साहित्यकार रसिक ‘सांसक पुरस्कार’बाट सम्मानित

१७ जुन २०२३ । अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ ।

सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्‍याएवापत उहाँलाई रु २५ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको छ ।
सम्मानित साहित्यकार रसिकले अहिले लोकसङ्गीत खस्किँदै गएकामा चिन्ता प्रकट गर्नुभयो । उहाँले नयाँ पुस्ताका कलाकारलाई धैर्य, खोज र गम्भीरताका साथ लोकभाका, लोकनृत्य र लोकबाजाको संरक्षणमा जुट्न आह्वान गर्नुभयो ।

साहित्यकार एवं इतिहासकार युद्धप्रसाद वैद्यले सम्मानित सर्जक गणेश रसिक बहुआयामिक व्यक्तित्वका धनी र मुलुकको भाषा, संस्कृति र साहित्यलाई अति माया गर्ने योद्धा भएको बताउनुभयो ।

इलामको सूर्योदयस्थित फिक्कल निवासी ७६ वर्षीय साहित्यकार गणेश रसिकको पूरा नाम गणेशकुमार राई हो । उहाँको जन्म विसं २००४ असोज ४ गते भोजपुरको छिनामखु–५ नौलागाउँमा भएको थियो । उहाँ बसाइँ सरेर उहाँ इलाम आउनुभएको हो ।

इलाममा आएपछि विष्णु नवीनलगायतका साहित्यकारको सङ्गतमा रहेर उहाँ साहित्य र सङ्गीतको साधनामा लाग्नुभएको अग्रज पत्रकार चन्द्र भण्डारी बताउनुहुन्छ । उहाँका दशगजामा उभिएर, छपक्कै मनमा बसेका, ताराभन्दा सपना धेरै, मुनिया र उसको छोरो, आकाशगङ्गाको ओतमुनि, पेरुङ्गोलगायतका कृतिहरू प्रकाशित छन् ।

सङ्गीत क्षेत्रमा समेत उहाँको योगदान छ । रत्न रेकर्डिङ, सांस्कृतिक संस्थान, साझा प्रकाशनलगायतका संस्थामा अध्यक्ष रहेर उहाँले मुलुकको सङ्गीत र साहित्य क्षेत्रको जगेर्नामा योगदान पुर्‍याउनुभयो ।

विसं २०३२ मा रेडियो नेपालबाट उत्कृष्ट गीतकारका रूपमा सम्मानित उहाँका तीन सयभन्दा बढी आधुनिक, लोक, स्वदेश गानलगायतका गीत रेकर्डिङ भइसकेको सङ्गीतकार टीका भण्डारी बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *