यसपाली हाम्ले चिन्नुपर्छ – महेश विष्ट

चुनाबी उत्सब आयो, फत्तुर गन्थनले गाउँघर छायो
नेताहरु घर–घर आए, जनताले अनुमान लाए,
‘यो अशोजमा बडा दशैं होइन रेल आउँछ,
गरिब, निमुखा र श्रमिकप्रति मायाको भेल आउँछ’
त्यसैले,
गिटी कुटेर दर्शैको जोहो गर्ने माइला दाई
परिवारलाई खसी, चामल, नाना र दक्षिणा होइन
तिम्रो पसिनाको आर्जनले टिकट किन्नुपर्छ
नेता कि जोकर हुन यसपाली हाम्ले चिन्नुपर्छ

शुभकामना कार्ड आयो, चियापानले गाउँघर छायो
समृद्धिको नारा आए, गाउँलेले अनुमान लाए,
‘यो कार्तिकमा तिहार होइन पाइपमा तेल आउँछ
भोकै, नाङ्गै बस्नु नपर्ने भाषणको सेल आउँछ’
त्यसैले,
साग बेचेर तिहारको जोहो गर्ने काइली भाउजु
घरमा पीठो,तेल, चिनी र सयपत्री फूल होइन
तिम्रो डोकोको आर्जनले स्कूटर किन्नुपर्छ
नेता कि जोकर हुन, यसपाली हाम्ले चिन्नुपर्छ

शीर्षस्थ नेता आयो, प्राडो, पँजेराले बाटो छायो
तस्कर–माफिया आए, जनताले अनुमान लाए
‘यसपालीको मंसिरमा धान होइन, भोट आउँछ
अनाजको भाउजस्तै गच्छेअनुसार नोट आउँछ’

त्यसैले,
जनमुक्तीको लागि राजनीतिमा हिडेको जेठा दाई
सिद्धान्त, आदर्श, बिचार र नीतिको पैरवी होइन
सबै मूर्ख देख्ने तिम्रो नेतालाई बिबेक किन्नुपर्छ
नेता कि जोकर हुन, यसपाली हाम्ले चिन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *