दिलीपकुमार राईको चेतनशील सिर्जना ‘समाजलाई सन्देशको उपहार’ लोकार्पण
परशुराम राई, असोज ३, २०८३, ललितपुर : लेखक दिलीपकुमार राईको समाजलाई सन्देशको उपहार (सन्देश र सिर्जना) शनिबार सातदोबाटोस्थित अलग आर्ट हबमा राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को प्रमुख आतिथ्यमा लोकार्पण गरिएको थियो।
‘व्याकुल माइला’, सिनास क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा वरिष्ठ लेखक प्रवीण पुमा, लेखककी दिदी देवी राई, नेपाल सरकारका सहसचिव श्रीकुमार राई, उपसचिव अनिल किराती, पूर्वसहसचिव शंकर कार्की र श्रम सकृती पार्टीका नेता गौतम थापामगरले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए। कार्यक्रम बुङातुङ राईले सञ्चालन गरेकी थिइन्।
लोकार्पण कार्यक्रममा राष्ट्रिय गानका सर्जक ‘व्याकुल माइला’ले ‘कृतिले सामाजिक चेतना उजागर गरेको छ’ भन्दै पुस्तकको सामाजिक पक्षबारे धारणा राखेका थिए। सिनास क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा वरिष्ठ लेखक प्रवीण पुमाले पुस्तकमा ‘विचार, दर्शन र सिर्जनाको संयोजन’ रहेको उल्लेख गर्दै ‘यो सीमान्तकृत लेखकको चेतनशील सिर्जना हो’ भनेका थिए। पुमाले कृतिलाई ‘पहरामा फुलेको अजम्बरी फूल’का रूपमा व्याख्या गरेका थिए।
तस्विर : राजिन राई ।
सह-प्रा. डा. धनप्रसाद सुवेदीले ‘यस पुस्तकले समाज र साहित्यका लागि महत्त्वपूर्ण योगदान दिनेछ’ बताएका थिए। नेपाल सरकारका सहसचिव श्रीकुमार राईले ‘पुस्तकले समाजलाई दिशानिर्देश गर्छ’ भन्दै कृतिको सामाजिक भूमिकाबारे धारणा राखेका थिए।
विचार, दर्शन र सिर्जनालाई समेटिएको कृतिको बिक्रीबाट प्राप्त रकम ग्रामीण क्षेत्रबाट उपचारका लागि सहर आउने बिरामीलाई सहयोग गर्न प्रयोग गर्ने लेखक दिलीपकुमार राईले बताएका थिए।
कार्यक्रममा चिकित्सक डा. पविश राई, लता राई, रिता राई, सुमन राई, सन्जोक राईलगायत साहित्य, कला, प्रशासन तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो।






