साँस्कृतिक पुनर्जागरण – श्रीप्रसाद जबेगु

बगेको नदी झै तिम्रो
प्रवाहहरुमा लठ्ठिएर
थलिएको छु आज
साँस्कृतिक
अतिक्रमणमा परेर
गर्जिँदो मेघ सरह
तिम्रो हुङ्कारले

मैलिक्ताहरु मेरो मेटाउँदै
पुर्खौली गाउँठाउँहरु
फेदेनलाई फिदिम जस्तै
अपभ्रंशित नाममा फेरिएर
लहरिँदो समुद्रका छालजस्तै
तिम्रो शब्दबाट
बालसखीहरुसँग खेलेको
नागी चौउर र देउरालीहरु
मेरा पुर्खाहरुले गाईवस्तु चराउँदा
याक्सा बस्दा धिरी र घुँएत्रोसँग
मितेरी गाँसेको डाँडा,
खोला र भञ्ज्याङहरु
भस्मे खोरिया फाँडेर
बस्न योग्य बनाएका
सारा सुन्दर वस्तिहरु
इतिहासको ज्ञानचक्षुमा
उभिँदा देखेँ आज
मेरो भाषा मसाएर
मेरो पहिचान हटाएर
मौलिक्तालाई मेटाएर
अर्कै अर्कै नामहरुमा बदल्दिने
यिनै साँस्कृतिक अतिक्रमणका
विषाक्त नङ्ग्राहरु
यतिखेर मेरो छातीमा
गाडिएको पाएँ
त्यसकै खुनी पञ्जाहरु
शरीरभरी दागिएको पाएँ
बल्लबल्ल आज यिनै पीडाहरुले
ऐया र आथ्थ भन्दै
मनोविज्ञानमा दुखेको पाएँ ।

बतासको स्पर्शले हल्लिएको वृक्षजस्तै
अब तिम्रो प्रपञ्चको सुनामीले
मेरो साँस्कृतिक पुनर्जागरणको
मार्गलाई नरोक
थर्थराउँदो पृथ्वीजस्तै
आफ्नो समाप्तिको आशङ्कामा
मेरो महान यात्रालाई नछेक
आउ बरु !
साँस्कृतिक सहअस्तित्वको
जुवामुनि नारिएर
समानताको जोथारोले
सँगसँगै बाँधिएर
हाम्रो साझा पूmलबारीमा
विभेदका डल्ला फोरौं
असमानताका खाल्डा पुर्दै
बहुराष्ट्रियताको सुन्दर चित्र कोरौं

– फालेलुङ् ८ पाँचथर २०७७/१०/२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *