लोफर या फकिर जीन्दगी – लाहाङ चेम्जोङ

उहिले उहिले
मेलापात हटियाहरुमा
मेरो बाजे बराजुहरुले कहिले कम्मरमा
कहिले छड्के भिरेर
कहिले ख्यालख्यालमा चार इन्च ताछेर
हिडेको सिरुपाते खुकुरी जस्तो
उदेक उदेक लाग्दो सपना ॲाखामा बोकेर
सत्रथुमको सुन्दर बक्ररेखिय बाटो हुँदै
फाल्हान्दै हाम्फाल्दै . . .
लिम्बुवान थुम पाङ्भे . . .
हिडिरहरहने निरन्तर निरन्तर
लोफर हॅु – आदिम कथाको
फकिर हुँ – जिउॅदो वर्तमानको |

मेरो टाउकोभित्र
काङसोरे थामुया मुरेगन बिजयबहादुर लिम्बुहरु छन्
मेरो ॲाखाभित्र
येहाङ सिरिजङ्घा फाल्गुनन्द इमानसिङ चेम्जोङहरु छन्
मेरो छातीभित्र
आगोले बनेको मुटु छ
मेरो खुट्टा
हिडेर नथाक्ने अरुन र तमोर जस्ता छन्
मेरो जीवन
लोफरले बॅाचेको जस्तो
फकिरले बॅाचेको जस्तो कथा छ |

मुक्तिका हरेक युद्दहरु
साउथअफ्रिकामा या अलाबामामा
या सभायखोलाको बगरमा या कमलखोलाको बगरमा
या सुनकोशीको बगरमा या दुधकोशीको बगरमा
बेपरवाह लड्न सक्छु |

एकलकॅाटे कठघराहरु
बरघर र तुम्याहाङ कचहरीहरु उठाएर
भत्काई दिन सक्छु
च्याब्रुङ डम्फु बिनायो मुर्चुङ्गाहरु बाँच्ने सबै मृत्युहरु
म मर्न सक्छु |

म ब्यॅुतन सक्छु
सभायखोलाको बगरमा काङसोरेसंगै
आधुनिक अलग युद्द लड्न
बगरभित्र छिपाइराखेको जालसाजी बन्दुकको विरुद्द |

म मर्न तयार छु
कमलखोलाको किनारमा माङतोकसंगै
अर्को उत्तरआधुनिक इतिहास लेख्न
अढाईसय वर्षे पुरानो कर्फ्युको विरुद्द
र धुलाबारीमा मनिल तामाङसंगै
वीरताको रातो पप्पी फूल रोप्न
निरङकुश बनमाराका विरुद्द |

म मृत्युलाई पछार्न सक्छु
इटहरीको कुरुक्षेत्रमा दुर्गा वनेमले जस्तै
आफ्नै दरबारहरु ठडिएको हेर्न
एकलकॅाटे बुढो सिङदरबारको विरुद्द |

कार्गिलका युद्दहरुमा होईन अब
मर्न चाहन्छु आफ्नै कथा लेखेर
तिम्रो झुर कथाको विरुद्ध |

रेगिस्तानहरुमा होईन अब
पसिनाका कावेली बगाउछु
लिम्बुवान थुम पाङ्भे तिर
उजाडिएको मेरो निधारको सहारा मरुभूमिको विरुद्द |

सिरुपाते खुकुरी जस्तो बाटो भएर
अरुन र तमोरले जस्तो निरन्तर
धीरधीर हिडिरहन सक्छु
मेरो सुन्दर घर गर्ल्याम्म भत्काउने
र मेरो घर उभिएको जमिन बिरानो बनाइदिने
भुइँचालोको इपिसेन्टर विरुद्द
जसरी नेल्शन मन्डेलाले
रोविन टापुको झ्यालखानाहरुमा सत्ताइस वर्ष
हिडिरहे हिडिरहे हिडिरहे . . .
एउटा भयङकर इपिसेन्टरको विरुद्द |

तिमीलाई इतिहास सम्झाउॅ . . . ?

फकल्यान्डको टापुमा गर्जेको मेरो खुकुरी
अझै एटलान्टिक महासागर तर्सिरहन्छ
उता क्योटो टापुमा सम्राट मैजीहरुले
मेरो गितीकथा सुनिरहन्छन् सुनाईरहन्छन् |

हो
म उहि लोफर या फकिर हुँ
अब पढिने कथाको
अब लेखिने इतिहासको |

Leave a Reply

Your email address will not be published. Required fields are marked *