरू हुन् । किरात धर्म र कर्म संस्कार (आसमान सुब्बा, सं. २०४५), लिम्बु मृत संस्कारहरू (तुम्याहाङ लक्ष्मण मेन्याङ्बो, प्रथम संस्करण २०६१), सावा येÞत्हाङ मुन्धुम (तेज बहादुर फागो पन्धाक, वि.सं.२०६०), सृष्टिको आख्यान (दुर्गाप्रसाद फोपाहाङ, सं. २०५१), सिभाक याप्मि मुन्धुम (सङ्कलन, सम्पादन तथा अनु. ध्रुबकुमार मेन्याङ्बो, अर्जुन माबुहाङ, सं.२०६६), धर्म, सृष्टि र संस्कृति (तेबबहादुर मेन्याङ्बो लिम्बु, सं. २०५५) सृष्टि गीतिमाला (पूर्ववत, प्र. संस्करण वि.सं. २०४८), तागेÞरानिङ्वाफु माङमुन्धुम (गोविन्दप्रसाद लाबुङ लिम्बु, प्रथम संस्करण, सं. २०६८) आदि यस प्रकारका मुन्धुम कृतिहरू हुन् ।
कथाको हकमा आधुनिक कथाहरू जतिकै धेरै लिम्बु लोककथाहरू सङ्कलित र प्रकाशित भएका छन् । तीमध्ये केही पुस्तकाकार लोककथाहरूमा किराती लोककथाहरू (सं. शिव कुमार श्रेष्ठ, प्रथम संस्करण वि.सं. २०४७, तेस्रो संस्करण वि.सं. २०६८), किराती लोककथा सँगालो (पूर्ववत्, प्रथम संस्करण वि.सं. २०५१, दोस्रो संस्करण वि.सं. २०६८), प्ष्चबतष् ँयपि त्बभिक (सं. शिव कुमार श्रेष्ठ, अनु. निल बहादुर बस्नेत, सन् १९९९), किराती दन्त्यकथा (इमानसिंह चेम्जोङ, प्रथम संस्करण ई. १९६५, दो. संस्करण ई. २००३), किरा“त लोककथा (सं. लक्ष्मी कुमार शेर्मा पापो, वि.सं. २०४८), ीष्mदग ँयपियिचभ ९ःभबिलष्भ एबउउबमष्क, द्दण्ण्ज्ञ० लिम्बुवानका लोककथा (सं. धनहाङ सुब्बा, प्रथम संस्करण सं. २०६५) आदि रहेका छन् भने फाक् नु खजुम् (सं. छितिज सुब्बा, सयपत्री, अङ्क २२, वि.सं. २०६७) अनि तेÞङ्गो किन अल्गो, सेÞल्लो किन होचो ? (काजीमान कन्दङ्वा, तेÞङ्गोन् हेÞन्नाङ् यम्, सेÞल्लोन् हेÞन्नाङ चुक्, सयपत्री, वर्ष १, अङ्क २, भदौ–मङ्सिर, २०५२), मुकुहाङ र अजरक्पा (सं. बुद्धहाङ नेम्बाङ, ताःन्छोःप्पा, सं.२०५३), तरे सेक्लुङ (सं. विरही काइँला) तथा कुभरा मियङ (टी.बी. याङ्वागो, ताःन्छोःप्पा, वर्ष ७, अङ्क २, फागुन, २०५८), येजुली येमानी (सं. सुजन सेत्लिङ, ताःन्छोःप्पा, वर्ष ७, अङ्क ८, ९ साउने २०५९), सेल्लोक्वा सोक्मा खेदा? (सं. विष्णु मादेन, ताःन्छोःप्पा, फागुन, २०६१), केकेदङ्बा नु काक्वा (सं. दुर्गाप्रसाद फोपाहाङ, ताःन्छोःप्पा, वर्ष ७, साउन ६, २०६२), मियङलुङ (सं. अमर तुम्याहाङ, ताःन्छोःप्पा, वर्ष ७, अङ्क ४, वैशाख, २०५९) आदि फुटकर रूपमा प्रकाशित भएको छ । सयपत्री (पूर्णङ्क १२ स.२०५७) २७ जनाले सङ्कन गरेका ३३ वटा लोककथाहरू पनि प्रकाशित भएका छन् ।
९ लिम्बु साहित्य लेखनको प्रवृत्ति
आज लिम्बुसाहित्यमा सबै विधा (लेख, कथा, कविता, निबन्ध, एकाङ्की नाटक, लघुकाव्य, महाकाव्य, समालोचनामा र हास्यव्यङ्ग्य) मा कलम चलाउने लेखकहरू देखापरिहेका छन् । विषयमा पनि विविधता पाइन्छ । त्यसरी नै शिल्प र शैलीमा पनि अलगअलगपना लिएका स्रष्टाहरू उपस्थित भइसकेका छन् । प्रविधि पनि आआफ्नै लिएका र नयॉ प्रवृत्ति रचनामा प्रस्तुत भइरहेको पाइन्छ ।
त्यसो त भाषा, लिपि, शिक्षा, समाजसुधारको भावनाजस्ता परम्परागत विषयहरूले पनि निरन्तरता पाएका छन् । आजको लिम्बु साहित्यमा आफ्नो इतिहासप्रतिको चेतना, पूर्वजले ढालफाँड गरेर आर्जेको आफ्नो भूमि, भाषा र संस्कृतिप्रति प्रतिवद्धता, सामाजिक विकृति र विसङ्गतिको विरोध, शोषण, अन्याय र अत्याचार, असमानता र भेदभाव, घुसखोरी, भ्रस्टाचार, नातावाद र कृपावाद तथा मूल्यहीनताप्रति तीव्र आक्रोस पाइन्छ । त्यसरी नै सामाजिक विकृति र विसङ्गतिको बोध, विद्यमान सामाजिक द्वन्द, हत्यहिंसा, आर्थिक दुरावस्था, अशान्ति र असुरक्षाजन्य समसामयिक र युगिन चेतनाको बोध प्रशस्त प्रस्फुटित भएको पाइन्छ । विजातीय शोषकहरूबाट लिम्बुहरूले भोग्नु परेको दलनमलन, सरकार र राज्यबाट पाएको अपमानजनक र भेदभावपूर्णा व्यवहार, गरीबी, अशिक्षाका कारण जीवनमा भोग्नु परेको असमानता, सामाजिक भेदभावजस्ता विकृतिले जन्माएका त्रासदीहरूको दिग्दर्शन वर्तमान लिम्बुसाहित्यले गराउन सकेको पाइन्छ । आर्थिक, राजनैतिक, सांस्कृतिक अवस्थाको समसामयिक र यथार्थवादी चित्रण वर्तमान लिम्बुसाहित्यले गर्न सकेको छ ।
प्रेम, मिलन, बिछोडजस्ता शास्वत मनवीय भावनाको विषयमात्र होइन लिम्बुसाहित्यको विषयगत आयाम विस्तृत छ । लिम्बु जीवन शैली, रीतिथिति, संस्कृति, भाषा, लिपि, परम्परा, धर्मको संरक्षण र संवद्र्धनको सन्देश छर्दै वर्तमान लिम्बुसाहित्यले जीवनको पीडा, भोगाइ र अनुभूतिको कलात्मक अभिव्यक्ति र सौन्दर्यको चेतनामाथि जोड दिएको पाइन्छ । लिम्बु समसामयिक जीवनमा नारीहरूको कथा–व्यथा, सामाजिक जीवनको सांस्कृतिक पक्ष लिम्बुजातिको जन्म, विवाह र मृत्युसंस्कारजस्ता रीतिथितिको झलक देखाउने साहित्यको बाहुल्यता पनि देखिन्छ । सांस्कृतिक शब्दहरूको प्रचूर प्रयोग, नयॉ र आगन्तुक शब्दहरू, लोकगीत, अनुकरणात्मक शब्द तथा उखान र टुक्काको प्रयोग बहुलताले साहित्य–रचनालाई आकर्षक र जीवन्त बनाएको छ । विश्वव्यापीरूपमा उठिरहेको पहिचानको खोजी, जरा या मूलप्रतिको प्रतिवद्धता अनि समानताकाको सोपान चढ्दै उन्मुक्तिको खोजी एउटा नयाँ प्रवृत्तिको रूपमा लिम्बुसाहित्यमा विकसित भइरहेको पाइन्छ ।
१० उपलब्धिहरू
लिम्बु भाषा–साहित्यको विकासको सकारात्मक उपलब्धिका रुपमा (क) लिम्बु भाषा, लिपि, साहित्यको संरक्षण, संवद्र्धन र विकास, (ख) भाषा र लिपिको प्रयोगमा विस्तार, (ग) आफ्नो भाषा, लिपि, साहित्यप्रति गौरव गर्ने परम्पराको विकास र (घ) आफ्नो भाषा, लिपिमा लिखित÷रचित कृतिहरू पढ्ने बानी र संस्कृतिको विकासलाई लिन सकिन्छ । निचमोडमा भन्नुपर्दा लिम्बुसाहित्यले समसामयिक लिम्बु जनजीवनको तस्बिर समग्रामा प्रतिबिम्बित गर्न सकेर साहित्य समाजको ऐना हो भन्ने उक्तिलाई सार्थक बनाएको छ ।
११ निष्कर्ष
लिम्बु भाषा–साहित्यको प्राय सबै विधाहरूमा धेरथोर कृतिहरू प्रकाशित भएका छन् । छापादेखि लिएर विद्युतीय प्रविधि हुँदै अनलाइनसम्म लिम्बु भाषा–साहित्यले क्षेत्र विस्तार गर्दै आएको पनि छ । सृजनात्मक लेखनमा लाग्नेहरूको सङ्ख्यामा बृद्धि दिनदिनै भएको देखिन्छ । लिम्बु भाषा–साहित्यको विकासको लागि सम्बन्धित समुदायबाट तुलनात्मक रूपमा प्रयास बढी गर्नैपर्दछ साथै राज्यले पनि खसनेपाली भाषालाई जस्तै समान व्यवहार गर्नुपर्छ । मुलुकको वर्तमान परिप्रेक्ष्यमा अत्यन्त पछाडि परेका जनजातीय भाषालाई विकसित गराउन संस्थागत प्रयत्नको खाँचो देखिन्छ । राज्य र सरकारको सहानुभूतिपूर्ण दृष्टिकोणको खाँचो हुन्छ । परिवर्तित सन्दर्भमा नेपालका सबै जातजाति, जनजाति, आदिवासीका भाषाको संवद्र्धन गरी मानव इतिहास निर्माण र सांस्कृतिक संरक्षणमा ठुलो योगदान पु¥याउने आशा राख्नु अतिशयोक्ति नहोला नै ।
मूलसामग्री
काइँला वैरागी, तुम्याहाङ, अमर । २०६४ । लिम्बु भाषाको वर्तमान साहित्यक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी –२०६४, प्रकाशकः नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँ ।
तुम्याहाङ, अमर । २०६८क । लिम्बु भाषा साहित्यको अनुवाद ः स्थिति र सम्भावना, नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र ।
सन्दर्भसूची
खस नेपाली खण्डः
काइँला, विरही । २०४९ वि.सं. । लिम्बु भाषा र साहित्यको संक्षिप्त इतिहास, प्रकाशकः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँ ।
काइँला, वैरागी । २०६२ वि.सं. । आदिवासी जनजातिको परिप्रेक्षमा पहिचानको राजनीति र भाषा, बहाः जर्नल । वर्ष २ अङ्क २ ।
……………. । २०५९ वि.सं. । लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश । प्रकाशकः नेपाल राजकीय प्रज्ञा–प्रितिष्ठान, कमलादी, काठमाडौँ ।
नेम्बाङ, तिलविक्रम (संयोजक) । २०५० वि.सं. । राष्ट्रियभाषा नीति सुझाव अयोगको प्रतिवेदन, प्रकाशकः राष्ट्रियभाषा नीति सुझाव आयोग, कमलादी, काठमाडौँ ।
नेम्बाङ, वीर । २०१० ई.सं. । लिम्बुवान भूभाग अलपत्र, मकरधोज वनेम आदि ।
नेपालका शिक्षा आयोगका प्रतिवेदनहरु । दोस्रो संस्करण २०६२ वि.सं. । प्रकाशकः मकालु बुक्स एन्ड स्टेसनर्स । पुतली सडक, काठमाडौँ ।
याक्थुम्बा, मञ्जुल । २०६२ वि.सं. । मौलिक किरात धर्म–संस्कार । प्रकाशकः धनजीत एभेङ लिम्बु तथा राजकुमार फोम्बो लिम्बु ।
योञ्जन–तामाङ, अमृत । २०१२ ई.सं. । नेपालका मातृभाषाहरुको साहित्यको स्थिति र प्रवृत्ति, इमेत्नासुङ । अङ्क २ । सिक्किम ।
संग्रौला, डा. नारायण । २०६७ वि.सं. । पल्लो किरातको किपट व्यवस्था, प्रकाशकः श्रीमती अम्बिका देवी संग्रौला ।
अङ्ग्रेजी खण्डः
Kainla, Bairagi. Comparative Study of the Limbu Folk Deities. Jounal of Nepalese Literature, Art and Culture. Vol.6, N0. 2, 2011. Pub. Nepal Academy.
Subba, J.R. 2005. The Philosophy and Concepts of Yuma Samyo Tradidion. Published by Sukhim Yakthng Mundhum Saplopa,Gangtok, Sikkim.
William, Kirkpatrick. 1811. An Account of the Kingdom of Nepaul. Asian Educational Services (Fourth printed, New Delhi, 1996)






