“औकात” – प्रकाश पाण्डे
जतिसुकै तेज भएपनि
एक आँखाले अर्को आँखालाई
देख्दैन्
भित्री संसार बुझ्दैन्
अरु नै हेर्नुपर्छ बाहिरतिर
जे जति भए
भित्रि रहस्य खोज्दा खोज्दै
बितिजान्छ समय ।
त्यस्तै,
समर्पित भएपनि
तिमीहामी जतिसुकै
अनुभूत नै गर्दैनौँ
फरक लत छोड्दैनौ
भ्रममा पर्छौ
खोजेको नभेटेपछि
आँखा अन्तै डुलिजान्छ
अझ ठूलो भुमरीमा पर्छौ
औकातमा झर्छौ।
जतिसुकै उचाइमा
उडेपनि चरा
सुन्दर हिमाली दृष्यहरु
देखेपनि
रुखैमा बसेपनि
आखिर
दाना पानी पिउन जमिनमा
झर्ने पर्छ ।
त्यस्तै,
स्वार्थ बोकेर हिडेका
तिमीहामी
रङ्गमन्चमा जतिसुकै
एकाकारको नाटक रचेपनि
आ -आफ्नो डम्फू बजाउदै
औकातमा एकदिन झर्नैपर्छ।
कि त,
प्रेम थियो भनेर सावित गर्न
प्रेमी / प्रेमीकाको नाममा
रोमियो र जुलिएट जस्तै मर्नैपर्छ
यदि बाँचेका भए
पक्कै तिनिहरुको पनि
प्रेम अमर हुने थिएन
यत्रतत्र सर्वत्र देखिएका दृष्य
कपास जस्तै
प्याट्ट फुटिजान्थे
लाग्छ
एकदिन न एकदिन
औकातमा झर्थे।