प्रथम सहिद – सुनिता राई कन्दङ्वा

शून्य तरङ्गमा
सत्य निलेर
युगले जन्माएका
युगपुरुष
नेपालआमाका सुपुत्र
हे वीर लखन!
तिमीलाई सादर नमन
जननी जन्म भूमिश्च
स्वर्गादपि गरीयसी
स्वर्गतुल्य नेपाल आमाको स्वाधीनताका निम्ति
समर्पित भै सहर्ष फाँसी स्वीकार्ने तिमी
आमाको स्वाभिमान डग्मगाउने
चोमोलोङ्मा झैं स्वच्छ गरिमा झुक्ने
खेल रच्ने
दुस्साहसीविरुद्ध लड्न
साहस जगाउने तिमी
अन्याय र अत्याचारविरुद्ध
आवाज बुलन्द बनाई
जनजनमा
सचेतनाका राँको बाल्ने तिमी
आमाको पछ्यौरी गुथी
चन्द्र-सूर्य फहराउँदै
दुश्मन अघि चट्टान
उभिने तिमी
हे वीर लखन!
गुञ्जिरहने छ
तिम्रा साहस, त्याग, समर्पण र बलिदानका गाथा
यो युगको आयु रहेसम्म
गुराँस टिपेर इतिहास
लेख्दै छ
इतिहास
स्वतन्त्रताको इतिहास
गौरवको इतिहास
एकताको इतिहास
शिरमा सिउरी
आमाको आशीर्वाद
यिनै एकताको इन्द्रेणी बुन्दै गर्दा
क्रान्तिको बिहानी बाँड्दै गर्दा
परिवर्तनको उज्यालो छर्दै गर्दा
तिमी
विद्रोही बन्यौ
देशद्रोही घोषित भयौ

तिम्रै आँगनमा
तिम्रो मैझारो गरियो
समयको क्रूर प्रहारले
इतिहासको एक-खण्डमा
कालो पोतियो
अनि
तिमी
नेपाल आमाका
पहिलो सहिद सुपुत्र बन्यौ
हे वीर लखन !
तिम्रो कीर्ति अमर होस्
तिम्रो जय होस्

तेह्रथुम/आठराई
हाल: इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *