४ मुक्तक – भरत लोहोरूङ राई


मुक्तक १
मुखियाहरू अचेल जथाभावि बोल्छन्
अरूलाई नङग्याउन आफ़्नै लुग़ा खोल्छन्
देश बिकासका भाषाहरू जनताका आशाहरू
आरोप र प्रत्यारोपको यज्ञ गरि पोल्छन्//

मुक्तक २
व्यथा भुल्ने प्रयास हो यो पिउने रहर छैन
तनबाट मुटु छिन्दा फेरि ज़ीउने रहर छैन
उध्रिएर जताततै-च्यातियो मन लथालिंगै
फाटिजाने नै त रैछ अब सिउने रहर छैन//

मुक्तक ३
भाषण भित्र उन्नतिका कुरा साफ़ी हुन्छ
जति ढाँटे नि नेतै त हुन् पूरा माफ़ी हुन्छ
जनताको चेत जाग्यो सहनुले हद नाघ्यो
भोट माग्न आए भने यहि छुरा काफ़ी हुन्छ//

मुक्तक ४
नयाँवर्ष संग़ै नयाँ, जोसको छाँगो छल्कोस
महामारी भष्म गर्ने, यज्ञको आगो सल्कोस
फैलियोस अनि ड़ढ़ेलो झैं समृद्धिका खबरहरू
मान्छेहरू बीच नचुँडिने सद्भावको धागो तन्कोस//

– संखुवासभा, हाल बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *