गाउँघरका सामाजिक कार्यका लागि आवश्यक सामग्री खरिद गर्न सहयोग अभियान
काठमण्डौ, २०८३ भदौ ३ गते ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिकास्थित पाथीभारा गाउँमा हुने सामाजिक तथा पारिवारिक कार्यक्रमका लागि टेबल, कुर्सी र टेन्ट खरिद गर्न सहयोग संकलन अभियान सुरु गरिएको छ। सामाजिक सञ्जालमार्फत वि.सं. २०८३ असार ३१ गतेदेखि सुरु गरिएको अभियानको उद्देश्य गाउँघरमा हुने सामाजिक कार्यका लागि आवश्यक सामग्रीको सामूहिक व्यवस्था गर्नु रहेको जनाइएको छ। वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाका अनुसार आदिमकालदेखी यस पाथीभारा गाउँमा हरेक वर्ष साकेला सिली सामुहिक रुपमा पनि प्रदर्शन गरिन्दै आइएको छ ।
यस किसिमको सामूहिक पहलको सुरुआत वि.सं. २०५२ सालमा पनि भएको थियो। प्रवीण पुमाको नेतृत्वमा तिहारका अवसरमा देउसी–भैलो खेलेर संकलित रकमबाट स्टिलका थाल, चम्चा र गिलास खरिद गरी गाउँघरमा हुने सामाजिक कार्यमा सामूहिक रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको थियो। तर समयसँगै आवश्यकता परिवर्तन भएपछि अहिले टेबल, कुर्सी तथा टेन्ट व्यवस्थापनका लागि अभियान अघि बढाइएको हो।
दक्षिण कोरिया निवासी गौतम राईका अनुसार किरण राईसँगको कुराकानीपछि कोरियामा रहेका आफन्तहरूबीच सहयोग रकम संकलन सुरु गरिएको हो। गौतम राईले भने, “गाउँघरमा कार्जे गर्दा वा हामी सबै भेला हुँदा कहिले पानी परेर, कहिले बस्ने ठाउँ नभएर समस्या हुने गरेको छ। त्यसैले प्लास्टिकका टेबल र कुर्सी किन्ने कुरा किरण काकाले राख्नुभएको हो। त्यसैअनुसार कोरियामा रहेका हामी सबैले रकम उठाउन सुरु गरेका छौँ। सबैको सल्लाह, सुझाव र सहकार्यको अपेक्षा गरेका छौँ।”
पुख्यौली पाथीभारा निवासी तथा हाल बेलायतमा रहेका जयकुमार राईले अभियानलाई तत्कालीन आवश्यकतासँगै दीर्घकालीन व्यवस्थापनसँग जोड्नुपर्ने धारणा राखेका छन्। उनले भने, “गौतमले उठाएको विषय एकदमै आवश्यक छ। खेलमैदान विस्तारको कामपछि अब त्यसको एक छेउमा टहरा बनाएर गाउँसमाजलाई आवश्यक सामान राख्न सुरक्षित भण्डारण कक्ष निर्माण गर्दा राम्रो हुन्छ भन्ने लागेको छ।”
राईले खेलमैदानमै सानातिना कार्यक्रम सञ्चालन गर्न सकिने र आवश्यक सामग्री त्यहीँ सुरक्षित रूपमा राख्न सकेमा गाउँसमाजका लागि प्रभावकारी हुने बताए। गाउँलेहरूबीच छलफल र सहकार्यबाट यस्ता सामाजिक काम अघि बढाउनुपर्ने बताउँदै उनले दक्षिण कोरियामा रहेका युवाहरूको पहलप्रति खुसी व्यक्त गरेका छन्।
हालसम्म रु. ९२,००० सहयोग संकलन भएको जनाइएको छ। सहयोग गर्नेहरूमा प्रसाद राईबाट रु. ७,०००, सुरेश राई, मणि राई, ईश्वर राई, सुशील राई, गोमन राई र सञ्जे राईबाट जनही रु. ५,०००, गौतम राईबाट रु. ६,०००, थुम्राहाङ राई (टिका काका) बाट रु. ५,०००, किरण राईबाट रु. ४,०००, जया राईबाट रु. २०,००० र शिवध्वज राईबाट रु. १५,००० प्राप्त भएको जनाइएको छ।
संकलित रकमबाट पाथीभारा समाजका लागि टेबल, कुर्सी तथा आवश्यक टेन्ट खरिद गरिनेछ। पुमा खेलमैदानमा सुरक्षित भण्डारण कक्ष निर्माण गर्ने विषयमा पनि आगामी दिनमा छलफल गरी निर्णय गरिने जनाइएको छ।
यसअघि बेलायत निवासी तथा पूर्व ब्रिटिस गोर्खा सैनिक एवं समाजसेवी जयकुमार राईको नेतृत्वमा पुमा खेलमैदानको स्तरोन्नति तथा सांस्कृतिक जागरणका गतिविधि सञ्चालन गरिएको जनाइएको छ।
गाउँघरका सामाजिक कार्यमा आवश्यक सामग्री सामूहिक रूपमा व्यवस्थापन गर्ने यो अभियानले समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।






